scheduleबिहिवारबैशाख ९ गते, २०७८

आज देशभरका अदालत बन्द, नेकपासम्बन्धी फैसला पनि प्रभावित

काठमाडौं, २० फागुन । देशभरका अदालतहरु आज बन्द हुने भएका छन् । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनप्रति दुस्ख व्यक्त गर्दै सर्वोच्चले देशभरका अदालत बन्द हुने जनाएको छ ।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले बुधबार एक शोक वक्तव्य जारी गर्दै सिंहको निधनले न्याय क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

‘बिहीबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवम् अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने भनी आज बसेको अदालतको पूर्ण बैठकले निर्णय गरेको जानकारी गराइन्छ’, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा सिंहले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न साथै न्याय र कानून क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको पनि बताइएको छ । ‘उहाँको निधनले राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ । दुस्खको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।

सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न एवम् न्याय र कानूनको क्षेत्रको विकासका लागि पुर्याएको योगदानको सर्वोच्चले प्रशंसा गर्दै स्मरण गरेको छ ।

‘संविधान र कानूनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल, अत्यन्त मिलनसार, विवेकशील, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ एवम् अनुभवी न्यायिक व्यक्तित्वका रुपमा रहनुभएका स्वर्गीय सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो’, वक्तव्यमा भनिएको छ, ‘उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादायी र मार्गदर्शक रहिरहने छ।’

पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार साँझ साढे ७ बजे निधन भएको थियो । वि.सं. १९८८ फागुन ३ गते सर्लाहीमा जन्मिएका उनले अप्रिन्टिस पदबाट सेवा शुरु गरेका थिए । उनी २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । २०५२ साल असोज १० देखि ५३ साल फागुन ३ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश र प्रेस काउन्सिलको अध्यक्षसमेत रहेका सिंह न्याय क्षेत्रमा परिचित नाम हो ।

अदालत बन्द भएसँगै आज हुने भनेको नेकपासम्बन्धी विवादको बहुचर्चित फैसला समेत प्रभावित हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले यही फागुन २० गते फैसला गर्ने कार्यक्रम रहेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको निसु (निर्णय सुनाउने) २० गतेलाई तोकेको थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay