scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव समूहका नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु

काठमाडौं, २१ फागुन । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर उनीहरुलाई छाड्न थालिएको हो । कति जनालाई आज रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पुर्‍याएर रिहाइको क्रम भने शुरु भइसकेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताएका छन् । हप्ताअघि काठमाडौँमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।

प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० मुद्दा दर्तापछि छुटेका थिए ।

सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay