scheduleबिहिवारबैशाख ९ गते, २०७८

वायु प्रदूषणको दबदबा, अब के गर्ने ?

चन्द्र पौडेल

विश्वजगत २१औं शताब्दीमा प्रवेश गरे सँगसँगै वातावरण प्रदूषण, अनेकन नयाँ नयाँ प्रजातिका विभिन्न सरुवा रोगहरु आगमनसँगै बढ्दै गईरहेको छ र विश्व समुदायमा वातावरणीय प्रदूषण नै अहिले मुख्य चुनौतीको बिषय बन्न पुगेको छ ।

आजको समयमा वातावरणीय मुद्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनेको छ । हाम्रो प्रकृतिमा रहेका प्राकृतिक वस्तुहरुको अस्तित्व एवम् सन्तुलनमा आउने गडबडीले गर्दा पृथ्वीमा रहेका कुनै वस्तुहरुको अस्तित्व लोप हुने, कुनै लोप हुने अवस्थामा रहेका र कुनै भविष्यमा लाप हुने सम्भावना सिर्जना हुने अवस्थालाई वातावरण प्रदूषण भनिन्छ ।

मानव स्वास्थ्यको रक्षा र वातावरणको संरक्षण प्रत्येक नागरिक र राज्यको प्रमुख दायित्व अन्तर्गत पर्दछ । वातावरण भन्नाले हाम्रो वरिपरि रहेका जल, जमिन, हावा, पानी, वन्यजन्तु, वनस्पती, ठोस वस्तु, फोहोर मैला, वनजंगल लगायत बुझिन्छ । वातावरण एक वृहत बिषय हो जसले प्राकृतिक, सांस्कृतिक सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु तथा यिनीहरुबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ । वातावरणबाट हामीले प्रत्यक्ष लाभ गाँस बास र कपास तथा अप्रत्यक्ष अनेकन लाभ जस्तै जल चक्र, पोषण तत्वको चक्र, परागसेचन, माटो निर्माण आदि पाईरहेका हुन्छौं ।

वर्तमान परिप्रेक्ष्यमा बढ्दो जनसंख्याको चापका कारण प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरु मध्ये वायु प्रदूषण, पानी, माटो प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय समस्या आदि बढ्दै गईरहेको छ । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सकेन । अतः मानव जातिले आफ्नो भौतिक आवश्यकताहरु पुरा गर्ने क्रममा विविध खालका पूर्वाधार एवं भौतिक संरचनाले गर्दा वातावरणीय तथा वायु प्रदूषणमा प्रत्यक्ष असर परेको भन्दा फरक नपर्ला ।

चन्द्र पौडेल

वातावरणको स्वच्छता कायम राख्नका लागि मानव समुदाय जागरुक र सचेत हुनु आवश्यक रहेको छ । वातावरण संरक्षण गर्नु आज सबैको साझा दायित्व हो भन्ने भवना सबैमा जागृत हुनु आवश्यक रहेको छ । पछिल्लो समय वातावरण प्रदूषणकै कारण जलवायु परिवर्तनका विभिन्न समस्याहरु देखा परिरहेका छन् ।

यदि अहिलेकै समयमा हामीले बेवास्ता चासो दिएनौं भने यसले दिर्घकालीनरुपमा ठूलो प्रभाव पर्ने देखिन्छ । वातावरणको सिर्जना कुनै पनि मुलुकमा रहेको जीवजगत् र प्राकृतिक सम्पदाहरुको संयोगबाट नै हुने भएता पनि यसको संरक्षण र सम्वर्द्धनमा मनुष्यको महत्वपूर्ण भूमिका रहन्छ ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व हो तर हामीले त्यसको हेक्का समयमै राख्न नराख्दा अहिले विभिन्न डरलाग्ला परिणामहरुको सामना गर्नु परिरहेको छ । हावापानी दूषित भए मौसम परिवर्तन हुन गई स्वास्थ्यमा प्रतिकूल असर पर्ने, हरिया वनजंगल लगायत मरुभूमिकरण हुने, बाढीपहिरोले भूक्षय हुने, बाटोघाटो बिग्रने र सम्पूर्ण जीवनलाई नै असर पर्ने, खेतीपातीमा गलाइएका बाली नष्ट हुने, वर्षा नभई अतिवृष्टि, खण्डवृष्टि भई राज्य र विश्वलाई समेत नकारात्मक असर गर्दछ ।

वातावरण रहे मात्र हामी बाँच्न सक्दछौं भन्ने हेक्का नराखी दिनानुदिन सहरीकरण, आणविक हातहतियारको प्रयोग, विषालु रसायनहरुको प्रयोग, जथाभावी औद्योगिक कलकारखाना सञ्चालनले गर्दा मानव जातिको मात्रै नभएर पृथ्वीमा रहेका जीवजन्तु र वनस्पतिहरुको समेत नष्ट क्षणभरमै हुनसक्ने गम्भीरखालका परिवेशहरु हाम्रा सामु आइरहेका छन् ।

विशेषतः जनसंख्याको तीव्र वृद्धि, बढ्दो औद्योगिकीरण, वनस्पतिको विनाश, जैविक विविधतामा ह्रास आउनु, युद्ध तथा आणविक हातहतियारमा होडबाजी, विज्ञान र प्रविधिको विकास, ऊर्जा एवं जलस्रोतको अत्यधिक खपत र विषादि रसायनहरुको बढ्दो प्रयोग नै हो ।

हाम्रो मानव जीवनका लागि विभिन्न तत्व मध्ये वायु पनि एक हो । खाना, पानी र प्रकाश बिना मानिस केही समय बाँच्न सक्ला तर वायु विना केही मिनेट पनि बाँच्न सक्दैंन । वायु प्राकृतिक रुपमा शुद्ध हुन्छ ।

जब हाम्रो वरपर रहेको हावामा एक वा एकभन्दा बढी बाह्य तत्वहरु जस्तै हानिकारक ग्यासहरु, रासायनिक तत्वहरु र सुक्ष्म कणहरु मानव, जनावर र रुखबिरुवाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरी (निश्चित मात्रा भन्दा बढी) तब त्यसलाई हामी वायु प्रदुषण भन्दछौं ।

पछिल्लो समय देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढेको वायुमण्डलविद्हरु बताईरहेका छन् । यसर्थ, हाल देशभर वायु प्रदूषण बढेको छ । यस्तो प्रदूषणले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाउनुका साथै स्वास्थ्य व्यक्तिलाई हाच्छ्युं आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, छातीमा सङ्क्रमणको जोखिम हुने, ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीहरुलाई बढी प्रभावित पार्ने चिकित्सकहरु बताउँछन् ।

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र अल्पकालीन रणनीति निर्माण गर्नु आवश्यक छ । दीर्घकालीन रणनीतिमा निश्चित प्रतिशत सवारी साधन इलेक्ट्रिक गर्ने, उद्योग र निर्माणबाट आउने प्रदूषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागू गर्ने, जेनेरेटर लगायत तीव्र धुँवा फाल्ने कम प्रयोग गर्ने, विद्युत आपूर्ति सुनिश्चितताको जनाउने । अब बन्ने सहरमा वातावरणमैत्री ग्रीन सिटीको अवधारणा ल्याउनुपर्छ ।

जनचेतना अभिवृद्धि गर्ने, प्लास्टिकजन्य वस्तुको कम प्रयोग र प्रदूषण गर्नेलाई दण्ड सजाय गर्ने र प्रत्येक घरपरिवारले प्रदूषण नियन्त्रणका लागि उसको जिम्मेवारी बोध हुने गरी यिनीहरुको संलग्नता अनिवार्य गर्नुपर्दछ ।

यस्ता समस्या समाधानका लागि विभिन्न उपायहरु अवलम्बन गर्नुगर्ने आजको आवश्यकता रहेको छ । पृथ्वी सबैको साझा फूलबारी हो यसलाई बचाउने हामी मानव जातिले मात्र हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay