scheduleबुधवार आश्विन १३ गते, २०७८

जोहरमाथि फेरि खनिइन् कंगना, ‘कफी विद करण’बारे यसो भनिन्

काठमाडौं, १७ चैत । बलिउड नायिका कंगना रनौत बेलाबेला चर्चा र विवादमा तानिने गर्छिन् । आफ्ना विचारलाई निडर र आक्रामक शैलीले व्यक्त गर्ने नायिका भनेर समेत उनी सुपरिचित छन् ।

कंगनाले एकपटक फेरि बलिउड निर्माता तथा निर्देशक करण जोहरलाई आफ्नो अभिव्यक्तिको तारो बनाएकी छन् । मंगलबार उनले जोहरको लोकप्रिय सेलिब्रिटी शो ‘कफी विद करण’बारे तिखो आलोचना गरेकी छन् ।

नायिका सिमी गरेवालको टक शो ‘रन्देभु विद सिमी गरेवाल’को प्रशंसा गर्दै लेखिएको एक व्यक्तिको ट्विटरमाथि कमेन्ट गर्ने क्रममा कंगनाले जोहरको अन्तर्वार्ताबारे आलोचना गरेकी हुन् ।

जरघुना वाजिड नामक एकजना ट्विटर प्रयोगकर्ताले गरेवालको टक शोको प्रंशसा गर्दै लेखेका छन्-‘मैले यो शो अहिले हेरिरहेकी छु । सिमी गरेवाल अद्धितीय छन् । उनको नम्र शैलीसँग अन्तर्वार्ता लिने कुनै पनि व्यक्तिलाई तुलना गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । अन्य टक शोले आत्मा गुमाइसकेका छन् । तर उनको शो शुद्ध र मनोरञ्जनात्मक छ ।’

कंगनाले वाजिडको ट्विटरलाई रिट्विट गर्दै सिमी गरेवालको खुलेर प्रशंसा गरेकी छन् । गरेवालको टक शोले सेलिब्रिटीको वास्तविक सार झल्काउने कंगनाको भनाइ छ ।

तर कंगनाले सिमी गरेवालको मात्रै प्रशंसा गरेकी छैनन्, करण जोहरको समेत आलोचना गरेकी छन् । उनले जोहरलाई ‘पापा जो’ भन्दै जोहरले लिने अन्तर्वार्ता घृणायुक्त टिप्पणी, बुलिङ, बकवास र निराश यौनबारे मात्रै हुने बताएकी छन् ।

‘सही कुरा । सिमी गरेवालले सेलिब्रिटीको वास्तविक सारलाई उजागर गर्छिन् । विषयको पूर्ण चित्र हुन्छ । जया मासँगको कुराकानीले मलाई मेरो अनुसन्धानमा निकै सहयोग गरेको थियो तर पापा जोका सम्बन्धमा यही कुरा भन्न सकिँदैन र उनका अन्तर्वार्ता घृणायुक्त टिप्पणी (bithcing), बुलिङ (bullying), बकवास (gossip) र निराश यौन (frustrated sex) मा मात्रै केन्द्रित हुन्छन्’, कंगनाले आफ्नो ट्विटमा लेखेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय