scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: फुलहाममाथि सिटीको सहज जीत, बर्नलीले एभर्टनलाई हरायो

काठमाडौं, १ चैत । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको म्यान्चेस्टर सिटीले जीत हासिल गरेको छ । सिटीले फुलहामलाई उसैको मैदानमा ३-० ले हराएको हो ।

सिटीको जीतमा जोन स्टोन्स, गाब्रियल जेसस र सर्जियो अगुएरोले १-१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ४७औं मिनेटमा स्टोन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा अगुएरोले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सहज जीततर्फ उन्मुख गराए ।

जीतसँगै २९ खेलबाट ७१ अंक भएको सिटी शीर्षस्थानमा यथावत छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २८ खौलबाट ५४ अंक छ । पराजित फुलहाम २६ अंकसहित १८औं स्थानमा रहेको छ ।

यसैगरी गएराति नै भएको अर्को खेलमा बर्नलीले जीत निकालेको छ । बर्नलीले एभर्टनलाई उसैको मैदानमा २-१ ले हराएको हो ।

बर्नलीको जीतमा क्रिस वूड, र ड्वाइट म्याकनिलले १-१ गोल गरेका थिए भने एभर्टनका डोमिनिक केल्भर्ट लेविनले १ गोल फर्काए ।

जीतसँगै बर्नली २९ खेलबाट ३३ अंकसहित १५औं स्थानमा उक्लिएको छ भने पराजित एभर्टन ४६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय