निर्णायक टी-२० मा अस्ट्रेलियालाई हराउँदै न्युजिल्यान्डद्वारा श्रृंखलामाथि कब्जा
काठमाडौं, २३ फागुन । निर्णायक टी-२० खेलमा पाहुना टोली अस्ट्रेलियालाई हराउँदै न्युजिल्यान्ड क्रिकेट टोलीले श्रृंखला जितेको छ । पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत आइतबार विहान भएको अन्तिम एवम् निर्णायक खेलमा न्युजिल्यान्डले ७ विकेटको सहज जीत निकालेको हो ।
अस्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जीतमा ओपनर मार्टिन गप्टिलले ७१ रन बनाए भने डेभोन कनवेले ३६ रन बनाउँदा ग्लेन फिलिप्स ३४ रनमा अविजित रहे । अस्ट्रेलियाका रायले मेरेडिथले २ र जाय रिचार्डसनले १ विकेट हात पारे ।
त्यसअघि वेलिङटनमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले सुरुवाती १० ओभरमा राम्रो प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि म्याथू वेडले ४४, कप्तान एरन फिन्चले ३६ तथा मार्कस स्टोइनिसले २६ रन बनाएका थिए । न्युजिल्यान्डका इस सोधीले ३, टिम साउदी र ट्रेन्ट बोल्टले २-२ तथा मार्क चापमानले १ विकेट हात पारेका थिए ।
श्रृंखलाका सुरुवाती २ खेलमा न्युजिल्यान्ड विजयी भएको थियो भने त्यसपछिका दुई खेलमा अस्ट्रेलियाले जीत निकालेपछि श्रृंखला रोमाञ्चक मोडमा पुगेको थियो ।
म्यान अफ दि सिरिज न्युजिल्यान्डका बलर इस सोधी घोषित भए ।