scheduleबुधवारबैशाख ८ गते, २०७८

बहुरंगी नेताहरुः बोली बदल्दै, आक्रोश पोख्दै

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि केही नेताहरु नराम्ररी नाङ्गिए । उनीहरुले जीवनभर साधना गरेर बनाएको आफ्नो छवि नै धुमिल्याउनु पर्‍यो ।

खासगरी ओली समूहका खासखास नेताहरुलाई आफ्नो विरासत र पहिचान बनाउने कि ओलीको कदम जोगाउने भन्ने विषयमा ज्यादै ठूलो अलमल देखियो । सुवास नेम्वाङ र अग्नि खरेलको संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भाषण त भाइरल नै भयो । पछिल्लो सन्दर्भमा कनिकनि ओलीलाई जोगाउन बाध्य उनीहरुको बाध्यताले सार्वजनिक छवि भने गर्ल्यामगुर्लुम भत्कियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो विघटित प्रतिनिधिसभाको पुनःस्थापना ओली र ओलीको समूहका लागि नैतिक बिषय हुने स्वीकार गरेका थिए । उनले भनेका थिए– त्यस्तो भयो भने प्रधानमन्त्रीले मोरल्ली बस्न मिल्दैन । हामी जो संलग्न छौं हामीले पनि मोरल्ली राजीनामा गर्नु पर्दछ ।

तर सर्वोच्चको फैसलापछि मन्त्री ज्ञवालीले आफैं कुरा फेरे । उनले भने, ‘हामी सर्वोच्चको फैसला कार्यान्वयन गर्दछौं । देशलाई त्यसै गैरजिम्मेवार तरिकाले छोड्न मिल्दैन ।’ यसबीचमा ओली समूहले आफ्ना पूर्व दृष्टिकोणभन्दा फरक तर्क गर्न थालेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना राजनीतिक बिषय भएको हुँदा यसमा नैतिकता आकर्षित नहुने उनीहरुको तर्क छ ।

नेताहरु नराम्री नाङ्गिने क्रममा ओली समूहका अर्का नेता ईश्वर पोखरेलले भने न्यायाधीशलाई धम्क्याउने अभिव्यक्ति दिएका छन् । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका हुन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको भन्ने उनको टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ।’

फैसलाअघि न्यायालयलाई मान्नुपर्छ, सम्मान गर्नुपर्छ भनेर भाषणका श्रृंखलाहरु रचेका उनले आफ्नो अनुकूलतामा फैसला नआएपछि न्यायालयविरुद्ध ईश्वरको आक्रोशलाई उनको राजनीतिक नैतिकताको स्तरसँग जोडेर चर्चा गर्न थालिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay