scheduleबुधवार बैशाख २९ गते, २०७८

कोको क-कसबाट ‘पालित–पोषित’ ? कोको क-कसका ‘एजेन्ट’ ?

साझापोष्ट टिप्पणी

काठमाडौं, ९ चैत । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘२०–२५ औं वर्षदेखि विदेशीहरुले हुर्काएको पालित पोषित’ भएको आरोप लगाएका छन् । उनले ओलीलाई ‘विदेशी प्रतिक्रियावादी तथा स्वदेशी प्रतिगामीहरुको प्रतिनिधि’ तथा ‘विदेशीहरुका सामु सजिलै लम्पसार पर्न सक्ने’ समेत भनेका छन् । प्रचण्डको आरोप दक्षिणी छिमेकी मुलुकतिर लक्षित भएको सजिलै बुझ्न सकिन्छ ।

‘भारतीय दलाल’, ‘भारतीय एजेन्ट’, ‘भारतद्वारा पालित–पोषित’, ‘भारुराम’ जस्ता शब्दाबली नेपाली राजनीतिमा सजिलै प्रयोग गरिन्छन् । यो एकप्रकारको आमप्रचलन तथा राजनीतिक संस्कृतिको अंगजस्तो भएको छ । मिल्दा सबै कुरा बिर्सेर गला मिलाउने, नमिल्दा एकअर्कालाई दलाल, एजेन्ट र पालित–पोषित मात्र देख्ने कुसंस्कृतिले नेपाली राजनीति आक्रान्त छ ।

नेपाली राजनीतिमा यो कुनै नयाँ कुरा हैन । एजेन्ट र दलालहरु निर्माण गर्ने यहाँ लामो र ऐतिहासिक प्रक्रिया छ । १०४ बर्ष देशको बाघडोर सम्हालेका राणाहरु आफै इष्टइन्डिया कम्पनीका ‘बफादार नोकर’ मानिन्थे । राणा र शाहहरुको बिहेबारी दक्षिणतिरै हुन्थ्यो । त्यहाँका अनेक राजारजौटा परिवार नेपालको राजनीति र कुटनीतिसँग प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका हुन्थे ।

२००७ सालको क्रान्तिको सेरोफेरोमा भारतको भूमिका स्वयं बीपी कोइरालाले ‘आत्मवृतान्त’ मा स्वीकार गरेका छन् । कांग्रेस र कम्युनिष्टजस्ता पार्टीहरुको गठन भारतीय भूमिमै भएको थियो । उनीहरुले त्यहीबाट राणाविरोधी आन्दोलनका लागि शक्ति सञ्चय गरेका थिए ।

राजा त्रिभुवनको सपरिवार भारत पलायन हाम्रो इतिहासको कहिल्यै नभेटिने यथार्थ हो । राणा, शाह र पञ्चजस्ता परम्परागत शक्तिहरु यी यथार्थलाई बिर्सन खोज्छन् । ‘राष्ट्रवाद’ लाई राजनीतिक अस्तित्व रक्षाका लागि त्राण बनाएका यी शक्तिहरु त्रिभुवनको भारत पलायनलाई भने ‘प्रजातन्त्रका लागि गाधगादी बाजी लगाएको’ भ्रमपूर्ण ब्याख्या गरिरहेका हुन्छन् ।

२००७–२०१७ सालको अबधिमा त्यो भूमिका कांग्रेस नेता मातृकाप्रसाद कोइरालाले गरेका थिए । यद्यपि बीपी कोइरालासमेत यो आरोपबाट मुक्त थिएनन् । राजावादी पञ्च र कम्युनिष्टहरुले कोइरालालाई लगाउने सजिलो आरोप नै ‘भारतीय दलाल’ थियो ।

पञ्चायतको ३० वर्षे शासनकाल यो प्रवृत्तिको स्वर्णकाल बन्यो । एकातिर राजा महेन्द्रले सरदार यदुनाथ खनाललगायतका कुटनीतिज्ञहरुको प्रयोग गरेर भारतसँग भित्रभित्रै अनेक वाञ्छित, अवाञ्छित सम्झौता गरे । कालापानी, लिपुलेक क्षेत्रमा त्यही अबधिमा भारतीय सेना बस्न दिइयो, भने नेपालको नक्साबाट त्यो क्षेत्रको चुच्चो काट्न लगाइयो । तर पञ्चहरुले आफ्ना विरोधी शक्ति कांग्रेस–कम्युनिष्टलाई भने ‘भारतीय दलाल’ र ‘अराष्ट्रिय तत्व’ भन्न कहिल्यै छोडेनन् ।

पञ्चायतकालभरि दरबारले राष्ट्रवादको दुईधारे तलबार नचाइरह्यो । भारत नजिक हुनु परे सूर्यबहादुर थापालाई अघि साथ्र्यो, विरोधी देखिनु परे किर्तीनिधी विष्ट, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहजस्ता पात्रहरु अगाडि ल्याइन्थे ।

दरबारको यो रणनीतिले कुनै सार्थक परिणाम दिएन । २०४६ सालको आन्दोलनको पृष्ठभूमिमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । चन्द्र शेखर, हरकिसन सिंह सुरजितलगायतका नेताहरु आएर चाक्सीबारीको कांग्रेस सम्मेलनमा खुलेआम पञ्चायत विरोधी भाषण गरे । मरिचमान सिंह, कमल थापा र उमेशजंग थापाहरुले जगाउन खोजेको ‘राष्ट्रवादको खाँडो’ ले कुनै काम गरेन ।

अब ‘भारतीय दलाल’ हुने पालो गिरिजाप्रसाद कोइरालाको थियो । कोइरालाले ‘टनकपुर सन्धि सम्झौता हैन, समझदारी हो’ भन्दिए । नयाँ ‘एजेन्ट’ करार भए । यही क्रममा ‘माधब–केपी’ कोइरालाका नयाँ उत्तराधिकार बने । ‘एकीकृत महाकाली सन्धी’ गर्न प्रमुख भूमिका निभाएर ‘माधव–केपी’ ले कोइरालाको ट्याँगलाई फिका बनाइ दिए । उनीहरु अझ नयाँ चरणका दलाल र एजेन्टको रुपमा उदित भए । माले–एमाले विभाजनको अबधिमा उनीहरुमाथि वामदेव गौतमहरुको आरोप त्यही थियो ।

अब माओवादीहरुले कांग्रेस र एमालेविरुद्ध ‘भारतीय दलाल’ को हतियार प्रयोग गरे । तर, यो आरोपबाट न प्रचण्ड मुक्त हुन सके न बाबुराम । बरु मोहन बैद्ययलाई यो नौवत आइपरेन । जनयुद्धकालमा वैद्य भारतमा पक्राउ परे, तर प्रचण्ड–बाबुरामले अक्सर त्यही बसेर १० वर्ष लामो जनयुद्धको नेतृत्व मात्र गरेनन्, अन्ततः जनान्दोलन–२०६२÷२०६३ को आधारपात्र १२ बुँदे सम्झौतामा पनि भारतमै भयो । जनयुद्धकालमा प्रचण्ड–बाबुरामले नयाँ दिल्ली आसपासका क्षेत्रमा आश्रय लिएको तथ्य घाम जतिक्कै छर्लङ भइसक्यो ।

कुनै समय भारत विरुद्ध ‘सुरुङ युद्ध’ को धम्की दिने प्रचण्ड रुक्माङगत कटवाल प्रकरणपछि आफै थाके र यु टर्न गरे । विप्पा सम्झौतापछि बाबुरामलाई ‘भारुराम’ भन्नेहरुको कुनै कमी रहेन ।

फाइल फोटो

ओलीलाई प्रचण्डले उहिल्यै ‘कम्युनिष्ट आन्दोलनभित्रको सूर्यबहादुर थापा’ करार गरेका थिए । महाकाली सन्धीदेखि पछिल्लो चरणमा सामन्त गोयल र विजय चौथाईवालसँगको भेटघाटमा आइपुग्दा केपी ओलीबारे मानिसको मनमा अनेक आशंका नभएका हैनन् ।

तर, प्रचण्ड के चोखा छन भन्ने प्रश्न यहाँनेर उठ्छ ? हिजै ‘कम्युनिष्ट आन्दोलनभित्रको सूर्यबहादुर थापा’ करार गरिएका ओलीसंग प्रचण्डको एकता र सम्झौताको आधार के थियो ? यो कुरा कसैले बिर्सेको छैन । ‘आधाआधा प्रधानमन्त्री खाने’ स्वार्थमा ओलीसंग अबान्छित एकता गर्दै गर्दा प्रचण्डको राजनीतिक नैतिकता कहाँनेर थियो ? यो प्रश्नले उनलाई पछ्याउँन छोड्ने छैन ।

यथार्थ के हो भने नेपाल निक्कै जटिल भूराजनीति भएको देश हो । लामो खुल्ला सिमानाको कारणले नेपाल चाहेर, नचाहेर ‘भारतवेष्ठित’ वा ‘भारत आश्रित’ मुलुक जस्तो बन्न पुगेको छ । जुनसुकै जात र रंगका शासकहरु सत्तामा आए पनि यो प्रक्रिया करिब २ सय बर्षदेखि निरन्तर छ । नेपालको अर्थतन्त्र र वैदेशिक व्यापारको ठूलो हिस्सा भारत आश्रित छ ।

नेपाल–भारत सम्बन्धको भौगोलिक आयाम परिवर्तित हुने कुरै भएन । सामाजिक, साँस्कृति, आयामहरु उत्तिकै गहिरा छन । तिनीहरुलाई परिवर्तन गर्न खोज्नु प्रतित्युपादक हुन सक्दछ । बद्लिनु पर्ने भनेको आर्थिक र कुटनीतिक आयाम हो । जबसम्म यी आयामबाट नेपाल बलियो हुँदैन, नेपालको राजनीति मात्र स्वाधिन र स्वतन्त्र हुन सम्भव छैन ।

नेपालका कुनै पनि शासक, नेता र पार्टीहरुले यो पक्षबाट गम्भीर र सार्थक प्रयत्न गरेको देखिन्न । राजा महेन्द्र र पञ्चहरु बारम्बार चाइना कार्ड खेल्थे । पछिल्लो चरणमा ओली–प्रचण्ड–माधब–झलनाथ मिलेरै चाइना कार्ड खेले । कम्युनिष्टहरुको चाइना कार्ड खेल्ने तरिका शाह र पञ्चहरुको जतिको कलात्मक समेत थिएन ।

कुनै सुविचारित योजना र रणनीतिको साटो ‘भारतलाई देखाई दिने’ इगोबाट खेलिएको चाइना कार्ड, पार्टी एकता र सि जिन पिङ विचारधाराको प्रशिक्षण आल्पायुमै निधन भयो । चिनियाँ राजदुत होन्छीका दौडधुपहरु अर्थहीन बन्न पुगे ।

कुनै पनि देशको आन्तरिक राजनीतिक मामिलामा बारम्बार विदेशीलाई तान्नु राम्रो हो कि हैन ? दलाल, एजेन्ट, पालित–पोषित जस्ता शब्दहरु प्रयोग गर्नु ठीक हो वा हैन, यो प्रचलन नै आफैमा कित ठीक छ, जो आफैमा घटित हुन्छ ? त्यतातिर कसैले ध्यान दिएको छैन ।

नेपाली राजनीतिमा भारतीय संस्थापन पक्षले सबै शासन अबधि र कालखण्डमा ‘निकटवर्ती’ हरु तयार गर्ने र उनीहरुमाथि लगानी गर्ने गर्दै आएको सत्य नै हो । संसारकै तन्नम मुलुकको सर्वाधिक खर्चिलो निर्वाचन प्रणाली धान्न समेत नेपालका ठूला नेताहरु अन्यत्रको आशा गर्दछन् । अझ बलियो गुट चलाउन, गुट राजनीतिको प्रक्रियामा हावी भएर पार्टी र राज्यकब्जा गर्न चाहिने ठूलो मात्राको स्रोतसाधन देशभित्रैबाट जुट्ने सम्भावना निक्कै कम छ ।

यो यथार्थलाई नेपालका तथाकथित ठूला नेताहरुले ‘घातक अनदेखा’ गर्ने गरेका छन् । देशको अर्थतन्त्र बलियो बनाउने, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार ल्याउने भन्दा वाञ्छित÷अवाञ्छित शक्तिकेन्द्रहरुको आडमा आफूलाई शक्तिशाली बनाइ राख्ने गरेका छन् ।

निःसन्देह ओली यो प्रक्रियाबाट अछुतो छैनन् । ओलीले एमाले कब्जा गर्न समानान्तर रुपमा चलाएको मदन भण्डारी फाउन्डेसनको आर्थिक स्रोत कहिल्यै पारदर्शी गरेका छैनन् । महाकाली सन्धिपछि ओलीको निकटता कुनकुन विन्दूमा कहाँकहाँ कसरीकसरी बन्यो, राजनीतिको अन्तर्य र गुह्यमा रुचि राख्नेहरुबाट छिपेको पनि छैन ।

तर प्रश्न कहाँनेर हो भने के प्रचण्ड अछुतो छन् ? के प्रचण्डलाई यो कुरा हिजो थाहा थिएन ? पार्टी एकता गर्दा यो कुरा थाहा थिएन ? हिजो आफै ‘म अब ओलीमा विलय भए’ भनेको हैन ? प्रचण्डलाई एकाएक फेरि के त्यस्तो दिव्य ज्ञान प्राप्त भयो ? प्रचण्डले सखारेका ओली र आजका ओलीबीच अरुले कुनै भिन्नता देखेका छैनन् । मिल्दा तिनै ओली पवित्र हुने, फुट्दा तिनै ओली जुठो हुने प्रचण्डको विश्लेषण पद्धति कुनै मानेमा नैतिक हैन, त्यो षडयन्त्र सिद्धान्तको अर्को प्रयोग मात्र हो ।

पूर्वमा चाणक्य र पश्चिमा मैकियावेलीले राजनीतिमा ‘षडयन्त्र सिद्धान्त’ को औचित्यबारे उहिले नै पर्याप्त चर्चा गरेका थिए । त्यसको एउटा रणनीति के थियो भने ‘जनताको ध्यान आफ्ना कमजोरीहरुबाट अन्यत्र मोड्नु छ भने नजिकको दुश्मन देशसंग आफ्नो विरोधीलाई जोडेर’ गाली गर्नु पर्दछ । किनकी त्यसलाई पुष्टि गर्नु पर्दैन ।

नेपालको कुनै घोषित दुश्मन देश छैन । भारत नजिक भने छ । दुश्मन भने पनि, मित्र वा छिमेकी भने पनि भारत जतिकै रणनीतिक महत्वको देश नेपालका लागि अरु कुनै छैन । यहाँसम्म कि चीन पनि अग्ला हिमाल पारि छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै चर्चा, भूमिका, प्रभाव वा दुस्प्रभाव भारतकै हुन्छ । यो ओली र प्रचण्डलाई मात्र हैन, आम जनतालाई पनि थाहा छ । त्यही ‘षड्यन्त्र सिद्धान्त’ को आडमा अझै जनतालाई भ्रमित गर्न सकिन्छ भनेर सोच्नु निरर्थक हो ।

आज ओली जहाँ छन्, जुन विन्दू र भूमिकामा छन्, उनको स्थान जसरी देश र जनताका घाँडो सावित भएको छ, त्यो स्वयं ओलीको मात्र चमत्कार वा कारमत हैन, त्यसमा प्रचण्ड–माधव–झलनाथहरुको समेत भूमिका छ । उनीहरुले नबनाइकन ओली ओली बन्ने थिएनन् । प्रचण्डले जानाजान काँध नथापेको भए ओली ओली बन्ने थिएनन् । जसजसका निहित स्वार्थहरुको जोडले ओली ओली बने, त्यसको परिणाम त सबैले भोग्नै पर्छ ।

आज प्रचण्ड त्यही परिणाम भोग्दैछन् । ‘आधाआधा प्रधानमन्त्री खाने’ स्वार्थका लागि ‘कम्युनिष्ट आन्दोलनभित्रको सूर्यबहादुर थापा’ लाई संघीय लोकतान्त्रिक गणतन्त्रको सिंहासनमा पुर्याएको पीडा प्रचण्डले नभोगे कस्लो भोग्छ ? यो पीडाको पहिलो भोक्ता स्वयं प्रचण्ड नै हुन र हुनु पर्दछ । देश र जनताले पाइरहेको दुख्खको त चर्चा नै गर्नु परेन, जो जगजाहेर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय