scheduleबिहिवारबैशाख ९ गते, २०७८

पश्चिम बंगालः चुनाव कसले जित्छ ?

बिदीशा विश्वास

पश्चिम बंगाल विधानसभाका २९४ सीटमध्ये सबैभन्दा हाइप्रोफाइल सीट नन्दीग्राम बन्न पुगेको छ । नन्दीग्राम अहिले सर्वाधिक चर्चामा छ । यहाँ मुख्यमन्त्री ममता बेनर्जी र उनका असाध्यै नजिकका सहयोगी रहेका शुभेन्दू अधिकारी आमनेसामने खडा भएका छन् ।

शुभेन्दू यसक्षेत्रका प्रभावशाली राजनीतज्ञ हुन् । सन् २०१६ मा १ लाख ३४ हजार ६३४ भोट प्राप्त गरी तृणमूल कांग्रेसको टिकटमा यो निर्वाचन क्षेत्र उनले जितेका थिए । त्यसअघि यो निर्वाचन क्षेत्र लामो समयसम्म वाम मोर्चाको पोल्टामा थियो ।

चर्चित नन्दीग्राम भूमि आन्दोलनपछि तृणमूल कांग्रेसले कब्जा जमाएको थियो । यस पटक शुभेन्दूले तृणमूल कांग्रेस छोडेका छन् । उनी निर्वाचनभन्दा अगाडि नै आफ्ना सहयोगीहरूको ठूलो संख्यासहित भाजपा प्रवेश गरे । शुभेन्दू भाजपा प्रवेश गरेसँगै बंगाल राजनीतिमा नयाँ मोड आउन सक्ने सम्भावना बढेको थियो ।

यो विधानसभा क्षेत्र कयौं कारणले अघि र कयौं कारणले पिछडिएको क्षेत्र मानिन्छ । बितेका १० वर्षमा यो क्षेत्रलाई ठूलो मात्रामा माछा उत्पादन गर्ने मत्स्यपालन क्षेत्र बनाइएको छ । किसानका खेतहरू माछापोखरीमा परिणत भएका छन् ।

रियापाडादेखि खाल नगर हुँदै अगाडि बढ्दा जताततै भरखरै खनिएका पोखरीहरू देखिन्छन् । तीमध्ये कतिपय पोखरीमा अझै पानी भरिएका छैनन्, सुख्खै देखिन्छन् । त्यस्तै एक मत्स्यपालक किसान कृष्ण दास बाटोमा भेटिए । उनले भने कि उनले पनि देखासिकी गरेर खेतमा पोखरी बनाए । अहिले राम्रै भएको छ ।

वर्षमा १० हजार मुश्किलले आमदानी नहुने एक बिगाह खेतबाट अहिले एक खेपको माछाबाटै ५० हजार आमदानी हुन थालेको छ । तर यहाँका सबै किसानहरू कृष्णदासझैं भाग्यशाली भइसकेका छैनन् । पोखरी खन्न सबैको आफ्नो जमिन छैन, जमिन भएका सबैसँग पोखरी खन्ने र माछा पाल्ने जाँगर छैन । गरिब किसान चैतन्य गुइनको आफ्नै गुनासो छ । उनी भन्छन् कि सबै किसानले पोखरी खन्ने सरकारी अनुदान सहयोग पाएका छैनन् ।

माथिमाथि पहुँच भएका धनी र शक्तिशालीहरू नै अवसर लुटेका छन् । ती पहिलेदेखि नै अधिक बढी धनी थिए । साना किसान र कृषि मजदुरको भने अहिले पनि उस्तै हालत छ ।

भागबेडिया नहरनेर बनेको पुल क्षेत्रमा अहिले शान्ति छ । यो खेजुरी क्षेत्रको सीमा इलाका पनि हो । योइलाका तृणमूल कांग्रेस र भाजपाको शक्ति प्रदर्शनको केन्द्र हो । यहाँ यी दुई पार्टीका कार्यकर्ताहरू बीच बारम्बार झडप हुने गर्दछ ।

यहाँ १५० फुटअग्लो सहिद स्तम्भ छ । सन् २००७ मा यहाँ नन्दीग्राम भूमि आन्दोलन भएको थियो । गरिब किसानको जमिन अधिग्रहण गरी उद्योगपतिहरूलाई दिने कम्युनिष्ट सरकारको प्रयास विरुद्ध किसानहरू उठेका थिए । त्यतिखेर पनि यहाँ बारम्बार तनाब र झडप हुन्थे ।

अहिले तृणमुल कांग्रेस र भाजपा कार्यकर्ताको झडपले ती दिनहरू सम्झाउने गर्दछ । मानिस तनाव र झडपलाई बिर्सन चाहन्छन् । अटो चालक सुरज दास भन्छन् कि आन्दोलनको समयमा यहाँ महिनौं बम पड्किएको थियो । गोली चलेको थियो । त्यो आन्दोलनपछि केही न केही परिवर्तन त अवश्य भयो, तर सोचेजस्तो धेरै भने हैन ।

अहिले पनि गाउँमा शुद्ध पिउने पानीको समस्या छ । रोजगार छैन । नन्दीग्राम सुपर स्पेशल अस्पतालको स्वास्थ्य सेवा नाम मात्रको छ । दासका अनुसार नन्दीग्राममा अहिले दुई दलीय राजनीतिक ध्रुवीकरण तीव्र भएको छ । दास बैष्णव सम्प्रदायका हुन् ।

उनी भन्छन् कि चुनाव जित्न अब विकासको मुद्दाले काम गर्न सकिरहेको छैन । विकासको त मुद्दा नै हराएको छ । चुनाव सायद उसैले जित्छ जसले सामाजिक तानाबनालाई आफ्नो पक्षमा पार्न सक्दछ । भाजपा प्रत्याशी शुभेन्दू अधिकारीले प्रचारलाई तीव्र पारेका छन् ।

ममता बेनर्जीलाई बाहिरिया करार गरिएका पोष्टरहरू इलाकाभरि पठाइएका छन् । शुभेन्दूलाई भने भूमिपुत्र भनिएका पोष्टरहरू व्यापक बनाइएका छन् । ममताको पुरानो निर्वाचन क्षेत्र भवानीपुर हो । उनी पहिलोपटक नन्दीग्राम विधानसभा निर्वाचन क्षेत्रमा चुनाव लड्दैछन् ।

नन्दीग्राम निर्वाचन क्षेत्रमा नामांकन गरी फर्किदा ममतालाई चोट लागेको थियो । उनीमाथि प्रायोजित आक्रमण भएको हो कि भन्ने हल्ला चलेको थियो । यो घटनालाई मानिसले दुई तरिकाले लिएका छन् । कसैले सहानुभूति देखाएका छन् भने कसैले चुनावी चाल मात्र हो भनेका छन् ।

ममताका खास सहयोगी राज्यसभा सदस्य दोला सेन र पूर्वमन्त्री पूर्णन्द्र बसु यही क्षेत्रमा डेरा जमाएर बसेका छन् ।

नन्दीग्राम निर्वाचन क्षेत्र पश्चिम बंगालको दक्षिण क्षेत्रको मिदनापुर जिल्लाको हल्दी नदी किनारामा पर्दछ । यसपटक यहाँ बढोरोचक चुनावी प्रतिस्पर्धा भइरहेको छ । शुभेन्दु अधिकारीलाई तृणमूल कांग्रेसमा हुँदा ममताको उत्तराधिकार वा भावी मुख्यमन्त्री हुनसक्ने आंकलन गरिन्थ्यो । अधिकारी परिवारका केही प्रभावशाली सदस्यहरू अहिले पनि तृणमूल कांग्रेस मै छन् । उनीहरूले यो चुनावमा कस्तो भूमिका खेल्लान् भन्ने जिज्ञासा पनि छ ।

ममताले आफ्ना भदाहा अभिशेक बेनर्जीलाई भावी उत्तराधिकारका रुपमा अघि सार्न र शुभेन्दूलाई कम महत्व दिन थालेपछि अधिकारी बाध्य भएर भाजपाका गएको मतदाता ठान्दछन् । अधिकारीप्रति पनि मतदातामा एकप्रकारको सहानुभूति देखिन्छ । तर बहालवाला मुख्यमन्त्रीसंग टक्कर लिन उनलाई सजिलो भने छैन ।

यसपटकको नन्दीग्राम विधानसभा निर्वाचन परिणामले ममता र शुभेन्दूको राजनीतिक भबिष्यलाई समेत प्रभावित गर्नेछ । कदाचित शुभेन्दूले जिते र भाजपाको बहुमत आयो भने उनी मुख्यमन्त्री हुन सक्ने अपेक्षासमेत मतदातामा देखिन्छ ।

अमर उजालाबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay