रसुवागढी नाका पुनः सञ्चालनमा
काठमाडौं, २१ फागुन । गत माघ अन्तिम सातादेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजदेखि पुनः संचालनमा आएको छ ।
नाका खुलेसँगै विहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यलयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।
लोसारका कारण गएको माघ २९ गतेदेखि नाका बन्द भएको थियो । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यलयका प्रमुख रेग्मीको भनाई छ ।
यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको संक्रमणका कारण चीनतर्फको नाका पटक पटक बन्द हुँदै आएको थियो ।