scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाउने

एजेन्सी, १२ चैत । भारतले अबको केही महिना कोरोनाभाइरसविरूद्धको खोप निर्यातमा रोक लगाउने भएको छ । भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेको थियो ।

पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने स्रोतलाई उल्लेख गर्दै द वायरले लेखेको छ । यसअघि नै अर्डर लिइसकेकाहरूलाई खोप दिने तर नयाँ अर्डर नलिने स्रोतले बताएको छ ।

नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन् । सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो । नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन । भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले यसअघि नै ब्राजिल, मोरोक्को र साउदी अरबलाई भारतमा माग उच्च भएकाले थप भ्याक्सिन आउन ढिला हुने जानकारी गराइसकेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ५३ हजार जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये केहीलाई नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ ।

भारतमा अहिलेसम्म १ करोड १७ लाख मानिसमा कोरोना संक्रमण भएको छ तीमध्ये १ लाख ६० हजारको मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय