scheduleबुधवारबैशाख ८ गते, २०७८

कोभिडले एक वर्षमा संसारलाई के सिकायो ?

युवल नोवा हरारी

विस्तृत ऐतिहासिक सन्दर्भमा कोभिडको एक वर्षबाट हामीले संक्षेपमा के भन्न सकौंला ? धेरै मानिसहरूको विश्वासमा कोरोना भाइरसको भयानक असरले प्राकृतिक शक्तिका बावजुद मानवजातिको निसहायपन देखियो । वास्तवमा सन् २०२० ले मानवजाति निसहाय छैन भन्ने चाहिँ देखायो । महामारीहरू नियन्त्रण नै गर्न नसकिने प्राकृतिक शक्ति हैनन् । विज्ञानले तिनीहरूलाई व्यवस्थापन गर्न सकिने चुनौति बनाइदिएको छ ।

त्यसो भए किन त्यति धेरै मृत्यु र दुःखहरू भए त ? त्यसको कारण गलत राजनीतिक निर्णयहरू थिए । विगत शताब्दिहरूमा मानवताले प्लेगको सामना गरेको थियो, यो कसरी आयो र कहिले अन्त्य हुन्छ भन्ने ज्ञान थिएन । जब सन् १९१८ मा इन्फ्लुएन्जाफैलियो, विश्वका सबैभन्दा राम्रा वैज्ञानिकहरूले पनि त्यसका घातक भाइरसहरूलाई पहिचान गर्न सकेका थिएनन् । कयौं प्रतिरक्षा मापदण्डहरू अर्थहीन भएका थिए । प्रभावकारी खोप विकास गर्ने प्रयत्नहरू व्यर्थ सावित भएका थिए ।

कोभिड–१९ मा विल्कुलै फरक भयो । सन् २०१९ को डिसेम्बरको अन्त्यतिरै सम्भावित नयाँ महाव्याधीबारे सतर्कताको घण्टी बज्यो । सन् २०२० को जनवरीभित्रै वैज्ञानिकहरूले यसको भाइरसलाई खुट्याएका मात्र थिएनन्, त्यस सम्बन्धी जानकारीहरू अनलाइनमा राखिसकेका थिए । त्यसको केही महिनाभित्रै कस्ताकस्ता उपायले त्यसको श्रृङ्खलालाई तोड्न सकिन्छ भन्ने प्रष्ट भयो । एक वर्ष पनि नपुग्दै थुप्रै प्रभावकारी खोपहरू वृहत्त मात्रामा उत्पादन हुन थाले ।

मानवता र जीवाणुबीचको लडाइँमा मानिस यति शक्तिशाली कहिल्यै देखिएको थिएन । जैविक–प्रविधिको अभूतपूर्व शक्तिको साथसाथै कोभिड वर्षले सूचना प्रविधिको शक्तिलाई समेत रेखांकित गर्‍यो । अघिल्ला युगहरूमा मानिसले महामारीहरूलाई यसर्थ पनि रोक्न सक्दैनथे कि संक्रमणको श्रृङ्खलालाई वास्तविक समयमै अनुमगमन गर्न सकिंदैनथ्यो । आर्थिक लागतका कारणले लामा लकडाउनहरू निषेधित थिए ।

सन् १९१८ मा संक्रमितहरूलाई क्वारिन्टिनमा राख्न त सकिन्थ्यो तर त्यसको पूर्वसंक्रामक वा पश्चसंक्रामकलाई खुट्याउन सकिंदैनथ्यो । यदि सम्पूर्ण मानिसलाई जहाँ छौं, त्यही घरमै बसिराख भनिएको भए, त्यसले आर्थिक बर्बाद, सामाजिक सम्बन्धविच्छेद र आम भोकमरी निम्त्याउँथ्यो ।

त्यसको ठीकविपरित सन् २०२० मा संक्रमितलाई चिन्न, निगरानी गर्न र क्वारिन्टिनमा राख्न निक्कै प्रभावकारी ढंगले सकियो । अझ महत्वपूर्ण कुरा स्वचालन र इन्टरनेटले विस्तारित लकडाउनहरूलाई पनि सम्भव बनाए । त्यो भिन्नै कुरा हो कि कतिपय अविकसित देशहरूमा अझै पनि स्थिति विगतको जस्तै रह्यो । तर विकसित देशहरूमा डिजिटल क्रान्तिले धेरै चिज भिन्न हुन सक्यो ।

एकक्षणलाई कृषिबारे विचार गरौं । कुनै समय थियो कि मानव जातिको ९० प्रतिशत श्रमशक्ति खानकै लागि कृषि क्षेत्रमा खर्चिनु पर्थ्यो । आज विकसित देशरुमा यस्तो अवस्था छैन । अमेरिकामा अहिले १.५ प्रतिशत मान्छेले मात्र खेतीबारीको काम गर्दछन् तर सबैलाई खान पुगेको मात्र छैन, अमेरिका खाद्यान्नको मुख्य निर्यातक देश पनि बनेको छ । कृषिक्षेत्रका अधिकांश कामहरू अहिले मेसिनबाट हुन्छ । त्यसले गर्दा संक्रमण स्वतः कम हुने भयो भने लकडाउनको कारणले कृषि क्षेत्रमा खासै प्रभाव पनि नपर्ने भयो ।

युवल नोवा हरारी

प्लेग समयको गहुँखेत कल्पना गरौं त । यदि हामीले फसल काट्ने बेला मानिसलाई लकडाउनको कारण घरमै बस भनेको भए, फसल खेर जान्थ्यो र भोमकारी लाग्थ्यो । यदि उनीहरूलाई फसल काट्न लगाएको भए संक्रमण झन् छिटो बढ्थ्यो । अब सन् २०२० को गहुँ खेतको कल्पना गरौं । एउटा फसल काट्ने मेसिनले पुरै खेतको गहुँ झनै राम्रो गरी उठाइदिन्छ । संक्रमणको गुन्जाइस नै रहेन । सन् १३४९ मा प्रतिदिन प्रति हातहरूले औसत ५ बुसेल थन्काउँथे, सन् २०१४ मा त्यसको औसत ३० हजार बुसेल पुगेको छ । कोभिड–१९ को अवधिमा गहुँ, मकै धानजस्ता फसलहरूको उत्पादनमा खासै नकारात्मक असर परेन ।

मानिसलाई खाद्यान्न जोहो गर्न फसल काट्नु मात्र पर्याप्त छैन । त्यसलाई ढुवानी पनि गर्नुपर्ने हुन्छ, कहिलेकाही त हज्जारौं किमीसम्म पनि । इतिहासका युगहरूमा महामारी संक्रमित हुने अर्को कारण व्यापार हुन्थ्यो । घातक जिवाणुहरू विश्वको लामो दूरीमा साहुहरूका पानीजहाज र ढुवानीका लस्करहरूबाट पुग्थे । उदाहरणका लागि पूर्वी एसियादेखि मध्यएसियातिर प्लेग रेशम मार्ग हुँदै गएको थियो र पानी जहाजबाट यूरोप पुगेको थियो । यस्तो प्रक्रियामा संक्रमण तीव्र हुनुको कारण ढुवानीमा धेरै जनशक्ति लागेको हुन्थ्यो । एउटै पानीजहाजमा दर्जनौं तैराकीहरू हुन्थे । भीडभाड भएका पानी जहाज रोग संक्रमणका उग्रस्थल बन्थे ।

स्वचालन र इन्टरनेटले व्यापारलाई कमभन्दा कम मानिसको संलग्नताबाटै सम्भव हुने बनायो । सन् २०२० मा लकडाउन विस्तारित हुन सक्नुको कारण यो पनि बन्यो । आज एउटा अटोमेटिक कन्टेनरले हिजोका ठूला जहाजको पुरै बोझ बराबर मालसमान ढुवानी गर्दिन्छ । सन् १५८२ मा बेलायती साहुहरूको कुल ढुवानी क्षमता ६८ हजार टन हुँदा करिब १६ हजार तैराकीहरू चाहिन्थे । सन् २०१७ को एक हङकङी तथ्यांक अनुसार २ लाख टन माल केवल २२ तैराकीले गन्तव्यसम्म पुर्‍याउँछन् ।

यो सत्य हो कि प्यासेन्जर क्रुज र सयौं पर्यटक बोक्ने हवाइजहाजहरूले कोभिड–१९ फैलाउन महत्वपूर्ण भूमिका गरे । तर यहाँनेर ध्यान दिनयोग्य कुरा के छ भने पर्यटन वा भ्रमण आधारभूत व्यापार हैन । पर्यटकहरू घरमै बस्न सक्दछन् । व्यापारीहरूले जुमबाटै व्यवसाय डिल गर्न सक्दछन् र थोरैभन्दा थोरै मानिस भएका स्वचालित ढुवानी साधनहरूले धेरैभन्दा धेरै सामान ढुवानी गर्न सक्दछन । सन् २०२० मा पर्यटन ठप्प भयो तर सामुन्द्रिक मार्गबाट हुने ढुवानी भने ४ प्रतिशतले मात्र घट्यो ।

अहिले स्वचालन र डिजिटलाइजेनको प्रभाव सेवा क्षेत्रमा व्यापक छ । सन् १९१८ मा कार्यालय, स्कुल, अदालत वा चर्चहरूले लकडाउनको बीचमा पनि काम गर्न सक्दछन् भनेर कल्पना गर्न सकिन्नथ्यो । विद्यार्थी र शिक्षक आआफ्नो घरमा थुनिनु परेपछि कक्षा कसरी सञ्चालन हुन सक्थ्यो ? आज हामीसंग त्यसको उत्तर छ ।

निश्चय नै अनलाइनका थुप्रै कमीकमजोरीहरू छन् । कमसे कम मानसिक तवरमा । सन् १९१८ मा मानिसहरू भौतिक संसारमा मात्र बसोबास गर्दथे । आज हामीसँग दुईवटा संसार छन् । भौतिक र भर्चुअल । जब भौतिक संसारमा कोरोना भाइरस सर्‍यो, मानिस भर्चुअल संसारमा सरे, त्यहाँ भाइरसले पछ्याउन सकेन । हुनतः मान्छे भौतिक प्राणी हो, डिजिटल दुनियाँमै सबै कुरा सम्भव छैन ।

अर्को कुरा– कोभिड वर्षमा कम तलबमा काम गरेर मानव सभ्यता धानेका नर्स, सरसफाइ मजदुर, ट्रक ड्राइभर, क्यासियर र डेलिभरी कामदारहरूको जटिल भूमिका र महत्वलाई प्रकाशमा ल्याएको छ । भनिन्छ– सभ्यता बर्बरताबाट तीन माइल मात्र टाढा हुन्छ । सन् २०२० मा सुपुर्दगी कामदारहरू नै सभ्यतालाई जोगाइराख्ने पातलो रातो रेखा थिए । उनीहरूले हाम्रो भौतिक दुनियाँको जीवनरेखालाई सुचारु राखे । इन्टरनेटले मानिसलाई स्वचालित, डिजिटल र अनलाइन क्रियाकलापयुक्त बनायो । त्यसका जोखिमहरू पन हामीले बुझ्यौं तर इन्टरनेटको महत्वपूर्ण कुरा त्यसले टुट्न दिएन ।

यदि कुनै भौतिक पुलमा एकायक ट्राफिक बढाउने हो भने ट्राफिक जाम पनि हुन्छ र बोझ धेरै भएको कारण पुल भाँचिने सम्भावना पनि हुन्छ । सन् २०२० इन्टरनेटको जाम त्यसरी नै एकाएक बढ्यो । अफिस, चर्च, स्कुलआदि यसैबाट चले तर इन्टरनेट भाँचिएन । हामीले यो पक्षलाई विरलै विचार गर्‍यौं होला, तर गर्नु पर्दछ । सायद हामीलाई यो गहिरो अनुभूति भएको हुनु पर्दछ कि अब भौतिक लकडाउन हुँदा पनि जीवन चल्छ सक्दछ तर मानौं कि डिजिटल रुटमा कुनै दुर्घटना भयो भने जीवन कस्तो होला ? सूचना प्रविधिले हामीलाई कोरोना भाइरस सामना गर्न सक्ने त बनायो तर हामी साइबर युद्धको शिकार पनि हुन सक्दछौं भन्ने पक्ष बिर्सन मिल्दैन । कोरोना भाइरस भौतिक दुनियाँबाट फैलिन केही महिनाहरू लागे, डिजिटल दुनियाँ थुप्रै कुराहरू एक दिन मै कोल्याप्स हुन सक्दछ ।

कोभिड वर्षले हाम्रो विज्ञान र प्रविधिको शक्तिका महत्वपूर्ण सीमाहरू समेत प्रकट गरेको छ । विज्ञानलाई राजनीतिले प्रतिस्थापन गर्न सक्दैन । जब हामी कुनै नीतिगत निर्णय लिदै हुन्छौं, हामीले थुप्रै स्वार्थ र मूल्यलाई ध्यान दिइरहेका हुन्छौं, यदि हामी कुन स्वार्थ र मूल्यहरू वैज्ञानिक हुन भनेर खुट्याउने वैज्ञानिक बाटोमा छैनौं भने निर्णयहरू खासै अर्थपूर्ण रहँदैनन् ।

उदाहरणका लागि कोभिड वर्षमा लकडाउन भयो । यो वर्ष मात्र पर्याप्त हैन कि यदि लकडाउन नगरिएको भए कति मान्छे संक्रमित हुन्थे ? हामीले यसरी पनि प्रश्न गर्नु पर्दछ कि लकडाउनको कारणले कति मान्छे डिप्रेसनको शिकार भए ? कति मानिसको रोजगारी गुम्यो ? कति मान्छे कुपोषित बन्न पुगे ? दम्पत्तिहरूको तिक्तता र हत्या कति बढ्यो ? यसो पनि भन्न सकिएला, यति धेरै चिज कस्ले सोच्ने, कस्ले गन्ने ? के के गन्ने भन्ने निर्णय कस्ले गर्ने ? गणना गरिएका संख्याहरूको मूल्यांकन कसरी गर्ने ? यी कुराहरू वैज्ञानिक भन्दा राजनीतिक कुरा हुन् ।

जसले स्वास्थ्य उपचार, अर्थतन्त्र र सामाजिक पक्षबारे सोच्दछन् र एक समिश्रित नीति बनाउँछन्, ती राजनीतिज्ञ हुन् । अर्कोतिर प्राविधिज्ञहरूको पाटो छ । इन्जिनियरहरूले डिजिटल संसार बनाए, फोटोग्राफी बनाए । त्यसले हामीलाई लकडाउनबीच बाँच्न सहज बनायो तर हामीमाथिको निगरानी पनि बढायो । हाम्रो गोपनियताको अधिकारलाई घटायो । यहाँनेर के महामारीसंग लड्न हाम्रो स्वतन्त्रता ध्वस्त हुनु पर्थ्यो र भन्ने प्रश्न गर्न सकिन्छ । यसको जवाफ दिनु इन्जिनियरहरूको भन्दा राजनीतिज्ञहरूको काम हो कि उपयोगी निगरानी र अन्यायपूर्ण दुस्वप्नहरू बीचको सन्तुलन के हो ?

तीन महत्वपूर्ण नियमले हामीलाई महामारीको समयमा पनि डिजिटल तानाशाहीबाट जोगाउन सक्ने रहेछ । पहिलो कुरा– डिजिटल विधिबाट लिइएका मानिसबारे जानकारीहरू कतै बेच्न वा दुरुपयोग गर्न नभएर सम्बन्धित व्यक्तिहरूलाई नै सहयोग गर्न हुन भन्ने नियम बस्नु पर्ने रहेछ । दोस्रो कुरा– निगरानी तलबाट माथि, माथिबाट तल दुवैतिर हुनु पर्ने रहेछ । यदि माथिबाट मात्र हुने हो भने त्यो तानाशाहीको बाटोतिर जाने रहेछ । तेस्रो कुरा– कुनै पनि तथ्यांकलाई कुनै एक ठाउँमा केन्द्रित हुन दिनु हुने रहेछ । डाटा केन्द्रिकरणले तानाशाहीतिर लाने रहेछ ।

अहिले धेरै मानिसहरू कोभिड-१९ पछि अर्को कुनै महामारी आउने हो कि भनेर डराइरहेका छन् । मानव जातिले नयाँ नयाँ जिवाणुहरूको उत्पत्तिलाई रोक्न सक्दैन । यो एक प्राकृतिक प्रक्रिया हो, जो हज्जारौै वर्षदेखि हुँदै आएको छ । यो कुरा भविष्यमा पनि जारी हुनेछ ।

तर आजको गज्जब कुरा के हो भने मानवजातिसँग त्यस्ता जिवाणुहरूलाई महामारीको रुपमा फैलिनबाट रोक्न सक्ने आवश्यक ज्ञान भने छ ।

(फाइनान्सयल टाइम्समा प्रकाशित लामो लेखका केही महत्वपूर्ण परिच्छेदहरूको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay