scheduleमगलवारबैशाख ७ गते, २०७८

लोकतन्त्र ‘भस्मासुरको बधशाला’ हो, जुवाडेको ‘तासघर’ होइन

अभि गाउँले

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई अझै भ्रम छ । विधिको शासन मिच्न खोज्दा म निम्छरो भएँ भन्ने नलागेको जस्तो अभिव्यक्ति उनले दिइरहेका छन् । सर्वोच्चले मलाई पूर्ववत् अवस्थामा अर्थात् शक्तिशाली प्रधानमन्त्री नै कायम गरिदिएर गल्ती सच्याउने अवसर दिएको छ भन्ने अनुभूति नै नभएको जस्तो लाग्छ उनका कुरा सुन्दा ।

यहाँ त झन् सर्वोच्चले अनपेक्षित निर्णय गर्‍यो, देशमा राजनीतिक अस्थिरता झनै बढायो भन्दै ओली र ओलीभक्तहरू बर्बराउँदै हिंड्न थाले । शालीन व्यक्तित्व र बेदागी राजनीतिक छवि बनाएका भनिएका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवाली र नेकपा संसदीय दलका उपनेता (ओली समूहका राजनीतिक वकिल) सुवास नेम्वाङ अन्ततः ‘बलिको बोको’ हुन पुगे । नेताहरू ‘बा’ लाई खुशी तुल्याउन शीर छेदन गर्न राजी भए । सत्यलाई खास्टोले छोपेर गलतलाई सत्य सावित गर्न कोसिस गरे । सायद राजनीतिमा योभन्दा अर्को अन्ध इमान्दारिता र अन्ध बफादारिता अरू हुन सक्दैन । के चाकडी गर्नु पनि इमानदारी बन्नु हैन ? के बफादार हुनु पनि ‘नुनको सोझो’ गर्नु हैन ? नैतिकतालाई भौतिकवादले परास्त गर्न कहिल्यै सक्दैन ।

लोकतन्त्र जनताले निर्माण गरेको व्यवस्था हो नकि कुनै तानाशाहले खुशी भएर जनतालाई दिएको उपहार । लोकतन्त्रले आफ्नो आलोकमा ‘भस्मासुरको राग’ भर्दैन बरू ‘भस्मासुर प्रवृत्तिलाई’ बधशालामा लगेर अन्त्य गराउँछ । लोकतान्त्रिक व्यवस्थाको खुट्टा राखिएको कुर्सीमा घुमेर फुर्सदिलो बन्ने छुट कसैलाई हुँदैन । फेरि लोकतन्त्र जुवाडेहरूको ‘तासघर’ जस्तो पनि होइन जहाँ तनाव व्यवस्थापनका नाममा आफ्नै श्रीमतिलाई पनि दाउमा राखिन्छ । लोकतन्त्र आफैंले निर्माण गरेको पर्खाल भत्काउने थलो पनि हैन । यो त्यस्तो व्यवस्था हो जहाँ पुगेर शक्ति आर्जन गर्ने र बलशाली बन्ने भन्ने नै हुँदैन । यो लोकतन्त्र त आफैंमा शक्तिशाली व्यवस्था हो, कसैले चाहँदैमा कमजोर वा बलियो बनाउन सक्दैन । लोकतन्त्रले बाधिएको व्यवस्थाको फेदमा बस्ने हो छहारीमा शीतल लिने हो तर अहमताले रूखै चढ्छु भन्ने उग्रचाहना राख्नु ठूलो महाभुल हो । यसको परिणाम गम्भीर र दर्दनाक हुन्छ ।

अहिले केपी ओली देश दौडाहामा व्यस्त छन् । जसरी पनि मेरो गोरूको बाह्रै टक्का गर्नु छ उनलाई । आफ्नो पक्षकालाई थम्थमाउनु छ । विपक्षीको कोर्टमा पनि जाल फिजाउन सकिन्छ कि भन्ने दूषित चाहना छ । टुटेफुटेकालाई एक ठाउँमा घोलघाल गरेर क्षणिक ऊर्जा निकाल्ने चेष्टा जारी छ । देशका मुख्य शहरहरूमा ओली दौडिरहेको देख्दा लाग्छ उनलाई संविधानले खेदिरहेको छ, विधिको शासनले लखेटिरहेको छ । आफ्नो अस्तित्व रक्षा गर्न आफ्ना भक्तहरूको भीडमा हराउने र जनतालाई भ्रम छर्ने दाउपेच शिवाय अर्को केही हैन जस्तो चित्र चित्रित हुन्छ ।

शक्तिको आडमा बसेर पनि कोही विचलित हुन्छ र छट्पटी गर्छ भने मान्नुस् ऊ ‘भगवान् भरोसामा’ बाँचिरहेको छ, उसलाई आफैंले आफैंलाई जोगाउन सक्दिनँ भन्ने लागिसकेको छ । स्वस्थानीको कथामा पार्वतीले वर मागेजस्तै प्रचण्ड-माधव सत्ताको वर माग्दैछन् । ओली त अझै दुई वर्ष ‘महादेव’ नै होलान् नि ! अनि किन दौडधुप र धपडी ? केपी ओलीलाई जनताप्रति भरोसा हुन्थ्यो भने निशब्द, निसन्देह शान्त भएर कुर्सीमा बसिरहन्थे र ‘समय आएपछि’ खुरुखुरु जान्थे । तर ओलीको विश्वास भनेकै वरिपरिका ‘उपग्रह’ र भरौटे कार्यकर्तामाथि छ, यस्तो परिस्थितिले राम्रो नतिजा कसरी ल्याउँछ ?

‘पुस ५’ पछि नेपालको राजनीति ‘स्वार्थको अनन्त दुष्चक्र’मा फस्यो भन्ने प्रायः सबैको साझा बुझाइ बन्यो । प्रधानमन्त्री ओलीले ‘जानीनजानी’ गरेको संसद विघटनले देशको राजनीतिक माहोल मात्र तात्तिएन यसले आन्तरिक र बाह्य राजनीतिक शक्तिहरूबीच पुनः शक्तिको प्रभाव र दबाद सिर्जना गर्‍यो । कोरोना महामारीका बीच उत्पन्न राजनीतिक अन्योलताले देश अकल्पनीय क्षतिको सिकार बन्छ कि भन्ने त्रासदी यथावत नै थियो ।

हुन त यो बीचमा विश्वका अन्य केही मुलुकमा राजनीतिक संकट नआएका होइनन् । ‘लोकतन्त्रको मुकुट’ मानिने अमेरिका बल्लबल्ल लोकतन्त्रको बाटोमा फेरि हिंडिरहेको छ । म्यानमारमा सैन्य कू को मारमा मारकाट चलिरहेको छ । यसले के प्रमाणित गरिदियो भने राजनीति बसालिएको सिद्धान्तले भन्दा शासकको व्यक्तिगत महत्वाकांक्षाले ‘ह्याण्डलिङ’ गर्छ र त्यसबाट उत्पन्न अप्ठ्याराहरूले देश र नागरिकलाई ‘जबर्जस्ती करणी’ गरिराखेको हुन्छ ।

नेपालको न्यायालयले ‘प्रतिगमन’लाई सच्याएर ‘अग्रगमन’को पक्ष लियो भन्नु तात्विक रूपमा त्यति गहन विषय हैन जस्तो लाग्छ । तर फेरि सम्भावित राजनीतिक दुर्घटनाबाट त देशलाई बचाएकै हो । संविधानवादको रक्षा गरेकै हो । संविधानलाई कब्जा गर्ने तत्वलाई निरूत्साहित बनाएकै हो । विधिको शासन मान्नुको अर्को विकल्प छैन भन्ने नजीर बसालेकै हो । यति हुँदाहुँदै पनि नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच स्थापित हुँदै आएको सम्बन्ध पवित्र छ भन्न मुस्किल छ ।

राजनीतिले हरेक घटनामा संशय र द्विविधा पैदा गराएको हुन्छ । ओलीलाई संसद भंग गरेपछि देखा पर्दै गएको राजनीतिक दृश्यले अवश्य पिरोलेको थियो । मैले कतै गल्ती त गरिनँ भन्ने भान भएकै हुनुपर्छ । किनकि खुङ्खार अपराधीले पनि अपराध गरेपछि एकचोटि पछुतो गर्छ तर ऊभित्रको खराबीले जितेपछि मतलबी बन्छ । ओलीमा पनि यस प्रकारको आपराधिक मानसिकता आएन होला भन्न सकिन्न । त्यही मानसिकताले आज देश संकटमा परेको हो ।

राजनीतिमा असम्भव भन्ने कुरा नै हुँदैन । यही भनाईलाई ध्रुवसत्य जस्तै ठानिएको छ । तर मेरो ब्रह्मले यसमा ठूलो विरोधाभास देख्छ, असन्तुलन ठहर्छ । सत्तास्वार्थको परिस्थिति अलवा कहाँनेर सबै कुरा सम्भव भयो, कसैले देखाउन सक्छ ? नेतृत्व फरक, पार्टी भिन्न, सिद्धान्त अलग-अलग, पृष्ठभूमि बेग्लै र व्यवहारिकतामा एकरूपता छैन भने यो वृत्तमा सबै सम्भव किन हुन्छ भन्ने विचारणीय प्रश्न हैन र ? जबजब सत्तासमीकरणको मौका आउँछ अनि मात्र दलहरूले विगतका मतभिन्नता र आरोप-प्रत्यारोप, जनतामाथि गरिएका विश्वासघात सबैसबै चटक्कै भुलेर कुर्सीको भुलभुलैमा लाग्छन् । राजनीतिलाई बिकाउन र टिकाउन मात्र ‘सबै कुरा सम्भव’ भनेर अर्थ्याइनु सरासर गलत हो । यो राजनीतिक तिकडम मात्रै हो ।

कुरा प्रष्टै छ, राजनीतिमा असम्भव भन्ने कुरा नै हुन्न भन्ने मान्यतालाई बढावा दिएकै कारण राजनीतिले नैतिकता गुमाएको हो । स्वयं राजनीतिले नै नैतिकताको वस्त्र धारण गरेको छैन भने सुखभोगका निम्ति राजनीतिलाई व्यवसाय बनाउने राजनीतिकर्मीले नैतिकता प्रदर्शन गरिरहन आवश्यकतै भएन जुन दलहरूले आफ्नो व्यवहारबाट मुखरित गरिरहेका छन् । हो, राजनीति खेल हो, खेल मैदान पनि हो तर छाडा चौपाया डुल्ने खुल्ला चौर होइन । जता पनि जान पाइने, जे पनि गर्न पाइने, जसको पनि नोक्सानी गर्न मिल्ने ।

राजनीतिभित्र मौलाएको अराजकता अन्त्य गर्नु नै अहिलेको उच्च प्राथमिकता हो । जसले राजनीति गर्छ उसले आफ्नो जीवनकालभर राजनीति बुझेकै हुन्न यदि बुझिहाल्यो भने त्यही नै राजनेता बन्न सक्छ । राजनीति नेताले हैन जनताले बुझ्नु आवश्यक छ । किनभने नेताले लिएको एक निर्णयले विरोध/समर्थन दुवै प्राप्त गर्छ तर त्यसको सीधा असर त जनताको घरदैलोमा पुगेको हुन्छ ।

सर्वोच्चको फैसला सुन्न व्यग्र चाहना राख्नेहरूमध्ये म पनि एक थिए । पक्ष र विपक्षको बहस टुङ्गिएपछि सबैको ध्यान अब के निर्णय आउला भन्ने कौतुहलता व्यापक थियो ।

जब मोबाइलमा अनलाई पोर्टल खोलेर हेर्दा अदालतले विघटनको निर्णयलाई बदर गरेको समाचार आयो तब खुशीली बाह्र हात उफ्रिए । सायद जीवनमा पाएको कुनै सफलतामा पनि त्यतिधेरै प्रफुल्ल भएको थिएन तर अदालतले ओलीको कदममा ब्रेक लगाएको दिन अति नै हर्षिए । यो खुशीको खबर कसलाई सुनाउँ भन्ने छट्पटी भयो यद्यपि त्यो खुशी आफैंमा सीमित राखे । म एक देशभक्त नागरिकका हिसाबले खुशी व्यक्त गरिरहँदा उता प्रचण्ड-माधवहरू खुशीयाली मनाइरहेका थिए, आपसमा लड्डु खुवाएर खुशी साटासाट गर्दै थिए । खुशी हुनु पनि स्वभाविक थियो, त्यही खुशीमा लड्डु खानु पनि स्वभाविक कुरा भयो । तर त्यसले राजनीतिमा खास अर्थ राख्छ कि राख्दैन भन्ने कुरा मुख्य हो ।

हारेका ओलीलाई जितेकाहरूको खुशी चश्मा नलगाई हेर्न सक्ने हिम्मत आउने कुरै भएन । तर ओलीकै शब्दमा भन्दा ‘भाइहरूले के जिते मलाई थाहा छैन’ भनिरहँदा ओलीलाई पनि यो प्रश्न तेर्सिन्छ, ‘प्रधानमन्त्रीज्यू, संसद भंग गरेर के पाउनु भो, पुनःस्थापनपछि के गुमाउनुभो ? पाउनु र गुमाउनु केहि छैन तर सर्वोच्चको फैसला आउनु सामान्य हो भने जनताको सार्वभौम संस्थाको हत्या गर्ने दुस्साहस किन गर्नुभो ? हामीले सानो छँदा पटकथाहरूमा सुन्ने गर्थ्यौं, राजाका छोरा (साहसिक)ले मात्र लामो बाटो हिंड्न सक्छ तर कायरले छोटै बाटो रोज्छ किनकि उसलाई गन्तव्यमा पुग्न हतारो हुन्छ तर बीच बाटोमै उसको यात्रामा बिराम लाग्छ ।

प्रधानमन्त्री सयर गरिरहेको बाटोमा अप्रत्याशित पहिरो खस्यो । एक/दुई दिन चक्काजाम भयो । यात्रा निरन्तरताका लागि ‘आकाशे पुल’ बनाउने चालबाजी हुँदैछ भन्ने लख काट्न सकिन्छ ।

अभि गाउँले

‘प्रतिगमन’ को चुचुरो चुम्न ओलीले आकाशे पुल होइन पखेटा उम्रिए पनि सीप चल्ने अवस्था छैन । यसको सट्टा आफ्ना त्रुटिलाई आत्मसात् गर्दै सहमति र सहकार्यको विकल्प रोज्नु ओली र देशलाई लाभ हुने देखिन्छ । होइन ‘कानो गोरू’ झैं एकढिपी गर्ने हो भने भिरतिर पिङ खेल्ने मात्र हो, दुर्दशा भोग्नु मात्र हो ।

गुण्डाराजलाई खुलेआम प्रयोग गर्न खोज्ने ‘महेश्वरहरूको’ भाषा टिपेर बोल्ने हो भने ‘ओलीले हानेको बल पोलमा ठोक्किएर फर्केको छ, अब ओलीले अर्को निशाना हान्नेछन् जुन ‘मिस’ खाँदैन ।’ यस भनाइलाई अझ स्पष्ट पार्दा ओलीको निशाना फेल खायो । त्यही भएर बल पोलमा ठोक्किएर फिर्ता आयो तर फिर्ता भएको त्यो बल पुनः ओलीकै हातमा पुग्न सकेन बीचमै फुट्यो । अब फेरि त्यै पोष्टमा अर्को बल हान्ने गल्ती नगरे हुन्छ किनभने संविधानले पोष्ट नै भत्काइसक्यो, खेल्ने मैदान मात्र छ तर गोल गर्नलाई भकुण्डो भए पनि खाली पोष्ट नै छैन । अब, बिचरा ! भन्नु र सान्त्वना दिनु बाहेक अर्को ओखती छैन ।

‘भगवान् विष्णु, महेश्वर, शंकर, गोकुल, सूर्य’ जस्ता शक्तिशाली भगवानहरू पनि इतिहासमा पराजयको पगरी गुथ्न बाध्य हुँदैछन्, अचम्म त्यै लाग्छ, ताजुब लागेर आउँछ ।

राजनीतिलाई यो अवस्थासम्म ल्याइपुर्‍याउन सबैको केही न केही योगदान छ भने कमजोरी पनि अवश्य छ । अबको निकास के हुने र देशले राजनीतिक संक्रमण कहिलेसम्म व्यहोर्नुपर्ने भन्ने प्रधान चासो हो । देशको कार्यकारीले राज्यलाई कसरी नेतृत्व प्रदान गर्ला त्यो आमचासो बनेको छ नै तर अब दलहरूले आफ्नो नियत बदलेर यो उकुसमुकुसबाट छिट्टै बाहिर आउलान् या फेरि अस्थिरतालाई मलजल गर्दै देश र जनताको भविष्य थप अन्धकारमा लैजान्छन्, अग्निपरीक्षा सुरू भएको छ ।

जोडघटाउ, अल्पमत-बहुमत, तेरोमेरो भन्दा पनि राष्ट्रिय सहमतिको सरकार मात्र यो संकटमोचन हुनसक्छ । यसका लागि प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्नुपर्ने कुरामा खुलस्त हुन जरुरी छ । सधैं सभा गर्दै भीडलाई उत्तेजित पार्दै गर्जन गर्दै हिड्न नछाड्ने हो भने भोलि बाघ बूढो भयो फटयांग्रो टिपि खायो भनेजस्तै होला । जाँदाजाँदै, सूर्य क्षितिजमै उदाउँछ र क्षितिजमै अस्ताउँछ । समस्या जसबाट सुरू भयो जहाँबाट सुरू भयो त्यहीँ गएर बजारिन्छ, हेक्का राख्ने कुरा यहि हो ।

समाजसेवा र देशको विकासमा टेवा दिन र आफ्नो नाम स्वर्णिम अक्षरमा लेखाउन पार्टी नै चाहिन्छ भन्ने हैन । त्यसैले ‘सूर्य’का लागि पनि यति ठूलो बबण्डर खाचो छैन । यत्ती बुझौं तारामण्डलमा भएको एउटै सूर्यले संसार उज्यालो बनाएको छ, कारण ऊ तेजस्वी छ, विशाल छ, सत्य छ । तर यो देशमा दुईटै ‘सूर्य’उदाए पनि राजनीतिको कालो बादल नहटेसम्म देश र जनताको भविष्य सधैं अन्धकारमा बस्न बाध्य पारिनेछ । राजनीतिक झगडाभन्दा ठूलो तगडा त्यागमा छ, सहकार्यमा छ, मेलमिलापमा छ तर निषेध र घृणामा छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay