scheduleबिहिवारबैशाख ९ गते, २०७८

चीन गर्व गर्ने अवस्थामा पुगिसकेको छैन

रायन हस

अहिलेका धेरै कथाहरूले यसो भन्छन्– चीनको अकल्पनीय उदय हुँदैछ, अमेरिकाको अस्वभाविक पतन हुँदैछ । चीन विश्वव्यापी आर्थिक वृद्धिको सबैभन्दा ठूलो यन्त्र बनेको छ । सबैभन्दा ठूलो व्यापारिक राष्ट्र बनेको छ । संसारको सबैभन्दा धेरै वैदेशिक लगानीको गन्तव्य बनेको छ ।

चीनले एशिया र युरोपका धेरैजसो लगानी सम्झौताहरू ‘रोड एण्ड बेल्ट’ जस्तो एक्काइशौं शताब्दिकै सबैभन्दा ठूलो परियोजनामार्फत् मुठ्याएको छ ।

बिआरआईको प्रभाव विश्वका सबै कुनाकाप्चामा परेको छ । ‘फाइभ जी’ सूचना सञ्जालमा निगरानी प्रविधि समावेश विश्वभरि बेचिरहेको छ । यस प्रविधिबाट संवेदनशील सूचनाहरू चोर्न र विश्वमा प्रायोजित राजनीतिक विमर्श बढाउन साइबर-क्षमताको प्रयोग भइरहेको छ ।

चीनले आफ्नो आर्थिक तथा राजनीतिक भारलाई सैन्य शक्तिमार्फत् ढाकछोप गर्दैछ । आफ्ना छिमेकीहरूलाई दप्काउन नागरिक-सैन्य संयोजनहरू प्रयोग गर्दैछ । यहाँसम्मकी अष्ट्रेलिया, ताइवान, भारतजस्ता अमेरिका साझेदार राष्ट्रहरूलाई समेत तान्न खोज्दैछ । आन्तरिक मामिलामा चीनले सिनजियानदेखि हङकङसम्म जताततै क्रुरतापूर्वक दमन गरिरहेको छ। अमेरिका र अन्य लोकतान्त्रिक देशका सरकारहरूले गरेको आलोचनालाई खासै महत्व दिएको छैन ।

यस्तो कथा–पंक्तिका कथावाचकमा चिनियाँ सरकारी सञ्चारमाध्यमहरू पनि छन् । आत्मप्रसंशाका असीमित हरफहरू कोर्दै तिनीहरूले चिनियाँ सवलता र अमेरिकी अशक्तताका प्रशस्तै उदाहरणहरू पेश गरेका छन् । टेक्सासमा अमेरिकी नागरिकले बनाएको पानीमा मानव-पङ्क्ति र वासिङ्गटनमा क्यापिटोल हिलमाथिको आक्रमण र हिंसालाई उनीहरूले ‘पश्चिमा लोकतन्त्रको पतन’ भन्ने गरेका छन् ।

चिनियाँहरूले कोभिड–१९ लाई पराजित गरेको विजयोत्सव बनाएका छन्, जबकी अमेरिका र अरु पश्चिमा राष्ट्रहरूले कोरोना भाइरसलाई अझै राम्ररी नियन्त्रण गर्न सकेका छैनन् । कम्युनिष्ट पार्टीको पाँचौ विस्तारित बैठकलाई सम्वोधन गर्दै राष्ट्रपति सि जिन पिङले भनेका थिए- ‘समयको गति अहिले हाम्रो पक्षमा छ ।’ चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च अधिकारीले गत जनवरीमा घोषणा नै गरे- ‘पूर्वको उदय र पश्चिमको अस्तय आज एक आम प्रवृत्ति बनेको छ ।

अधिनायकवादी प्रणालीहरू आफ्ना सवलतालाई प्रदर्शन गर्न र कमजोरीलाई ढाकछोप गर्न त्यसै पनि खप्पिस हुन्छन् । तर वासिङ्टनका नीति-निर्माताहरूले बेइजिङले प्रस्तुत गर्ने आफ्नो छवि र सामना गरिरहेका वास्तविकताहरूबीचको भिन्नता खुट्याउन सक्नु पर्दछ ।

चीन समकालीन विश्वको दोस्रो शक्तिशाली मात्र हैन, केही दशकयता अमेरिकाको सबैभन्दा असजिलो प्रतिष्पर्धी राष्ट्र पनि हो । ठीक यतिखेर अनेक त्रुटिका बाबजुद अमेरिका–चीन सम्बन्धमा अमेरिकी शक्ति हावी हुन सक्ने पर्याप्त ठाउँ छन् । यसलाई यस्तै रहन दिनु उचित हुन्छ भनेर सोच्नु अकारण हैन । अमेरिकाले सामना गरिरहेका सबै व्यावधानभन्दा चीनले समाना गरिरहेका अप्ठ्यारा उल्लेखनीय छन् ।

शीतयुद्धकालमा आफ्नो प्रतिस्पर्धी सोभियत संघलाई अपारशक्ति र अत्याधिक बौद्धिक वैभवता भएको देशका रुपमा हेर्ने प्रवृत्तिलाई तत्कालीन रक्षामन्त्री जेम्स स्लेजिङगरले ‘दश फिट अग्लो सिन्ड्रोम’ भनेका थिए । आज अमेरिकामा फेरि त्यस्तै सिन्ड्रोमहरू देखिँदैछन् । चीनका कमजोरीतिर ध्यान नदिई यसका सवलताहरू मात्र विश्लेषण गर्न थालियो भने निःसन्देह चिन्ता उत्पन्न हुन्छ ।

चिन्ताले असुरक्षाको भावना बढाउँछ । असुरक्षाले अतिप्रतिक्रिया जनाउँछ । अतिप्रतिक्रियाले गलत निर्णयहरू गर्न प्रेरित गर्दछ । यस्तो प्रवृत्तिले अमेरिकाको प्रतिस्पर्धी क्षमतालाई कमजोर आँक्न सक्दछ । चीन नीति ठीक हुन प्रथमतः यसलाई प्रष्ट ढंगले बुझ्न सक्नु पर्दछ । चीन दशकौंदेखि अमेरिकी नीतिहरूको एकल सामना गर्ने देश हो । विश्वका विभिन्न क्षेत्रहरूमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने क्षमता चीनसँग शीतयुद्धकालमा पनि थिएन । सैन्य शक्ति, आर्थिक भार र विश्वव्यापी महत्वाकांक्षाको समिश्रणले चीनलाई शीतयुद्धकालको सोभियत संघभन्दा भिन्न बनाउँछ ।

हालैका वर्षमा चीनले आफ्नो संशोधनवादी महत्वाकांक्षालाई लुकाएको छैन । यसले अन्तर्राष्ट्रिय प्रणालीमा शक्तिको वितरण, एशियामा सुरक्षा व्यवस्था, अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका र पुनप्राप्ति, सूचनाहरूको बेरोकटोक आप्रवहन, विद्यमान उदार अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्नो अस्तित्वको समायोजन खोजेको छ । यसले आफ्नो लेनिनवादी राजनीतिक प्रणाली र राज्यनिर्देशित आर्थिक प्रणालीलाई स्वीकार्य र सम्मानयुक्त बनाउन खोजेको छ । यसले आफ्ना घरेलु मामिला र भौगोलिक सिमानाहरूमा कुनै चुनौति नआइदिओस् भन्ने चाहेको छ । यसले कृत्रिम बौद्धिकतादेखि विद्युतीय सवारी साधनसम्म उन्नत प्रविधिको विश्वनेता हुने आफ्नो राष्ट्रिय लक्ष्य घोषित गरेको छ ।

तर, चीनले आफ्ना लक्ष्यहरू प्राप्त गर्न एकलरेखीय यात्रा गर्नेछ भनेर निष्कर्ष निकाल्न भने सकिँदैन । अमेरिकी स्वार्थहरू प्रकट हुँदा चीनले सामना गर्नु पर्ने चुनौतिहरूको सही मापन गर्न बेइजिङका सवलता, कमजोरी र नाजुकताहरूको बारम्बार पुनर्मूल्यांकन हुनेछ । सि र उनको सल्लाहकारहरूले संसारका अरु मानिस जत्तिकै चुनौतिहरूको समाना गर्नु पर्नेछ ।

रायन हस

जस्तो कि चीनमा निर्वाध आर्थिक वृद्धि भइरहेको भनाई थियो । तर, यथार्थमा त्यही थुप्रै मध्यम अवधिका चुनौतिहरू सृजना भएका थिए । चीन धनी हुनुभन्दा पहिल्यै बुढो हुन सक्ने सम्भावना छ । फुस्रो समाज व्यवस्थाले आर्थिक वृद्धिलाई कुण्ठित तुल्याएका छन् । काम गर्ने उमेर समूहको जनसंख्या निक्कै पहिलेदेखि संकुचन हुन थालेको छ । सन् २०५० तिर त्यहाँ २ जना नयाँ श्रमिक श्रम बजारमा प्रवेश गर्दैगर्दा ८ जना श्रमनिवृत हुनेछन् ।

शहरी, शिक्षित र प्रविधियुक्त जनशक्तिको ठूलो हिस्साले अहिले नै उत्पादशीलताको सीमा छोइसकेको छ । चीन अहिले उत्पनशील क्षेत्रभन्दा ठूलो पूर्वाधार विकासमा लगानी गर्न उदत्त छ । यसले ऋणभार बढाउँदो छ, जो आर्थिक वृद्धिको मार्गमा अवरोध बन्न सक्ने छ । बितेको दशकमा मात्र चीनको ऋणभार दोब्बर भएको छ । सन् २००८ मा चीनको ऋण जिडिपीको १४१ प्रतिशत थियो । सन् २०१९ मा ३०० प्रतिशत पुग्यो । बढ्दो ऋणभारले यसको आर्थिक विकासको उच्चमार्ग असजिलो हुनेछ ।

राजनीतिक प्रणालीमा राज्यशक्ति सीकोवरिपरि केन्द्रित हुँदैछ । यसले राजनीतिक प्रणालीको गत्यात्मकतालाई कुन्ठित गर्न सक्दछ । उन्नत प्रविधिका लागि प्रख्यात हुँदै गएको चिनियाँ कम्युनिष्ट पार्टी लेनिनवादी कट्टरताको प्रतीक बन्दैछ । स्थानीय नीतिनिर्माणको अभ्यास साँघुरो र बेइजिङको प्रभाव देशव्यापी हुँदैछ । माथिबाट तल झर्ने पार्टी र राज्यको संचरनाले गर्दा स्थानीय अधिकारीहरू स्वयात्ततापूर्वक निर्णय लिन र सही कुरामाथि प्रतिवेदित गर्न नसक्ने भएका छन् । यही कारणले वुहानमा कोभिड–१९ को बेला जनआक्रोश निक्कै बढेको थियो ।

तर, गरिबी निवारणमा भने नेतृत्वले उल्लेखनीय सफलता पाएको छ । तर, स्थानीय अधिकारीहरूमाथि यस कार्यमा आउने थप चुनौति सामना गर्न बेइजिङको दवाव छँदैछ । बेइजिङको कठोर संहिता देशव्यापी रुपमा लागू गर्ने तीव्र आकांक्षाको कारणले सिनझियान र अन्य प्रदेशहरूमा थुप्रै समस्या ल्याएका छन् ।

चिनियाँ महत्वांकाक्षामाथि बाह्य अवरोध काम छैनन् । घरेलु मामिलामा चर्को दमन र कोरोना भाइरससम्बन्धी प्रारम्भीक सूचना लुकाउन खोजेको कारणले यसको अन्तर्राष्ट्रिय छवि राम्रो छैन । पेउ सर्वेक्षणअनुसार सन् २०२० को अक्टोबरमा चीनप्रतिको नकारात्मक विश्व धारणा सर्वाधिक उच्च विन्दूमा पुगेको छ । शिथिल अर्थतन्त्र र वृद्ध समाजको मागलाई पुरा गर्ने संघर्षमा बजेटरी अवरोध उत्पन्न भएका छन् । रणनीतिक दृष्टिकोणबाट हेर्दा चीनको क्षमता एक महाशक्तिका रुपमा आर्थिक, राजनीतिक प्रभावसहित विश्वस्तरमा शक्ति प्रक्षेपण गर्न सक्ने भएको ठान्नु अतिशयोक्ति मात्र हुनेछ ।

चीनले अनौठो र चुनौतिपूर्ण भौगोलिक सीमा सामना गर्नुपर्दछ । चीनको सीमा १४ वटा देशसँग जोडिएको छ । ती मध्ये ४ वटा आवणिक शक्ति सम्पन्न राष्ट्र छन् । ५ वटासँग सुल्झाउनै नसकिने प्रकृतिको सीमा विवाद छ । यसले बुढो हुँदै गएको धनी राष्ट्र जापानको सामना गर्नु पर्दछ । अर्कोतिर उदयमान राष्ट्रवादी देश भारत छ । पुनर्उदित हुँदै गएको रुस, प्रविधिले शक्तिसम्पन्न दक्षिण कोरिया र गतिशील र दृढनिश्चयी राष्ट्र भियतनाम छ । यी सबै देशसंग त्यस्तो राष्ट्रिय पहिचान छ जसले चीनको अधिनस्थता विरुद्ध प्रतिरोध गर्दछ । र अमेरिकाले चीन वरिपरिका धेरै देशहरूमा उनीहरूको सहमति मै सैन्य आधार शिविरहरू खडा गरेको छ ।

चीन खाद्य र उर्जा सुरक्षाको दृष्टिकोणबाट पनि नाजुक देश हो । यससंग आफ्नो जनसंख्यालाई खुवाउँन पुग्ने गरी पर्याप्त कृषियोग्य जमिनको अभाव छ । चीनले आफूलाई चाहिने तेलको झण्डै आधा मध्यपूर्वबाट आयात गर्दछ । कुनै ठूलो द्वन्द्व भइहालेमा चीनको सशस्त्र सेनाको क्षमता अत्यावश्यक आपूर्ति व्यवधान हुन नदिन पर्याप्त हुँदैन । बेइजिङले आफ्ना यस्ता कमजोरीहरू हटाउने प्रयत्न गरिरहेकै छ । तर यी मध्ये कतिपय समस्या तुरुन्तै र सजिलै समाधान हुने खालका छैनन् ।

हालैका वर्षहरूमा वासिङ्गटनका द्विविधायुक्त कठोर चीन नीतिले चिनियाँ नेतृत्वमा केही प्रवृत्तिगत धारणा निर्माण भएका छन् । चिनियाँ नेताहरू आफ्ना महत्वाकांक्षामा अझ बढी अधिर र आक्रमक भएका छन् । यसले सामाजिक सामजस्यताका लागि विचारधारा र आर्थिक विकासको साटो राष्ट्रवादको आड लिइरहेको छ । तर, अमेरिकाको चीन नीति भने चीनको बढ्दो शक्ति आतंकले निर्मित छ, जसले अमेरिकामा असुरक्षाको भावना बढाएको छ ।

आतंक भावनाबाट प्रेरित कार्यहरू रचनात्मक हुने सभावना कम हुन्छ । चीनको शक्तिले अमेरिकालाई आफूलाई बलियो बनाउँन ध्यान केन्द्रित गर्नु पर्ने स्थितिमा पुर्‍याउँछ । चीनको जोखिमलाई टार्न आन्तरिक नीतिको सुधार र सामाजिक विभाजनको प्रयोग अमेरिकाका लागि सुखदभन्दा बढी हानीकारक नै हुनेछ । त्यसको एउटा पाटो चीन विरोधी भावनालाई राजनीतिक हतियारका रुपमा प्रयोग गर्नु हो । यस्तो नीतिले देशबाहिर साझेदार राष्ट्रहरूसंग अविश्वास र विभाजन बढाउँछ । चीनको अस्तित्व नै खतरा हो भन्ने दृष्टिकोणमा सबै साझेदार देशले सहभागिता जनाउँदैनन् ।

ट्रम्प प्रशासनको व्यापार नीतिले गत्यात्मकताको यो पाटोलाई प्रष्ट प्रदर्शन गर्दछ । चिनियाँ सामानमा महशुल वृद्धिले अनुचित व्यापारिक प्रचलनहरूलाई ठाउँ दियो । यस्ता नीतिहरूले चीनमा आर्थिक सुधारका लागि पर्याप्त दबाब पनि सृजना गरेन तर अमेरिकाका लागि हानीकारक सावित भयो । व्यापार घाटा बढ्यो । अमेरिकी किसानलाई २८ विलिन डलरको जमानत दिनु पर्‍यो र २ लाख ४५ हज्जार रोजगारी गुमेको अनुमान गरियो ।

अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वासका ठोस कारण छन् । अमेरिकी अर्थतन्त्र अझै चिनियाँ अर्थतन्त्रभन्दा ७ ट्रिलियन डलर ठूलो छ । अमेरिका खाद्य र ऊर्जा सुरक्षामा निश्चिन्त छ । अमेरिकीहरू अन्य देशका तुलनामा धनी र स्वास्थ्य छन् । संसारकै सबैभन्दा राम्रो शिक्षा प्रणाली छ । विश्वकै मुख्य मुद्राहरूको राम्रो सञ्चिती छ । अमेरिकालाई शान्तिपूर्ण सीमाक्षेत्र र अनुकुल भौगोलिकताको सहजता छ ।

अर्थतन्त्र व्यवस्थापनको सीप, स्रोतहरूको उचित बाँडफाँड गर्ने प्रचलन र पुँजी पर्याप्तता छ । यी कामका लागि विश्वकै उम्दा चिन्तक र चिन्तनहरू उपलब्ध छन् । अमेरिकासँग पारदर्शी र विश्वासनीय कानुनी प्रणाली छ । आफ्ना कमजोरीहरू आफै सुधार गर्दै अघि बढ्न सक्ने दीगो राजनीतिक प्रणाली छ । यी कुनै पनि गुणहरू चीनसँग छैनन् ।

आत्मविश्वासले स्थीर, धैर्य र बुद्धिमानीपूर्ण सामनालाई सहज बनाउने छ । यसले देशभित्र र बाहिर दुबैतिरको समर्थन हासिल हुन्छ । अन्तर्राष्ट्रिय चुनौतिहरू जस्तै महामारी निगरानी सञ्जाल र कार्बनमुक्त अर्थतन्त्र निर्माण गर्न सहज हुन्छ । अमेरिकी नीतिनिर्माताहरूले सहअस्तित्वको अवधारणालाई अझै कम आँक्न हुँदैन । चीनसंगको प्रतिस्पर्धालाई समाधान गर्नुपर्ने समस्याका रुपमा हैन, व्यस्थापन गर्नुपर्ने अवस्थाका रुपमा बुझ्न पर्दछ । एक महान राष्ट्रका रुपमा आफ्नो क्षमता र साखलाई बचाउने कुरालाई हानी पुग्ने गरी कुनै अधिरता देखाउनु हुन्न ।

अमेरिका एक्काइशौं शताब्दिका चुनौतिहरूलाई सामना गर्न तयार मानसिकता भएको देश हो भन्ने आत्मविश्वासलाई जति बढी मुखरित गर्न सकिन्छ, उत्तिनै बढी उचित ठाउँमा ध्यान केन्द्रित गर्न सकिन्छ । अमेरिकाले सुस्त र कमजोर चीनको कामना गर्ने हैन, आफूलाई सुदृढ बनाउने हो । चीनसंग प्रभावकारी प्रतिस्पर्धा गर्न अमेरिकी हतियार भनेकै घरेलु गतिशिलता, अन्तर्राष्ट्रिय प्रतिष्ठा, गठबन्धन र साझेदारहरूसँग अतुलनीय विश्वसञ्जाल हो । यी नै अमेरिकी शक्तिका वास्तविक कुञ्जीहरू हुन्, जो चीनले खोसेर लान सक्दैन ।

द फोरेन अफेयर्सबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay