scheduleमगलवारबैशाख ७ गते, २०७८

राष्ट्रवादसँगको मोह र दक्षिण एसियाली युनियनको अवधारणा

दामोदर त्रिपाठी

विश्व राजनीतिमा र नेपाल तथा दक्षिण एसियाका देशहरूमा पनि यतिबेला राष्ट्रवादको नारा अत्यन्त लोकप्रिय बन्दै गइरहेको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१९ को चुनावमा दोस्रो कार्यकालका लागि भारी बहुमतका साथ हिन्दु राष्ट्रवादमा आधारित भाजपा सरकारलाई निरन्तरता दिइरहेका छन् ।

नेपालमा केपी ओलीले पनि आफ्नै प्रकारको राष्ट्रवादको भाष्यलाई उत्पादन र वितरणको एक विशिष्ट तकनिकीलाई अवलम्बन गरेका छन् । भर्खरै म्यानमारमा सेनाले सत्ता हातमा लिएको छ जहाँ उसले उदार लोकतन्त्रका पक्षधर आङ्ग सान सुकी र उनका सहयोगीहरूलाई सत्ताबाट अपदस्त गरेको छ र उदार र नागरिक राष्ट्रवादको विपक्षमा आफ्नो पुरानो मान्यतालाई निरन्तरता दिएको छ ।

समकालीन समयमा पाकिस्तान, बंगलादेश र श्रीलंकामा समेत रहेका सत्ताहरूको खास एउटै मन्त्र छ कुनै न कुनै प्रकारको संकिर्णतावादी राष्ट्रवादको आडमा आफ्ना निरन्त्रित र संकुचित चरित्रका शासनहरूको आयुलाई नयाँ जीवन दिइरहनु । यसप्रकार हाम्रा छिमेकहरूमा समेत र देशभित्रै पनि बढिरहेको लोकप्रियतावादी शासनको प्रभाव र त्यसका माध्ययमबाट प्रवर्द्धन भइरहेको खास तवरको राष्ट्रवादले भावी राजनीति, देश र जनतालाई कहाँ पुर्‍याउँछ ? यस प्रकारको प्रवृति र बदलिएको विश्व समाजका बीच के कस्तो प्रकारको सम्बन्ध रहेको छ ? यसबाट राजनीतिलाई र समाजलाई नयाँ र अरु उन्नत अवस्थातर्फ लग्ने विकल्पहरू के हुन सक्दछन् ?

राष्ट्रवाद लोकप्रिय बन्नुको खास समाजशास्त्रीय कारण के हो भन्ने कुरा बुझन समकालीन विश्व समाजमा उपलब्ध मूलतः दुईखाले आम प्रवृतिहरूका बारेमा हामी स्पष्ट हुन आवश्यक छ । समकालीन विश्वसमा एकातर्फ विश्वव्यापीकरण, उदारीकरण, लोकतान्त्रिकीकरण, विश्व मानवतावाद आदि मूल्य र मान्यताहरूको विकास एवम् सूचना प्रविधि, पुँजी र यातायातमा आएका ज्यादै क्रान्तिकारी परिर्वतनहरूले विश्व समाजको ठूलो हिस्सालाई एक अर्काबाट अलग हुनै नसक्ने अवस्थामा बदलिदिएको छ । यो परिस्थिति कोरोना कहरको समयमा झन बढी खड्किएको कुरा हो की हामी महामारी, जलवायु परिवर्तन, आतंकवाद जस्ता नयाँ चुनौतिहरूको बीचमा एक साझा जीवन र सह-अस्तित्वको महत्व अझ बढेर गएको छ ।

दामोदर त्रिपाठी

अर्कोतर्फ यसप्रकारको विश्वव्यापीकरणसँगै भूमण्डलीकरण, चरम आर्थिक शोषण र नियन्त्रित वितरण प्रणाली, गहिरो तवरको परनिर्भरता जस्ता प्रक्रियाहरूले विश्व समाजको अर्को ठूलो हिस्सालाई अत्यन्त असुरक्षित, संकटग्रस्त, शोषित र विपन्नताको अवस्थामा धकेलिइरहेको छ । पहिलो प्रवृत्तिले विश्वव्यापीकरणलाई विस्तार गरिरहेको छ एकातर्फ भने अर्कोतर्फ दोस्रो प्रवृतिले विश्व समाजका विभिन्न देशहरूमा विभिन्न तवरले स्थानीयतावाद तथा राष्ट्रवादको एक नयाँ धारलाई बल प्रदान गरिरहेको छ । यिनै दुई प्रवृतिहरूले निर्धारण गरेको परिस्थितिका बीचमा नै हामीले हाम्रा समग्र राज्य अभ्यास, सत्ता तथा राज्य संरचनाहरूलाई नियन्त्रण र सन्तुलन गर्नु पर्दछ । यी दुई प्रवृतिहरू मध्ये कुन प्रवृतिलाई नियन्त्रण गर्ने र कुन प्रवृतिलाई हामीले अगाडि बढाउने भन्ने कुरा हाम्रो छनौटको विषय पनि हो । यहाँ नै हाम्रो समग्र राजनीतिक भविष्य तथा राजनीतिक–सामाजिक नेतृत्वको परीक्षा हुने कुरा पनि हो ।

यहाँ चर्चा गर्नुपर्ने अर्को कुरा के हो भने बीसौं शताब्दीको मध्य अर्थात् दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वका शक्ति सम्पन्न राष्ट्रहरू तथा विभिन्न सरकारका संस्थाहरू विश्वव्यापीकरणको प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका थिए । आज त्यसको स्थानमा प्रविधिको विकास सँगसँगै निजी कम्पनि र संस्थाहरूले त्यो आवश्यकतालाई पुरा गरिरहेका छन् । यसले आमरुपमा मानिसहरूबीचमा सम्पर्क, सम्बन्ध र सहकार्यका नयाँ नयाँ सम्भावनाका ढोकाहरू खोलिएका छन् ।

यसले विश्व समाजमा राज्यका परम्परागत भूमिकाहरूमा अत्यन्त कठोर विचलन पनि पैदा भएको छ । सम्पन्न देशहरूले र समाजको खास वर्गले यसबाट निकै ठूलो लाभ पनि लिइरहेको छ । तर, विपन्न र कमजोर देशहरूमा भने यसले एक तवरको भय र संशयको थितिलाई विकास गरिरहेको छ र आम मानिसहरूले आफ्ना सरकारहरूको प्रभावकारी भूमिकालाई दिएर पनि अभूतपूर्व अपेक्षाहरू जाहेर गरेका छन् । यो परिस्थितिलाई स्थानीय राजनीतिले कुनै न कुनै रुपमा आफ्नो पक्षमा पार्ने सम्बन्धमा पनि राष्ट्रवादको प्रस्फुटन भइरहेको छ ।

समाजको सचेत वर्गले विचार गर्नुपर्ने कुरा के हो भने राष्ट्रवाद विश्व समाजका बीचमा आम मानिसहरूको सम्बन्धलाई विकास गर्ने, सह–अस्तित्व र विश्व शान्तिको उच्चतम उद्देश्यलाई हासिल गर्ने सम्बन्धमा एक कठोर अवरोधको रुपमा धेरै शासकहरूले दुरुपयोग गरेका छन् । स्थानीयतावादलाई प्रश्रय दिनु, विश्व समाजका अगाडि स्थानीय समाजका अप्ठेरा वा विशेषताहरूलाई उजागर गर्नु निश्चय पनि आफैंमा महत्वपूर्ण कुरा हो । तर, स्थानीयताको आडमा विश्व समाजसँग एकाकार हुँदै जाने मानव समाजको निरन्तर प्रक्रियालाई यो वा त्यो वहानामा अवरोध पुर्‍याउने कुराको पक्षधर हुन पनि सम्भव छैन । त्यसैले आवश्यकता के हो भने विश्वव्यापकताको अवधारणालाई बल पुर्‍याउँदै यसका खराबीहरूलाई नियन्त्रण गर्दै जाने राजनीति हामीलाई आवश्यक छ एकातर्फ भने अर्कोतर्फ स्थानीय महत्व र विशेषतालाई उजागर गर्ने स्थानीय समाजका समस्याहरूलाई हल गर्ने गतिशील विधि र प्रक्रियाहरूलाई हामीले निरन्तर विकास र प्रयोग गरिरहन आवश्यक छ ।

राष्ट्रवादलाई हामीले कुन हदसम्म नियन्त्रण गर्ने र समाजको परिवर्तन र रुपान्तरणको गतिलाई अगाडि बढाउने भन्ने कुरा यहाँ विचार गर्नुपर्दछ । समकालीन नेपाली राजनीतिमा नेकपा र खास गरी ओली नेतृत्वको नेकपाले एकप्रकारको राष्ट्रवादको नारा विस्तार गरिरहेको छ र त्यसप्रति मानिसहरूको मोह गहिरो हुँदै गइरहेको छ । यो राष्ट्रवादको खास विशेषता के हो भने नेपाली समाजको खास समुदायको इतिहास र संस्कृतिलाई विशेष महत्व प्रदान गरेको छ एकातर्फ भने अर्कोतर्फ यसले दक्षिण छिमेकी खासगरी भारतीय सत्तासँग एक प्रकारको शत्रुतापूर्ण सम्बन्धको भाष्यलाई पुर्नजीवन दिइरहन्छ । छिमेकीसँग सिमानाको विषयमा विमतिहरू रहनु अस्वाभाविक कुरा होइन । नेपालको सार्वभौमसत्ताको सन्दर्भमा भारतीय संस्थापनको दृष्टिलाई लिएर एक प्रकारको संशय नेपाली समाजमा लामो समयदेखि व्याप्त पनि छ । यो सबैभन्दा महत्वपूर्ण राजनीतिक पक्ष पनि हो नेपाली समाजको । तर, यो विषयलाई हल गर्ने विभिन्न आधुनिक प्राविधिक, प्रशासनिक, कुटनीतिक उपायहरू अवलम्बन गरिएका छन् वा यसलाई राष्ट्रवादको विषय बनाइएको छ यो महत्वपूर्ण कुरा हो ।

नेपाली राष्ट्रवादको विषयमा यी दुई विषयहरूको प्रधानतामाथि हामी फेरी एकपटक गम्भीर बन्न आवश्यक छ । साथै नेपाली राजनीतिको विकास र परिवर्तनको अग्रगामी बाटो के हो भन्ने कुरामा पनि हामी स्पष्ट हुँदै राष्ट्रवादको स्थानीय, संर्किण र निषेधात्मक भाष्य र मान्यताबाट मानिसहरूको चेतनालाई सही दिशा दिनु आवश्यक छ ।

यसका लागि सचेत वर्गले देशको राजनीतिमाथि विल्कुलै भिन्न तवरले हस्तक्षेप गर्न पनि पछि हट्नु हुँदैन । त्यसको पहिलो शर्त भने, यो वा त्यो नामको राष्ट्रवादको घेराबाट यो वर्गमाथि उठ्न आवश्यक छ । तर यो भनेको स्थानीय समाजका राजनीतिक, सामाजिक, आर्थिक आदि समस्या र चुनौतिहरूलाई नजरअन्दाज गर्नु भनेको कदापि होइन । यसरीमाथि उठ्नु भनेको हाम्रा स्थानीय समाजका समस्याहरूलाई हल गर्दै विश्व समाजमा आइरहेका नवीनतम् परिवर्तनहरूलाई राजनीतिक तवरले कसरी सम्बोधन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । यस सम्बन्धमा हामी कमसेकम बृहत्तर दक्षिण एसियाली युनियन (South Asian Union) को एक नयाँ क्षेत्रीय राजनीतिक अवधारणालाई विकास र संस्थागत गर्नतर्फ अबको समयलाई उपयोग गर्नु उपयुक्त हुनसक्दछ । किनभने यसले हाम्रा स्थानीय समस्याहरूलाई सम्बोधन गर्ने नयाँ राजनीतिक स्थानलाई समेत उपलब्ध गराउने परिस्थिति बन्न सक्दछ । र, यसप्रकारको स्थानको आवश्यकतालाई लामो समयदेखि आम नागरिकहरूले यो वा त्योरुपमा प्रकट गरिरहेका पनि छन् ।

हाल सार्कलगायत अन्य विभिन्न सहयोगी मञ्चहरू अस्तित्वमा सीमित रहेका छन् । विगतको अनुभवले के देखाइसकेको छ भने यसप्रकारका मञ्चहरू हामीले अपेक्षा गरेका उद्देश्यहरू हासिल गर्न विफल भै सकेका छन् । त्यस्तै दुई पक्षीय र बहुपक्षीय समझदारीका विभिन्न अभ्यासहरूको पनि प्रयत्न भइरहेको छ । तर, यस क्षेत्रका राज्य र सरकारहरूको बीचमा एक भरोसायोग्य समझदारीको प्रयत्नले अझै मुर्तरुप हासिल गर्न सकेको छैन । यो असफलताको पछाडि कुनै न कुनै प्रकारका संकिर्णतावादी स्थानीयता प्रमुख कारणहरूको रुपमा रहेका छन् ।

यसर्थ पनि हामीले विगतका अनुभवबाट शिक्षा लिँदै आम जनताको हितमा नयाँ र बलियो पहलकदमी उठाउन अब ढिला गर्नु हुँदैन । हाम्रा स्थानीय समस्या र चुनौतीहरूबाट अगाडि बढ्न र राष्ट्रवादको संर्किण घेरामा रुमल्ल्लिइरहेको मानिसहरूको चेतनालाई नयाँ दिशातर्फ केन्द्रित गर्न पनि हामीले यो क्षेत्रीय युनियनको एक स्पष्ट अवधारणाका सम्बन्धमा अब ठोस धारणा बनाउनु पर्दछ । तर, यस तवरको अवधारणा यस क्षेत्रका आम नागरिकहरूको हित, क्षेत्रीय शान्ति र विश्व मानवताका मान्यताबाट निर्देशित हुने मात्र होइन कि, त्यसको जग नै यस क्षेत्रका आम जनताको बीचमा उपलब्ध सामाजिक आर्थिक सम्बन्ध र सहकार्य हुनु पर्दछ ।

(२३ माघ २०७७, पोखरा)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay