scheduleबिहिवारबैशाख ९ गते, २०७८

परिर्वतनका बाधक पुरातनवादी शक्ति

आरसी अधिकारी

हिजो देशमा अशान्ति, भ्रष्टाचार, अराजकता र तानाशाही शासनविरुद्ध आफ्नो ज्यानको बाजी थापेर जो होमिएका थिए, सहिद बनेका थिए, आज उनीहरूमाथि न्यायको अनुभूति भएको छैन । उनीहरू अन्यायविरुद्धमा लडेका थिए तैपनि राज्य किन मौन भइरहेको छ ? यस विषयमा नेतृत्व तहले सोच्नुपर्छ कि पर्दैन ? यदि देशमा यस्तै प्रवृति्त रहिरहने हो भने अब ती निर्दोष सहिद परिवार र पीडित जनता चुप लाग्ने अवस्था छैन । तसर्थ, नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ ।

आन्दोलन/क्रान्ति+बलिदान+परिवर्तन = यथास्थिती पुरातनवादी चक्र ! नेपाली राजनीति यही सेरोफेरोमा घुमिरहेको छ ।

नेपालमा करिब सात दशकको लामो अवधिपछि वि.सं. २०७२ साल असोज ३ गते संविधान जारी भयो । यो समेत गरी सात वटा संविधान जारी भइसके । व्यवस्था फेरिए, संविधान फेरिए तर नेतृत्वको चिन्तन र प्रवृति्त कहिल्यै फेरिएन । देशमा जनताको उत्साहपूर्ण सहभागितामा आन्दोलन/क्रान्ति सफल हुन्छ । ठूला र युगान्तकारी परिवर्तन पनि हुन्छन् ।

जब कार्यान्वयनको चरण आउँछ, फेरि उही यथास्थिति र पुरातनवादी चक्र घुमिहाल्छ । हामी करिब ७० वर्षको लामो अवधिमा यही चक्रभन्दा बाहिर निस्कन सकेका छैनौँ । सायद नेतृत्वमा विविधता र समावेशी नभएर पनि यसो भएको हो कि ? वि.सं. २००७ सालमा राणा शासन अन्त्य भयो ।

नेपालको राजनीतिक परिवर्तनबारे लेखिरहँदा वि.सं. २०१७ साल पुस १ गते भएको ‘कु’, वि.सं. २०३६ साल जेठ १० गतेको जनमतसङ्ग्रहको घोषणा, वि.सं. २०३७ साल वैशाख २० गतेको जनमतसङ्ग्रह र २०४६ सालको जनआन्दोलनलाई नेपालीले बिर्सिन सक्दैनन् । नेपाली जनताको सङ्घर्षबाट भएको परिवर्तनमा वि.सं. २०४६ सालको जनआन्दोलन ऐतिहासिक थियो ।

दस वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन लोकतन्त्रको बलियो आधारस्तम्भ हो । जनताको आकांक्षा अपेक्षाकृत परिवर्तन हुन नसके पनि आधारभूत परिवर्तन भने भएको छ ।

परिवर्तनका लागि कोही सहिद बने, कसैले आफन्त गुमाए । अझैसम्म पनि जनयुद्धका लडाकु र आन्दोलनका घाइते शरीरमा गोली बोकेर हिँडिरहेका छन् । मलाई अहिले पनि स्मरणमा छ, माओवादी नेताहरूले भन्ने गर्थे, …’हामी संसार परिवर्तन गर्न हिँडेका हौ । आफ्नो ज्यानको बाजी थापेर सर्वहारा वर्गको उत्थान हाम्रो लक्ष्य हो ।’ तर, जो परिवर्तनका लागि सहिद बने, जसले आफन्त गुमाए, आज उनीहरूलाई नै अहिलेका शासकले चिन्दैनन् । लोकतन्त्र वहालीपछि धेरै सरकार बने तैपनि नेतृत्वको गलत आचरण/प्रवृतिले गर्दा देशमा विकासको अनुभूति जुन गतिमा हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । सत्ता र भत्ताको आसंकित सडकमा पोखिएको छ । यो परिवेशले कुनै पनि कोणबाट लोकतन्त्रलाई बलियो बनाउँदैन ।

भूपी शेरचनले कुनै बेला एउटा सर्वकालीन मार्मिक कविता लेखेका थिए, …’हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।’ यस कविताको मर्मले सायद सबैलाई छोएकै हुनुपर्छ । वर्तमान स्वतन्त्रता र सार्बभौमसत्ताका कारण हरेक नेपालीको मुहारमा सहिदको मुहार मुस्कुराइरहेको देखिन्छ । हिमाल, पहाड र तराई/मधेस सबैतिर सहिदका रगतका रङ माटामा मिसिएका छन् । आज हामी सच्चा सहिदको बलिदानकै फलस्वरूप समानता र स्वतन्त्रतापुर्वक बाचिरहेका छौ ।

नेपाली आकाशमा उनीहरूका सपना जीवितै छन् । मुलुकमा क्रान्तिका लागि शहादत प्राप्त गरेका कैयौँ सपुतले नयाँ नेपाल देख्नै पाएनन् । जनताका आधारभूत आवश्यकता पनि पूरा हुन सकेन । मुलुक कपुतहरुको हातमा परेकाले युगान्तकारी परिवर्तनको मुद्दा संस्थागत हुन सकेन । पछिल्लो समय निष्ठा र नैतिकताको राजनीति धमिँलिदै जादा सहिदका सपना अधुरै भएका छन् । तसर्थ, नेपाली जनताले मुलुकलाई नाश हुनबाट जोगाउनु जरुरी छ ।

(युवा लेखक आरसी अधिकारीद्वारा लिखित ‘युवाले देखेको नेपाल‘ पुस्तकबाट छोटाे अंश )

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay