scheduleबुधवार आश्विन ६ गते, २०७८

यूरोपा लिग: टोटनहामले जीत निकाल्दा युनाइटेडले बराबरी खेल्यो

काठमाडौं, २८ फागुन । युइएफए यूरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब टोटनहाम विजयी भएको छ । अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा टोटनहामले डिनामो जाग्रेबलाई २-० ले हराएको हो ।

टोटनहामको जीतमा दुवै गोल फरवार्ड ह्यारी केनले गरेका थिए । खेलको २५औं मिनेटमा केनले एरिक लमेलाको पासमा गोल गर्दै टोटनहामलाई १–० ले अघि बढाए ।

७०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै टोटनहामलाई २–० को जित दिलाए । घरेलु मैदानमा टोटनहामले डिनामोविरुद्ध बल पोसेसनमा समेत पकड बनाएको थियो ।

जितसँगै टोटनहामले यूरोपा लिगको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके टोटनहाम अन्तिम आठमा प्रवेश गर्नेछ ।

यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । इन्ज्युरी समयमा सम्हालिन नसक्दा युनाइटेड जीतबाट वञ्चित भएको हो ।

एसी मिलानविरूद्ध युनाइटेडको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । युनाइटेडका अमाद डियालोले ५०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयमा मिलानका सामन जायरले गोल फर्काउँदै टोलीको हार टारे । पहिलो लेगमा बराबरी खेलेसँगै दोस्रो लेग रोमाञ्चक हुने देखिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय