scheduleबिहिवारबैशाख ९ गते, २०७८

देउवाको दाउः उधारो सम्झौता नमान्ने, खोजे कि प्रधानमन्त्री कि निर्वाचनको सुनिश्चितता

काठमाडौं, १९ फागुन । संसद पुनःस्थापनापछिको राजनीति निर्वाचन आयोग र नेपाली कांग्रेसको अनिर्णयको कारण अन्यौलमा फसेको छ । नेकपा विभाजनले वैधानिकता नपाउनुका पछाडि निर्वाचन आयोगको अकर्मण्यतासँगै विभाजित नेकपाको कुनै पनि समूहले विभाजनको अपजस लिन नचाहेको अवस्था पनि जिम्मेवार छ ।

यस्तो अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कम्युनिष्टहरुसँग उधारो सहमति गर्ने पक्षमा नरहेको उनी निकट स्रोतले जनाएको छ । देउवा कि प्रधानमन्त्री बन्न पाउनुपर्ने कि मुलुक तत्काल निर्वाचनमा जाओस् भन्ने चाहना राखिरहेका छन् ।

संसदमा अविश्वासको प्रस्ताव राख्दा वैकल्पिक प्रधानमन्त्रीको रुपमा आफ्नो नाम जाओस् भन्ने देउवाको चाहना छ । यस्तो भएमा उनी विभाजित नेकपाको दाहाल-नेपाल समूहसँग सत्ता साझेदारी गर्न तयार रहने उक्त स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बन्न नसकेको अवस्थामा नेकपा विभाजित होस् र मुलुक चुनावमा जाओस् भन्ने देउवाको चाहना छ । यो पनि आफू नै प्रधानमन्त्री बन्ने अवस्था रहेको उनको बुझाई छ ।

नेकपा कानुनी रूपमा विभाजन भएको छैन । यस्तो अवस्थामा जसले जे जस्तो प्रस्ताव राखेपनि ती प्रस्ताव पारित नहुने र पुनः संसद भंग हुने अवस्थासम्म पुग्ने गरी ओलीलाई साथ दिँदा नै कांग्रेस र व्यक्तिगत रुपमा आफूलाई पनि फाइदा हुने उनको बुझाई छ ।

साँचो कांग्रेसकै हातमा रहेकोले पार्टी र देउवालाई अधिकतम् फाइदा पुग्ने समय आएपछि मात्रै यसको प्रयोग गर्नुपर्ने देउवाको बुझाई रहेको छ । कांग्रेस मौन रहँदा सबैभन्दा बढी फाइदा भने ओली समूहलाई हुने भएको छ । कांग्रेसबिना दाहाल-नेपाल समूह र जसपा मिल्दा समेत केही नहुने संख्यात्मक अवस्थाले भने यस्तो अवस्था सिर्जना भएको हो ।

यस्तो अवस्थामा ओली समूहले केही समय संसदको कर्मकाण्ड पुरा गरेर अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट देश चलाउने रणनीति बनाएको छ । यो योजनालाई नेपाली कांग्रेसको पनि मौन समर्थन रहेको अर्थ्याउन थालिएको छ । यसो गर्दा ओली केही समय अझै प्रधानमन्त्री रहिरहने र मंसिरमा चुनाव घोषणा हुने गरी देउवा-ओलीको सहमति बनेको हुनसक्ने उच्च राजनीतिक स्रोतको दावी रहेको छ ।

विहीबार सर्वोच्चले गर्ने नेकपा विवादसम्बन्धी फैसलाले पनि कतिपय बाटो खोल्न सक्ने अनुमान गरिएको छ । सर्वोच्चले सबै कानुनी आधारहरु हेरेर ऋषि कट्टेलको पक्षमा फैसला गर्ने र त्यसपछि नेकपा विभाजनले नयाँ मोड लिने अपेक्षा नेकपा ओली समूहको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay