प्रिमियर लिग: घरेलु मैदानमा लिभरपुलको लगातार छैटौं हार
काठमाडौं, २३ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा साविक विजेता लिभरपुलले अर्को हार व्यहोरेको छ । लिभरपुललाई उसैको मैदानमा फुलहामले १-० ले हराएको हो ।
फुलहामको जीतमा मारियो लेमिनाले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले ४५औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा अगाडि राखेका थिए ।
दोस्रो हाफमा लिभरपुलले पाएका अवसरहरुमध्ये केही प्रहार फुलहामका गोलरक्षक एरियोलाले बचाएका थिए भने केही मुभहहरु फिनिसिङ हुन सकेनन् ।
खराब लयबाट गुज्रिरहेको लिभरपुलले अपेक्षाकृत नतिजा निकाल्न सकिरहेको छैन । यस हारसँगै लिभरपुलले घरेलु मैदानमा लगातार ६ खेलमा हार व्यहोरेको छ ।
हारसँगै २८ खेलबाट ४३ अंकमै सीमित लिभरपुल अंकतालिकाको सातौं स्थानमा यथावत रहेको छ भने विजयी टोली फुलहाम २६ अंकसहित १८औं स्थानमा रहेको छ ।