scheduleबिहिवारबैशाख ९ गते, २०७८

सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडाैं, १९ फागुन । नेकपा प्रचण्ड–माधव समूहले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरेको हो । बैठकले तीन दिनभित्र दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको नेता भीम बहादुर रावलले जानकारी दिए ।

त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरी र महेश बस्नेतलाई पनि ६ महिना निलम्वन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने पनि निर्णय गरेको छ । त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले खेद व्यक्त गरेको छ । नेता रावलले ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको बताए ।

बैठकले आफूलाई सुरक्षा खतरा भएको भनेर ओलीले दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ । त्यस्तै प्रधानमन्त्री ओली एक क्षण पनि प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने कुरामा बैठकको जोड रहेको नेता रावलले बताए ।

२३ गते बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने र अन्य दलहरुसँगको छलफलका लागि स्थायी र सचिवालय बैठकलाई केन्द्रीय कमिटी बैठकले अधिकार दिएको रावलले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् । नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका हुन् । बैठकमा सो पक्षका अध्यक्ष प्रचण्डले चीन र भारतका लागि ‘कम्फरटेबल सरकार’ भनेर दिएको अभिव्यक्ति गलत ढंगले प्रचार गरेको बताएको नेता रावलले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay