scheduleबिहिवारबैशाख ९ गते, २०७८

मानिसको शरीरले पनि सर्पका झैं विष उत्पादन गर्न सक्छ: नयाँ अध्ययन

एजेन्सी, १७ चैत । सामान्यतया सर्पसहित केही प्राणीको शरीरमा मात्रै विष उत्पादन गर्ने क्षमता हुन्छ भन्ने हाम्रो बुझाइ छ । तर हालै गरिएको एक अध्ययनले मानिस लगायतका केही स्तनधारीको शरीरमा समेत विष उत्पादन गर्ने आणुवंशिक क्षमता हुने देखाएको छ ।
नयाँ अध्ययनले सर्पमा हुने र्‍याल ग्रन्थीको संरचना र मानिस लगायतका केही स्तनधारीमा हुने र्‍याल ग्नन्थीको संरचना समान रहेको देखाउँछ । अध्ययनमा संलग्न वैज्ञानिकले सुरुमा र्‍याल ग्रन्थीबाट नै विष उत्पादन गर्ने ग्रन्थीको विकास भएको समेत बताएका छन् ।
ओकिनावा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी तथा अष्ट्रेलियन नेशनल युनिभर्सिटीका वैज्ञानिकले गरेको नयाँ अध्ययनले सर्प र स्तनधारीको र्‍याल ग्रन्थीको आणुवंशिक संरचना समान भएको देखाएको हो ।
वैज्ञानिकले अध्ययनका क्रममा विष उत्पादन गर्ने जिनको अध्ययन गरेका थिए । सो अध्ययनबाट मानिससहित अन्य स्तनधारी र सर्पको र्‍याल ग्रन्थीबीच समानता देखिएको थियो । यस्तो समानताले कुनै समयमा मानिसले आफ्नो शरीरमा विष उत्पादन गरेको हुन सक्ने संकेत गरेको छ ।
अध्ययन अनुसार विष उत्पादन गर्ने जिनले कोषलाई प्रोटिन उत्पादन गरेर सुरक्षित राख्ने गर्छन् । यस प्रकारको रक्षात्मक आणुवंशिक संरचना सर्प, चमेरा, माकुरा जस्ता विषालु प्राणीमा मात्रै नहुने, मानिस, कुकुर तथा चिम्पान्जी लगायतका स्तनधारीमा पनि हुने तथ्य अनुसन्धानकर्ताले पत्ता लगाएका थिए ।
‘यसअघि समेत यो कुरा सही भएको भनेर कैयौं वैज्ञानिकले अमूर्त रुपमा विश्वास गरेका थिए । तर प्रारम्भिक र्‍याल ग्रन्थीबाट विषालु ग्रन्थीको विकास भएको पहिलो ठोस प्रमाण यही हो’, अध्ययनमा संलग्न एग्निश बरुवाले भने, ‘यसले विषालु मानिसका सम्बन्धमा नयाँ अर्थ दिन्छ ।’
साथै, बरुवाले कालिक्रेन्स नामक प्रोटिनप्रति संकेत गर्दै भने- ‘सारमा हामी सबैसँग याे आधारभूत जिन हुन्छ ।’ कालिक्रेन्स नामक प्रोटिनले मानिसको र्‍यालमा पाइने अन्य प्रोटिन साेस्ने गर्छ भने प्राणी जगतमा विभिन्न खाले विष उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।
त्यस्तै कालिक्रेन्स प्रोटिन निकै स्थिर हुन्छ र यही भएर उत्परिवर्तन नभइकनै आफ्नो काम गर्छ । यसको साटो, याे प्रोटिनले नयाँ र घातक क्षमता विकासलाई निरुत्साहित गर्छ । साथै यही प्रोटिनका कारण रक्त चाप एक्कासि र घातक तरिकाले घट्ने गर्छ ।
अध्ययन अनुसार समय क्रमसँगै आत्मरक्षाका लागि सर्पले मात्रै घातक विष उत्पादन गर्ने गरेको र अन्य प्राणीले कम घातक विष उत्पादनमा लागेका थिए । तर मानिसमा भने आत्मरक्षाका लागि विषको साटो भिन्न खाले प्रणाली विकास भएको थियो ।
तत्कालै मानिसको शरीरमा विष उत्पादन प्रक्रिया सक्रिय नहुने दाबी पनि अनुसन्धानले गरेको छ । तर यसले मेडिकल अनुसन्धानमा नयाँ आयाम थपेको वैज्ञानिकहरुको तर्क छ । विशेषगरी मानव शरीरमा विकास हुने तन्तुसम्बन्धी परिष्कृत बोधमार्फत् क्यान्सरसम्बन्धी अनुसन्धानमा यसले थप योगदान गर्न सक्ने उनीहरुको तर्क छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay