scheduleबिहिवारबैशाख ९ गते, २०७८

घडियाल संरक्षणका लागि फुटबल प्रतियोगिता

नवलपुर, २० फागुन । विश्वमै सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक ‘प्रथम घडियाल कप फुटबल प्रतियोगिता–२०७७’ को आयोजना गरिएको छ ।

यही फागुन २३ गतेदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा घडियाल कप फुटबल प्रतियोगिता हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्ज र सिसवार मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा देवचुली–१ स्थित नारायणी नदी किनारमा हुने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

घडियाल गोही नारायणी नदीबाट बगेर भारततर्फ जानेक्रम बढिरहेकाले नेपालमा घडियालको सङ्ख्या कम भएको भन्दै सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताएका छन् । यसको संरक्षणका लागि फुटबल प्रतियोगिताका माध्यमबाट युवालाई परिचालन गरिने उनले बताएका छन् ।

खेलकूदका माध्यमबाट घडियाल गोही संरक्षणका लागि शुरु गरिएको यस अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताएका छन् । समुदायमा आधारित वन्यजन्तु चोरीशिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्ना घरपरिवार तथा साथीभाइलाई समेत घडियाल गोहीको संरक्षण अभियानमा सहभागी गराउन आग्रह गरेका छन् ।

केही वर्ष अगाडिसम्म नारायणी नदीमा प्रशस्तैमात्रामा पाइने घडियाल गोही पछिल्लो समय हराउँदै गएको उनको भनाइ थियो । गाउँघर तथा उद्योग कलकारखानाबाट निस्किने प्रदूषित फोहर सिधै नदीमा मिसाइँदा जल प्रदूषण भई घडियाल गोहीसहित अन्य जलचर प्राणी पनि लोप हुने अवस्थामा पुगेका केसीले बताए ।

फुटबल प्रतियोगिताका संयोजक राजु केसीले घडियाल गोही संरक्षणका लागि व्यक्ति तथा संस्थाको एक्लो प्रयासले नहुने भन्दै सम्पूर्ण समुदायको साथ र सहयोग आवश्यकपर्ने भएकाले जनचेतनाका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

सिसवार मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतका नौ वटा क्षेत्रबाट एक÷एक समूहलाई सहभागी गराई फुटबल प्रतियोगिता आयोजना गरिएको केसीको भनाइ छ । प्रतियोगितामा पहिलो हुने समूहले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने समूहले रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने केसीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay