scheduleशनिवार जेष्ठ १ गते, २०७८

राजनीतिक-सामाजिक चिरफारको दस्तावेज

डीबी नेपाली

युवा लेखक आरसी अधिकारीले युवाले देखेको नेपाल पुस्तकमार्फत् नेपालको राजनीतिक–सामाजिक चिरफार गरेका छन् । नेपालले धरै राजनीतिक क्रान्तिमा आफ्नो ऊर्जामय समय खर्च गरिसकेको छ । जस्तै- वि.सं. ००७, ०१७, ०४६ र ०६२/६३ को जन-आन्दोलन गर्नेहरू नै अहिले नेतृत्वमा छन् ।

राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भएपनि नेतृत्व आजसम्म परिवर्तन हुननसक्नु दुःखद कुरा हो । नयाँ चिन्तन र समाजको भलो हुने काम गर्ने डा. महावीर पुन, कुलमान घिसिङ, सन्दुक रुइत, डा. गोविन्द केसी जस्ताको आवाज सुनुवाइ हुँदैन ।

पार्टीमा कुशल र असल मान्छे पाखा लगाइन्छन् । अनि, अक्षम, भ्रष्टाचारी, अपराधी, फटाहा, गुन्डाजस्ता अराजक व्यक्तिलाई निर्णायक बनाइन्छ । शिक्षा र स्वास्थ्यमा राज्य नै व्यापारीकरणमा लागेर कमिशनमा आँखा लगाउँछ । जसको कारणले समाजमा विकृति र विसंगति बढेको छ । परिणामस्वरूप लाखौँ श्रमशक्ति शिक्षित वेरोजगार युवाहरू पलायन भैरहेका छन् । यसको अन्त्यको लागि सरकारले व्यापक नीतिगत सुधारमा जोड दिनु आवश्यक छ । पुस्तकमा भनिएको छ ।

नीति, नियम, ऐन, कानुन पारित गर्दैमा लगानीमैत्री वातावरण बनिहाल्दैन । बाह्य लगानी भित्र्याउनका निम्ति आवश्यक नीतिगत प्रयास गरिनुपर्दछ । लगानीमैत्री वातावरणका लागि सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्छ । संसारका जुनसुकै लगानीकर्ताले तीन वटा कुरामा ध्यान दिन्छन् । जस्तै, सुरक्षा, तरलता, मुनाफा पहिला लगानी गर्ने देशमा हेर्छन् । सुरक्षा र तरलता सरकारले सुनिश्चितता दिने कुरा हो ।

यसरी लगानीको वातावरण सरकारले तयार गर्न सकेमा रोजगारी सिर्जना हुने चर्चा गरिएको छ, पुस्तकमा । नेतृत्वले नेपालको प्राकृतिक स्रोत–साधन र भूगोल अनुरूपको विकास मोडल बनाएर देशलाई अगाडि बढाउनुपर्छ । नीतिगत सुधार र लगानीमा सफलता हासिल गरेपछि मात्र आर्थिक क्रियाकलाप बढ्न सक्छ । अहिले देश कमजोर अवस्थामा रहेको छ । कमजोर देशलाई बलियो पार्ने कमिला र माहुरीजस्ता सक्षम, दूरदृष्टि र मिहिनेती नेतृत्वको अभाव छ । लेखकले मसिनो गरी विश्लेषण गरेका छन् ।

नेपाली कांग्रेसले क्रमशः वि.सं. ०१५, ०४८ र ०५६ सालमा बहुमतको सरकार बनाएको थियो । त्यसैले स्थायी सरकारले मात्र समृद्धि र विकास ल्याउन सक्दैन भन्ने कुरा प्रस्टै छ । किन समृद्धि आएन भन्दा नेपाली जनताको चाहनाअनुरूप सरकार चलेनन् । र, दुई तिहाइमा बनेका सरकार पनि अल्पकालीन मात्र चले । केही प्रगतिशील वा वामपन्थीका सरकार बने । तर, स्थायी रूपमा टिक्न सकेनन् । सरकार नटिक्नुको कारण पद्धति, पारदर्शिता र विधिको शासन व्यवस्थापन अनुरूप काम गर्न नसक्नु थियो ।

अहिले बहुमत प्राप्त कम्युनिस्ट सरकारले रातारात विकास गर्छ भन्ने पनि होइन । यसका लागि संस्थागत विकास र पद्धति निर्माण गरिनु आवश्यक छ । राणाहरू भन्ने गर्थे–नेपालमा विकास नहुनु भनेको कमजोर शासक, भारदारहरूको किचलो र छिमेकीको अनावश्यक लडाइँ हो । राजा महेन्द्र पनि भन्थे–राजनीतिक स्वतन्त्रता र धेरै राजनीतिक पार्टीहरू नै विकासका बाधक हुन् । कांग्रेस भन्छ–सरकारले मात्र विकास गर्न सक्दैन । निजी क्षेत्रलाई पनि जिम्मा दिनुपर्दछ । कम्युनिस्ट भन्छन्– बुर्जुवा शिक्षाले देशमा विकास हुन सकेन । यी सबै कुरा हात्ती आयो, हात्ती फुस्सा जस्तै भएका छन् । सबैले एकअर्कालाई दोष देखाएर उम्कने दाउ मात्र हो । यस्ता चिन्ता, चासो, गुनासो र सुझावले भरिपूर्ण रहेको छ, युवाले देखेको नेपाल ।

अधिकांश जनतामा स्वाभिमानी देशको झन्डा नबोकी राजनीतिक पार्टीको झन्डा बोकेर आफ्नो कर्तव्य बिर्सेर खाली अधिकार मात्रै खोज्ने प्रवृत्ति छ । यसरी देशमा कसरी विकास हुन्छ ? निःस्वार्थ बनेर मुलुक र जनताको सेवामा समर्पित हुनुपर्ने अधिकांश नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । निष्पक्ष न्याय, निसाफ दिनुपर्ने न्यायमूर्ति बिचौलियाको इसारामा फैसला गर्न तछाँडमछाँड गर्छन् । राष्ट्रसेवक बनेर सेवाग्राहीको सेवा गर्नुपर्ने कर्मचारीलाई सरकारले ‘म भ्रष्टाचार गर्दिनँ भनेर सपथ खुवाइराख्नु कस्तो विडम्बना होला ! सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न हो भने देश बनाउन धेरै समय लाग्दैन ।’

इमानदार, नीति–नियममा रहेर काम गरिए विकास र समृद्धि टाढा छैन । कुनै पनि देशको नेतृत्व जनताप्रति पूर्ण बफादार, इमानदार भई राज्यप्रति पूर्ण विश्वास र भरोसा गर्नु, राज्यको हरेक भौतिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु आवश्यक देखिन्छ । विकसित देशहरूमा इमानदार, बफादार नेतृत्वशैली भएको पाइन्छ । नेतृत्व सकारात्मक, शिक्षित र इमानदार भए देशको विकास हुन धेरै समय लाग्दैन ।

उदाहरणका लागि, चीन, कोरिया, थाइल्यान्ड, मलेसिया, भियतनाम, सिङ्गापुर र हङकङलाई लिन सकिन्छ । अधिकारीको ठम्याइ रहेको छ । पुस्तकले विगत झन्डै ७० वर्ष अघिदेखि वर्तमानसम्मका यावत विषयमाथि निर्मम ढंगले चिरफार र समीक्षा गरेको छ । पुस्तक युवादेखि वृद्धसम्म, नेतादेखि कर्मचारीसम्म, बौद्धिक र प्राज्ञिक वर्ग सबैका लागि उत्तिकै संग्रहणीय रहेको छ । यो पुस्तकलाई विशेषगरी विद्यालय तहको शिक्षामा समावेश गर्न सकेमा बालबालिकाहरूलाई नेपालको राम्रो ज्ञान हासिल हुनसक्छ । नेपालको खम्बा, भविष्यका देश हाँक्ने जमातलाई पुस्तकले राम्रो मार्गनिर्देशन पनि गरेको छ ।

आगामी संस्करणमा पुस्तकको भाषा सम्पादनमा अझै ध्यान दिन जरुरी छ । पुस्तकको साजसज्जा भने आकर्षक रहेको छ । सानो उमेरमै आर सी अधिकारीको प्रयास प्रशंसनीय छ । तसर्थ यो पुस्तक सबैले एकपटक पढ्नैपर्ने देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय