scheduleशनिवार जेष्ठ १ गते, २०७८

किन भयो पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि भौतिक आक्रमण ?

प्रभाकर मणि तिवारी

एजेन्सी, २७ फागुन । बुधबार साँझ पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीमाथि भौतिक आक्रमण भएको छ । ममताको खुट्टा, टाउको, काँध र गर्दनमा चोट लागेको बताइएको छ । उनी अस्पतालको बेडमा सुतेको र खुट्टामा प्लास्टर गरिएको फोटो समेत सार्वजनिक भएको छ ।

बुधवार दिउँसो उनले आसन्न विधानसभा निर्वाचनका लागि नन्दीग्राम निर्वाचन क्षेत्रबाट नामाङ्कन दाखिला गरेकी थिइन । त्यसपछि उनी फर्किंदै थिइन । घटना बुरुलिया बजारमा भएको हो । त्यहाँ करिब ५ जना अज्ञात व्यक्तिहरु भीडमा पसेर ममतालाई धकेलेको र उनी लडेको बताइएको छ । उनी कलकताबाट हेलिकप्टरमा नन्दीग्राम गएकी थिइन ।

शिवरात्रि पर्वका लागि उनलाई कलकता फर्किनु थियो । घटनापछि ममतालाई उच्च ज्वरो आएको बताइएको छ । घटनापछि उनलाई कलकताको सबैभन्दा ठूलो सरकारी अस्पतालमा ल्याएर राखिएको छ । विशेषज्ञहरु भेला भएर उनको स्वास्थ्य स्थितिबारे छलफल गरिरहेको बताइएको छ ।

विपक्षी दलहरुले भने घटनालाई अस्वीकार गरेका छन् । उनले चुनावको मुखमा मतदाताको सहानुभूति बटुल्न नाटक गरेको उनीहरुको आरोप छ । त्यति ठूलो सुरक्षा घेरामा रहेकी ममतामाथि त्यस प्रकारको आक्रमण हुन नसक्ने विपक्षी दलहरुको भनाई रहेको छ । ममताले प्रदेश सरकारको गृहमन्त्रालय आफैंले राखेकी छन् । तर, घटना भएको समय मेदनीपुर क्षेत्रका प्रहरी प्रमुख ममतासँग नरहेको बताइन्छ ।

भारतीय कानुन अनुसार निर्वाचन अबधिमा प्रहरीको नेतृत्व निर्वाचन आयोगसँग हुन्छ । निर्वाचन आयोगले ममतालाई के हो भनेर प्रतिवेदन पठाउन प्रहरीलाई पत्राचार गरेको छ । वास्तविकता के हो त्यो त जाँचपछि सामुन्ने आउँला ।
तर, यो निश्चय नै हैरानीको कुरा हो । पश्चिम बंगाल राजनीतिमा यस अघि कहिल्यै यस्तो भएको थिएन । अरु कुनै मुख्यमन्त्रीसँग यस्तो व्यवहार कहिल्यै भएको थिएन । विपक्षी दलहरुले यसलाई चुनावी मुद्दा त बनाइ दिएकै छन् ।

मलाई के लाग्छ भने बंगाल राजनीतिमा ममतालाई यस्तो नाटक गरेर सहानुभूति बटुल्नु पर्ने कुनै आवश्यकता छैन । ममता आफैंमा एक जुझारु नेता हुन् । उनको इतिहास र व्यक्तित्व संघर्षले भरिएको छ । यस अघि उनले यस्तो राजनीतिक नौटङ्की कहिल्यै गरेकी छैनन्, जो विपक्षी पार्टीहरुले भनिरहेका छन् ।

भाजपामात्र हैनन, कांग्रेसलगायतका विपक्षी दलहरुको दृष्टिकोणमा पनि यो ममताको स्टन्ट हुन सक्दछ । तर, मलाई विश्वास लागिरहेको छैन । ममताले जीवनमा थुप्रैपटक पुलिसको लठ्ठी खाएकी छन् । तृणमूल कांग्रेसका कार्यकर्ताहरुको विश्वास भने अर्कै छ । उनीहरु यसलाई भाजपाको हत्कण्डा भनिरहेका छन् । उनीहरु ठान्दछन् कि यो घटनामा कुनै न कुनै प्रकारले भाजपाको हात हुनु पर्दछ । भाजपाले भने यसलाई राज्यको कमजोर सुरक्षा व्यवस्थाको उदाहरण बनाएको छ । जुन राज्यमा मुख्यमन्त्री आफैं सुरक्षित छैनन्, अरुको के हालत होला भनेर प्रश्न गरिँदैछ ।

ममताको राजनीति हामी धेरै वर्ष अगाडिदेखि नियालीरहेका छौं । म त्यतिखेरदेखि हेर्दैछु जतिखेर उनले भारतीय राष्ट्रिय कांग्रेस छोडेर तृणमूल कांग्रेस बनाइन् । त्यसको १०–१२ वर्षभित्रै वामपन्थीहरुको त्यति लामो शासनलाई हटाएर सत्तामा आएन । दुई पटक उनी मुख्यमन्त्री भइसकिन् । अहिलेसम्म उनले राजनीतिमा यस्तो नाटक गरेको कसैलाई थाहा छैन । ममतालाई यस्तो हत्कडाको कुनै जरुरी छैन ।

ममता अझै लोकप्रिय छन् । बंगालमा अहिले पनि उनी जत्तिको लोकप्रिय नेताको जन्म भइसकेको छैन । हिजो मात्र नन्दीग्राममा उनको सभा थियो । त्यो निक्कै ठूलो थियो । उनका सबैजसो र्‍यालीमा निक्कै ठूलो भीड लागेको हुन्छ । नन्दीग्राम आफैंमा एक महत्वपूर्ण निर्वाचन क्षेत्र हो । यसको निर्वाचन परिणामको दुरगामी महत्व हुने गरेको छ । नन्दीग्रामको माहौल हेर्दा ममतालाई कुनै हत्कण्डाको आवश्यकता देखिन्न ।

गत दिसेम्बरमा भाजपा अध्यक्ष जेपी नड्डा कलकत्ता आउँदा पनि यस्तै हमला भएको थियो । भाजपाले त्यसलाई नाटक भनेन । नड्डामाथि हमला हुन सक्छ भने ममतामाथि हुन नसक्ने कुरा भएन । तसर्थ यो घटनालाई राजनीतिक रंग दिनु उचित हुँदैन । भन्न सकिन्न, यो घटनामा कोको संलग्न छन र उनीहरुका उद्देश्य के हो ? तर, छानविनपछि संलग्नहरुलाई कार्वाहीको दायरामा ल्याउँनै पर्ने हुन्छ । ममतामाथिको आक्रमणले बंगाल राजनीतिमा दुरगामी असर पर्न सक्दछ ।

(तिवारी कलकत्ता स्थित पत्रकार हुन् । उनको सत्यहिन्दी डटकमसंग गरेको कुराकानीबाट)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय