scheduleबुधवार बैशाख २९ गते, २०७८

र्‍यापर डिएमएक्सको अवस्था गम्भीर, अत्यधिक लागू ‌‌‍‍औषध सेवनले हृदयघात भएको आशंका

एजेन्सी, २२ चैत । अमेरिकी र्‍यापर एवं अभिनेता डिएमएक्सलाई हृदयघात भएको छ । हाल अस्तपालमा रहेका डिएमएक्सको अवस्था गम्भीर रहेको उनका वकिलले बताएका छन् ।

डिएमएक्सका वकिल मुरे रिचम्यानले शनिबार उनलाई हृदयघात भएको जानकारी दिएका हुन् । हृदयघात भएलगत्तै ५० वर्षीय डिएमएक्सलाई न्युयोर्कस्थित ह्वाइट प्लेन्स हस्पिटलमा लगिएको र हाल आईसियुमा राखिएका उनको अवस्था गम्भीर रहेको रिचम्यानले बताए ।

तर अत्यधिक लागू औषध सेवनका कारण डिएमएक्सलाई हृदयघात भएको हो वा होइन भनेर पुष्टि भएको छैन । रिचम्यानले समेत हृदयघातको कारण बताएका छैनन् ।

लामो समयदेखि लागू औषध सेवन गर्दै आएका डिएमएक्सले केही समययता आफ्नो लत छुटाउने प्रयास गरिरहेका थिए । लागू औषधको लत छुटाउन कै लागि उनी कैयौं पटक पुनर्स्थापना केन्द्रमा गएका थिए । यही भएर केही समाचारमा माध्यममा अत्यधिक लागू औषध सेवनका कारण डिएमएक्सलाई हृदयघात भएको हुन सक्ने बताएका छन् ।

डिएमएक्सको वास्तविक नाम अर्ल सिमन्स हो । तर उनी आफ्नो स्टेज नाम डिएमएक्स (डार्क म्यान एक्स) बाट प्रख्यात छन् । उनलाई हिपहपको आइकनको रुपमा समेत हेरिन्छ । सन् १९९० को दशकदेखि र्‍याप गाउन थालेका सिमन्सले बेली, रोमियो मस्ट डाइ, एक्जिट वुण्डस्, क्रेडल टु द ग्रेभ तथा लास्ट आवर जस्ता चलचित्रमा समेत अभिनय गरेका छन् ।

यता हृदयघात भएको समाचार बाहिर आएलगत्तै सामाजिक सञ्जालमार्फत् डिएमएक्सका फ्यानले स्वास्थ्यलाभको कामना गरेका छन् । फ्यानसँगै र्‍यापर मिसी इलिअट, रिक रोस र आइस टि लगायतका सेलिब्रिटीले उनको स्वास्थ्यलाभका लागि प्रार्थना गरेका छन् ।

डिएमएक्सका एक प्रतिनिधिले फ्यान तथा सेलिब्रिटीले देखाएको माया, सहयोग र प्रार्थनाप्रति डिएमएक्सको परिवार आभारी भएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय