scheduleबिहिवारबैशाख ९ गते, २०७८

सीके राउत, विप्लव र आहुतिको नाममा

डम्बर खतिवडा

गत हप्ताका ३ दिन पश्चिम नेपालमा बिते । अहिले ‘लुम्बिनी प्रदेश’ भनिने १२ जिल्लाका साथीहरूसँग औपचारिक/अनौपचारिक भेटघाट गर्ने अवसर बन्यो । औपचारिक कार्यक्रम र भेटघाटमा हुने विचार–विमर्श काठमाडौंको भन्दा खासै फरक हुँदैनन् ।

तिनै मूलधार भनिने प्रश्नहरू बारम्बार उठ्छन् । देशको राजनीति अब कसरी जाला ? एमालेमा माधव–झलनाथ समूहको भविष्य के होला ? अदालतले फाल्गुन २३ गतेको निर्णय किन गर्‍यो ? फाल्गुन ११ को फैसलाले कमजोरी भएका ओलीको प्रतिरक्षा रणनीति त थिएन त्यो ? माओवादी केन्द्रको भविष्य के होला ? ओली–गोयल–चौथाइवाल सलुकीको अर्थ के हो ? के ओली सरकार अझै लामो जान्छ ? के माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अझै फिर्ता गर्दैन ? कांग्रेस र देउवाले नयाँ सरकार बनाउँन किन पहलकदमी नलिएको होला ? के कम्युनिष्टहरू फुटेको बेला ‘अर्ली इलेक्सन’ देउवा र कांग्रेसको प्राथमिकता हो ? जसपामा दुई धार भएकै हो ? के यो घटनाक्रम फुटसम्म पनि पुग्न सक्दछ ? आदि इत्यादी ।

यस्ता प्रश्नहरू विल्कुलै नयाँ हैनन् । ‘काठमाडौं–विमर्श’ का ‘बुटबल–विस्तार’ विस्तार मात्र हुन् । खासै रुचिका विषय हैनन् मेरा लागि । तथाकथित मूलधारका औपचारिक विमर्श मलाई जहिल्यै वैरागलाग्दा पुनरावृति अनुभूत हुन्छन् । कति सुन्नु तिनै प्रश्न, कति चर्चा गर्नु तिनै दृष्टिकोण । उस्तउस्तै तर्क, उस्तैउस्तै विश्लेषण । तथापि यी कटु सत्य हुन्, सामना गर्नै पर्छ ।

अनौपचारिक विमर्शको पाटो भने जहिल्यै रोचक हुन्छ । मानिसले कार्यक्रम हलमा गर्न नसकेका प्रश्न र अनुभूति चियाको टेबुलमा बर्ता गर्दछन् । यो प्रदेशमा ४ खाले राजनीतिक मनोविज्ञानको समिश्रण प्रष्टै पाइन्छ ।

रुकुम, रोल्पा, प्युठान र दाङतिर एक खालको मनोविज्ञान छ । माओवादी जनयुद्धबाट तीव्र प्रभावित यी क्षेत्रहरूको आफ्नै प्रकारको सोच, सवाल सरोकार र विमर्श छ । परासी, रुपन्देही र कपिलवस्तु अवधि प्रादेशिकतामा बनेका मनोविज्ञान हुन् । यी जिल्लाहरू मधेश आन्दोलनका केन्द्र थिए । ‘मधेश’ प्रदेश दुईमा ‘सीमित’ भएपछि यहाँ राजनीतिक अन्यौल र निराशको भिन्नै अध्याय सृजना भयो ।

देउखुरी, बाँके र बर्दिया थरुहट आन्दोलनका केन्द्र हुन् । रेशम चौधरीको रिहाई यी क्षेत्रहरूको मुख्य सवाल हो अहिले । बाँकी बुटबल र बुटबल आधारित मनोविज्ञान भएका जिल्लाहरू पाल्पा, गुल्मी र अर्घाखाँची । यी क्षेत्रमा अहिले पनि सत्तारुढ नेकपा ओली निकट मनोविज्ञान प्रभावी छ । तथापि यहाँको ‘कम्युनष्टि जनमत’ निरास र प्रतिरक्षात्मक पनि छ । ओली समूह होस् वा ओलीइतर कम्युनिष्ट समूहहरू विगत ३ वर्षको भारले थिलोथिलो भएका छन् । ‘कम्युनिष्टहरू गतिला हुन’ भन्ने साहस अब उनीहरूमा छैन, ‘सबै उस्तै हुन’ भनेर चित्त बुझाउनु परेको छ ।

अनौपचारिक छलफलमा यो क्षेत्रमा सीके राउत, विप्लव र आहुतिको कुरा पनि उत्तिकै उठ्दो रैछ । मधेसतिर राउतको, पूर्वजनयुद्ध प्रभावित क्षेत्रतिर विप्लव, बुटवल आसपासका ‘फ्रस्टेट’ वामपन्थी बौद्धिककर्मीहरू बीच आहुतिको ? राउत, विप्लव र आहुतिले गर्न खोजेको के हो ? उनीहरूको सोच र क्रियाकलापमा कति संगति र कति असंगति छ ? उनीहरूका प्रयास र क्रियाकलापको सीमा हो ? ती कति परसम्म जान सक्दछ वा सक्दैन ?

सीके के गर्दैछन् अचेल ? मैले बुझ्ने प्रयत्न गरेको थिए । उनले अझै राजनीतिक गतिविधि छोडेका छैनन् । मधेसी समाजको एउटा सानो हिस्साले अझै उनको कुरा सुन्दैछ । उनको तर्क र मुद्दा चाँहि के छ त ? दर्जनौसँग सोध्दा पनि कसैले प्रष्ट भन्न सकेन । उनी ‘पुराना मधेसी नेताहरू’ को विरोध गर्दछन् । मधेशमा नयाँ राजनीतिक विकल्प दिने कुरा गर्दछन् । केही युवाहरू आकर्षित छन् उनीप्रति । तर उनको राजनीतिक लक्ष्य र उद्देश्य के हो ? कसैलाई थाहा छैन ।


राउतबारे मैले पाएका उत्तरहरू छरपष्ट थिए । यदाकदा उनी ‘रङ्गभेद’ को कुरा गर्दछन् । आफूलाई ‘मण्डेला’ सँग तुलना गर्दछन् । यदाकदा उनी ‘स्वराज’ को कुरा गर्दछन्, आफूलाई ‘गान्धी’ सँग तुलना गर्दछन् । यदाकदा उनी ‘प्रत्यक्ष लोकतन्त्र’ को अभियन्ताजस्तो देखिन्छन्, ‘जनमत संग्रह’ को कुरा गर्दछन् । यी सोचहरू बीच कुनै, सेट, श्रृङ्खला र संगतिबारे भने समाज पुरै बेखबर छ ।

विप्लवबारेका सरोकार, टिप्पणी र बुझाईहरू झनै उदेकलाग्दा थिए । मान्छेहरूको कुरा सुन्दा लाग्छ कि रुकुम, रोल्पातिर विप्लवबारेको ‘रोमान्टिसिज्म’ थोरबहुत बाँकी नै थियो । प्रचण्ड–बाबुरामले अलपत्र छोडेका ‘जनयुद्धका बाँकी कार्यभारहरू’ कतै विप्लवले पुरा गर्ने त हैनन् भन्ने झिनो आशा थिएछ मानिसमा । राष्ट्रियसभा गृहमा विप्लवको निरास अनुहार देखेर, दम विनाको भाषणपछि सुनेपछि त्यो रहलपहल ‘रोमान्टिसिज्म’ पुरै तुरिएको छ । ‘एकीकृत जनक्रान्ति’ को प्रतिवद्धता मान्छेको आँखामा ‘बचकना राजनीतिज्ञको ग्ल्यामरहीन आत्मसमर्पण’ जस्तो प्रतीत भएको छ ।

आहुतिलाई बारम्बार पढ्ने, सुन्ने बुटवलेकन्द्रित बौद्धिकहरूको औसत प्रश्न थियो– के मार्क्सवाद–लेनिनवादको विकासमा उनको चिन्तनको कुनै अर्थ छ कि त्यो बौद्धिक विलास मात्र हो ? शास्त्रीय साम्यवादको चिन्तनभन्दा उनी बाहिर छन्, भित्रै छन्, नयाँ छन्, पुरानै छन्, सृजनशील छन्, रुढै छन्, संगतिपूर्ण छन् या असंगत छन् ?

राउत, विप्लव र आहुतिबारे मैले गर्ने टिप्पणीहरू स्वभाविक रुपमा पूर्वाग्रह ठानिन सक्दछ । यद्यपि फरक विचार र प्रयासहरूलाई बेलाबेला मैले निष्पक्ष, तटस्थ र साक्षीभावले सुन्ने, पढ्ने र बुझ्ने प्रयत्न पनि गर्ने गर्दछु । राउतको पृथकतावादसँग मलाई कहिल्यै कुनै विश्वास रहेन । उनको उत्थान र पतनको कथा पनि उत्तिकै क्षणिक र रहस्यमय रह्यो । आफूलाई ‘मण्डेला’ ठान्ने मान्छेलाई नेल्सन मण्डेला रङ्गभेदको विरुद्ध ३० वर्ष जेल बसेको अवश्य थाहा होला, ३ वर्ष नपुग्दै कहालिनेहरूको प्रतिबद्धताको स्तर के हो भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

सैद्धान्तिक रुपमा यो मान्न सकिन्छ कि राज्यका सीमाहरू स्थायी हैनन् । इतिहासका विभिन्न कालखण्डमा विभिन्न देशहरू बन्ने, भत्किने प्रक्रिया छ । भविष्यमा त्यो नहोला भन्न सकिन्न ।

अहिलेको नेपाल भन्नु अघि यो ५२ वटा राज्य थियो । भारत भन्ने देश बनेको ७० वर्ष मात्र हुँदैछ, जो त्य अघिका ६१५ बढी राज्यहरूको एकीकरण हो । बङ्गालादेश र पाकिस्तान इतिहासमा कहिल्यै नभएका देश हाम्रौ आँखा अगाडि बने । सिक्किम, कश्मिर र तिब्बतजस्ता हज्जारौं वर्ष लामो इतिहास भएका देश हाम्रै आँखा अगाडि हराए । सृष्टिको अनन्त प्रक्रियाा कुन कालखण्डमा के हुन्छ, त्यो दाबा गर्नु निरर्थक कुरा हो । मानिसको आयु मुश्किलले १०० वर्षको छैन, हज्जारौं वर्षको दाबी मान्छेले कसरी गर्न सक्दछ ?

तर राजनीति यदि विचार र मुद्दाप्रतिको निरन्तर प्रतिवद्धता र समर्पण हो भन्ने कसीमा हेर्ने हो भने राउतको औचित्य कहिँकतै देखिन्न । मधेशमा एउटा अर्को पार्टी बनाउनकै लागि मात्र उनले त्यत्रो मरिहत्ते गर्न जरुरी छैन ।

सन्दर्भ फरक हो तर, राष्ट्रिय सभागृहमा देखिएको बिप्लकको ‘नर्भस अनुहार’ ले उजागर गर्ने प्रश्न पनि त्यही हो । ‘महापतन’ कुनै काव्य थियो वा यथार्थ ? त्यो इतिहास बन्यो वा इतिहासको फुटनोट ? विप्लव माओवार्दी हिंसात्मक क्रियाकलापतिर उदत्त हुनु किन थियो ? यदि त्यो संगतिबद्ध ‘जनयुद्ध’ को प्रक्रियामा मात्र थिएन भने ? प्रचण्ड–बाबुरामप्रति रिस उठ्नु र साँच्चै आफैले गरेर देखाउनु फरक कुरा रहेछ भन्ने सायद अहिले विप्लवलाई गहिरो अनुभूति भएकै होला । ओली सरकारसँगको विप्लवको सम्झौता, आत्मसमर्पंण हैन, कार्यनीति मात्रै हो भनेर मान्ने हो भने पनि ‘टाइमिङ’ खै कहाँ मिल्यो ?

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

आहुतिले प्रतिरक्षा गर्न खोजेको ‘वैज्ञानिक समाजवाद’ को मुख्य समस्या मेरो विचारमा ‘स्कुलिङप्रतिको घातक मोह’ मात्र हो । त्यो विल्कुल, नयाँ, सृजनशील भनेर त आउँछ । त्यसले यथार्थको चित्रण र विश्लेषण पनि ठीकै गर्दछ, जब संश्लेषण गर्नुपर्ने हुन्छ, फेरि त्यही विन्दूमा पुग्दछ जहाँ ‘शास्त्रीय साम्यवादको भावभार’ थियो ।

कुनै पनि विचारधारा संगतिपूर्ण हुन त्यसले ५ वटा प्रश्नहरूको श्रृंखलाबद्ध (सेटमा) उत्तर दिनु पर्दछ ।
पहिलो– त्यो विचारधाराले पक्रेको दर्शन, निर्माण गर्न चाहेको राज्य र राष्ट्र के कस्तो हो ?
दोस्रो– त्यो विचारधाराको समाजशास्त्रीय चिन्तन के हो ? विद्यमान सामाजिकीलाई त्यसले कसरी बुझ्छ र त्यसको प्रतिस्थापन कस्तो समाज व्यवस्थामार्फत् गर्न चाहन्छ ?
तेस्रो– त्यो विचारधाराले कल्पना गरेको वा आदर्श मानेको राजनीतिक प्रणाली र प्रशासनिक विधि, पद्धति के कस्तो हो ?
चौथो– त्यो विचारधाराको आर्थिक चिन्तन के हो ? त्यसले निर्माण गर्न चाहेको अर्थतन्त्रको ढाँचा के हो ?
पाँचौं– त्यो विचारधाराले कस्तो मानवीय मनोविज्ञानलाई आकारित र अभ्यास गर्न चाहन्छ ? त्यसले स्थापित गर्न चाहेको आमसंस्कृति के हो ?

विप्लवको ‘एकीकृत जनक्रान्ति’ र आहुतिको ‘वैज्ञानिक समाजवादी पार्टीको घोषणापत्र’ नपढीकन मैले यी प्रश्न गरेको हैन । यी दुवै दस्तावजे मैले कम्तीमा ५/५ पटक दोहोर्‍याएको छु । कतै आफूले गल्ती पो गरेकी भनेर होसियार भएर अन्डरलाइन गर्दै पढेको छु । यी ५ प्रश्नको कसीमा यी दुवै दस्तावेजलाई हेर्दा उही निराशाबाहेक केही पनि हात लाग्दैन ।

तथापि राउत, विप्लव, आहुति– हाम्रो विद्यमान तथाकथित मूलधारभन्दा बाहिरका ‘देशका लागि केही गर्न चाहने’ राम्रा प्रतिभा भने हुन् । यिनीहरूको ‘प्रतिभाको लोभ’ अवश्य हुने नै भयो । समर्पित हृदयले बिना स्वार्थ केही नयाँ गर्न चाहनु मात्र पनि निक्कै ठूलो कुरा हो, गर्न सक्नु वा नसक्नु दोस्रो कुरा हो ।

यी ३ वटै व्यक्तित्वले केही गर्न चाहेका छन् तर, जे गर्न चाहेका छन्, त्यो उनीहरूको सोच, व्यवहार र प्रयासको सीमाबाट बिल्कुलै सम्भव छैन । ‘मौतका कुवा’ भित्र जतिसुकै जोखिमपूर्ण ढंगले सवारी कुदाए पनि त्यो कहिँ पुग्दैन, कुवाको कुवा भित्रै हुन्छ ।

यो लेखमा मेरो आग्रह हो– राउत, विप्लव र आहुतिले आफूलाई पुनर्विचार गरून् । समकालीन विश्व चेतना, परिप्रेक्ष्य र आयामबाट आफूलाई पुनर्जन्म गरुन् । उनीहरूको केही गर्न चाहने हुटहुटी र प्रतिभा देशको लागि उपयोग हुन सकोस् ।

उत्तरआधुनिक युगको समकालीन विश्व चेतना, विज्ञान प्रविधिको विकासले उत्पादन सम्बन्ध र शक्तिमा ल्याएको परिवर्तन, मानवीय आकांक्षाको बहुआयामिकता, राष्ट्रिय राज्यले सृजना गरेको सीमा, भूमण्डलीकरण, स्थानीयता र विभूमण्डलीकरणको प्रक्रिया निक्कै जटिल प्रकृतिको छ । यी पहलुहरू साथीहरूले ठानेजस्तो ‘सरल क्रान्तिको रेखा’ मा छैनन् ।

प्रतिभाहरू त्यसैखेर गएको टुलुटुलु हर्न कसलाई पो मन पर्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay