प्रधानमन्त्री ओलीले गरे नेपाली सेनाको प्रशंसा
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गरेका छन् । नेपाली सेनाको पृतना समन्वयात्मक तीनदिने बैठकको सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उनले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने बताए ।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा पूर्ण विश्वस्त हुन सकिन्छ ।’
कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनका रुपमा विकास गर्ने लक्ष्यप्राप्तिका लागि परिवर्तनलाई संस्थागत गर्दै अघि बढको बताए । उनले भने, ‘बैठकले विषयगत तथा क्षेत्रगतरुपमा हाल भइरहेका कार्यका बारेमा समीक्षा र आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।’
बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए । बैठकमा प्राप्त सुझावले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
फाेटाे: प्रधानमन्त्री ओलीकाे सचिवालयबाट ।