scheduleबिहिवारबैशाख ९ गते, २०७८

अनुदारवादको आँधीः समकालीन विश्व व्यवस्था किन अधिनायकवादोन्मुख हुँदैछ ?

अलेक्जेन्डर कुली/डेनियल निक्सन

उदारवादी विश्व व्यवस्था अहिले अत्यन्तै अप्ठ्यारोमा छ । डोनाल्ड ट्रम्पको हारलाई उदारवादको पक्षमा सकारात्मक मान्दै स्वागत गरियो । तथापि आन्तरिक तथा बाह्य चुनौति समाप्त भएका छैनन । लोकरञ्जनवादी राजनीतिज्ञहरूले उदारवादी मूल्यमान्यता बिथोल्न विश्वव्यापी आव्हान गरिरहेकै छन् ।

उदारवादलाई उनीहरू भूमण्डलीकरण परियोजना मान्दछन् । उनीहरूको विचारमा यसले सीमित अवान्छित संभ्रान्तलाई फाइदा गर्दछ । राष्ट्रिय सार्वभौमसत्ता, परम्परागत मूल्यमान्यता र स्थानीय संस्कृतिलाई नष्ट गर्दछ । यथार्थमा अनुदारवादी तत्वहरू यस्ता तर्कहरूको आवरणमा विश्वलाई अधिनायकवादको सुरक्षित स्थल बनाउन खोज्दैछन् । विशेषतः चीन र रुसले उदारवाद विरुद्धको वैकल्पिक दृष्टिकोण अघि बढाउन आर्थिक तथा सैन्यशक्तिको प्रयोग समेत गर्दैछन् ।

मानौं कि उदार विश्व व्यवस्था अप्ठ्यारोमा छ, यसपछि कस्तो अनुदार व्यवस्था आउँछ त ? के अनुदार विश्व व्यवस्थाको अर्थ राष्ट्रवादी महाशक्तिहरूबीच शक्तिको नाङगो प्रतिस्पर्धा, संरक्षणवाद र लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको वैमनस्यता हो ? यी प्रक्रिया पहिलेदेखि नै चलायमान छन् । यी प्रवृत्तिहरू अहिले मात्र देखिएका हैनन्, एक्काइशौं शताब्दिको प्रारम्भदेखि नै विद्यमान भएका हुन् ।

केके भए विश्वव्यवस्था अनुदार हुन्छ ? उन्नाइशौं शताब्दि अघिका विश्वव्यवस्थाहरू क्षेत्रीय मामिलामा सीमित थिए । तिनले आर्थिक सहकार्यमा युद्धमामिलालाई महत्व दिन्थे । विगतका विश्वव्यवस्थाहरू असमानतामा आधारित थिए । कतिपयमा विश्व साम्राज्य स्थापनाको होड थियो । साम्राज्यवादी आक्रमण र उपनिवेशिक शासनको सार सामाजिक पदसोपानक्रममा आफूलाई श्रेष्ठ ठान्दै सभ्यताको विस्तार गर्नु थियो । अर्कोतिर नगरराज्य वा अस्थीर संघीय राज्यहरू थिए । प्राकआधुनिक युरोपमा वंश र राज्य पर्यायबाची हुन्थ्यो । कुलिन विवाह र वंश परम्परामा बनेका क्षेत्र र इलाकाहरूबीच प्रतिस्पर्धा चल्थ्यो ।

यदि हामी समकालीन विश्व व्यवस्थाको कुरा गर्दछौं भने उदारवादको विमर्शलाई पुनश्चः जोड्नु पर्ने हुन्छ । यद्यपि उदारवादको चरित्र सधै एकनासको थिएन । यो विभिन्न स्वादको थियो, अनुदारवादका गुण पनि यसैमा टाँसिएका हुन्थे । उदारवादका मुख्य ३ वटा पक्ष थिए ।

राजनीतिक क्षेत्रमा यसको विशेषतः आधारभूत मानव स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक सरकार थियो । यस्ता राज्यहरूलाई उदार लोकतान्त्रिक राज्यहरू भन्न थालियो । यस्ता लोकतान्त्रिक राज्यहरू युरोपमा विशेषतः सन् १६४८ पछि देखिन थालेका थिए ।

आर्थिक दृष्टिकोणले उदारवादको अर्थ बजार अर्थतन्त्र हो । नयाँ संस्करणको उदारवाद दोस्रो विश्वयुद्धपछि ब्रिटनउड प्रणालीद्वारा परिकल्पित गरियो, जसको मुख्य गुण, बलिया लोककल्याणकारी राज्य, मिश्रित अर्थतन्त्र र पुँजी नियन्त्रण थियो । सन् १९९० पछि नवउदारवादको लहर आयो, त्यसले निजीकरण, स्वचालित बजार, पुँजी परिचालन र सरकारका कामहरूलाई घटाउने कुरामा जोड दियो ।

उदारवादी अन्तर्देशीयता नै उदार विश्वव्यवस्था हो । यो विभिन्न सन्धि, सम्झौता, नियम, मान्यता र अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत् अभिव्यक्त हुन्छ । उदार विश्वव्यवस्थाको अर्को विशेषतः राज्यहरूको समान सार्वभौमसत्ता हो, चाहे राज्यहरू अनेक अर्थमा असमान किन नहुन । यसको ठीक विपरित अनुदारवादले भने साम्राज्यवादी अग्राधिकारलाई औपचारिक बनाउन खोज्दछ । उदारवादले लोकतन्त्रका सिद्धान्तहरू, बजारको विस्तारिकरण, लैङ्गिक समानता, वातावरण रक्षा र बहुसाँस्कृतिकतावादलाई वैश्विक सन्दर्भमा प्रवर्द्धन गर्दछ ।

सोभियत संघको पतनपछि उदार विश्वव्यवस्थाले खाली ठाउँ भर्न लामो समय लिएन । सन् १९९१ मा बार्सा सम्झौता समाप्त भयो र नेटोको विस्तार भयो । साथै उत्तरसाम्यवादी युगको महत्वाकांक्षी सहकार्य राज्यका रुपमा युरोपियन युनियन उदायो । लोकतन्त्रको विजय अवश्यम्भावी बन्दै गयो । युगोस्लाभियाका स्लोबोदान मिलोसोभिक र स्लोभाकियाका ब्लादिमिर मेसिरले पश्चिमा शक्तिहरूको सैन्य र आर्थिक दण्ड सामना गरे । विश्व आर्थिक संस्थाहरूमा पश्चिमा भूमिका बढ्यो । विश्व व्यापार संगठनजस्तो नयाँ विश्वसंस्था उदित भयो ।

उदार विश्व व्यवस्थामा यी ३ वटै पक्षसंगै हुन्छ । एक विना अर्को हुन सक्दैन । शीतयृद्धको अन्त्यले यो प्रवृत्तिलाई समन्वियत गर्न ठूलो मद्दत गरेको थियो ।

यसबीचमा अमेरिकी भूमिका अस्वभाविकरुपमा बढ्यो । अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, संस्थाहरूमा अमेरिकाले चाहेबमोजिम नियम बन्न र मूल्यमान्यता स्थापित हुन थाले । अमेरिकाले इराकमाथि हस्तक्षेप गर्‍यो । अर्कोतिर रुसले युक्रेनमाथि गरेको आक्रमणलाई भने निन्दा गर्‍यो । यस्ता प्रश्नमा दोहोरो मापदण्ड उजागर भयो ।

बितेका २० वर्षमा प्रतिउदारवादी प्रयत्नहरू उत्तिकै सक्रिय भए । चीन र रुसले पश्चिमको नक्कल र सिको गर्दै क्षेत्रीय तथा विश्व संगठनहरू बनाउन थाले । सन् २००९ मा ब्रिक्स बन्यो । सन् २००२ मा रुसले पूर्व सोभियत राज्यहरूको साझा सुरक्षा सम्झौता बनायो । सन् २०१४ मा युरेसियन क्षेत्रका लागि युरेसियन आर्थिकम मञ्च बन्यो । सन् २००१ मा चीनले साङ्घाई कोअपरेसन बनायो ।

अहिले पनि विश्वमा बहुपक्षीय सहकार्य र वैश्विक प्रशासन बलियो नै छ तर, त्यसमा अनुदारवादीहरूको भूमिका बढ्दो छ । यसको असर मानव अधिकार, राजनीतिक तथा नागरिक अधिकारमाथि पर्ने देखिन्छ । विगत २ दशकको तुलनामा सन् २०२१ सम्म आइपुग्दा विश्व झनै बहुध्रुवीय भएको पाइन्छ । सँगसँगै विश्वभरि अधिनायकवादी चिन्तन पनि बढ्दो छ ।

यस काममा चीन र रुसले सहकार्य बढाएका छन् । उनीहरूले विभिन्न विश्व संस्थामार्फत् मानवीय दृष्टिकोण र राजनीतिक व्यवहार परिवर्तनका लागि काम गर्न थालेका छन् । शीतयुद्धकालमा अमेरिकाले लामो प्रतिअभियान सञ्चालन गर्‍यो । तर, आज आएर हेर्दा उसले प्रतिध्रुव नै जन्माए छ । चीनका बिआरआई साझेदारहरूलाई अब चीनको मानव अधिकार स्थितिबारे कमै सरोकार छ ।

अलेक्जेन्डर कुली/डेनियल निक्सन

यसबीच अमेरिकाले उदार मूल्य प्रणालीमा आधारित लोकतान्त्रिक राज्यहरूलाई बढावा नदिएको हैन । जर्जियादेखि युक्रेनसम्मका पूर्वी सोभियत राज्यले नाटो निकटताको खुल्ला प्रदर्शनसहित नै त्यहाँ लोकतान्त्रिक क्रान्तिहरू गरे । अरब क्षेत्रमा पनि लोकतान्त्रिक क्रान्तिको नयाँ लहर देखिएको थियो । सन् २००० पछिको आतंकवाद विरोधी विश्व अभियान सायद लोकतन्त्रका लागि घातक थियो । त्यसले शक्तिको अतिकेन्द्रिकरण, निगरानी विस्तार, नागरिक स्वतन्त्रताको कटौती, सुरक्षा संयन्त्रहरूमा अनौपचारिक सहकार्यलाई वृद्धि गर्‍यो । यी काम उदार लोकतन्त्रका लागि उपयुक्त थिएनन् ।

दक्षिण अमेरिकामा बोलिभारियन विकल्प बलियो हुँदै गयो । भेनेजुवेलालगायत ल्यटिन अमेरिकी देशहरूले साम्राज्यवाद विरोधी नयाँ अभियान शुरु गरे । उनीहरूले अमेरिका विरोधी भावनालाई साम्राज्यवाद विरुद्धको सहकार्यका रुपमा आगाडि ल्याए । चिनियाँ नेतृत्वका संवाद मञ्चहरू ल्याटिन अमेरिका, अफ्रिका र युरोपमा सघन हुँदै गए । यस्ता मञ्चहरूले लोकतन्त्र र नागरिक अधिकारको साटो अहस्तक्षेप सिद्धान्त र आर्थिक समृद्धिको साझेदारीको सवाल बलियो बनाए ।

आर्थिक उदारीकरण अन्त्यको बहस विभूमण्डलीकरणमार्फत् अभिव्यक्त भयो । आर्थिक नीतिमा संरक्षणवाद फिर्ता भयो । ठूला र शक्तिशाली अर्थतन्त्रलाई विभक्त गर्न थालियो, ती आर्थिक प्रतिस्पर्धा, शत्रुता र व्यापार युद्धतिर प्रवृत्त भए । वित्तिय अन्तनिर्भरता खण्डित हुन थाले । ट्रम्प प्रशासनले चीनलाई हानी गर्ने उद्देश्यले चिनियाँ सरकारी कम्पनीहरूलाई चर्को शुल्क लगाउन थाल्यो । अमेरिका आफैंले उदार मूल्यमान्यतालाई हानी गर्न थाल्यो । विश्व व्यापार संगठनको सदस्य भएबापत चीनले प्राप्त गर्ने सुविधामा अंकुश लगाउन प्रयत्न भए ।

विकास सहायता तथा अनुदान जो उदार विश्वव्यवस्थाको एक मुख्य रणनीति थियो, त्यो पनि अनुदार शासक भएका देशलाई उपलब्ध गराउन थालियो । उदाहरणका लागि हंगेरीमा भिक्टर अर्बानले युरोपियन युनियनबाट ठूलो आर्थिक सहायता प्राप्त गर्दछन्, देशभित्र उनीप्रतिको भक्ति र समर्थनको एउटा कारण त्यो पनि हो । यस प्रक्रियामा चीनको सहायता रकमले केन्द्रीय भूमिका गरेको छ ।

सन् २००८ को वित्तिय संकटपछि चिनियाँ सामान युरोपको बजारमा छ्यापछ्याप्ती भए । पश्चिमा ऋणदाता देश र संस्थाबाट वित्तिय संकटको अभरमा तुरुन्तै ऋण पाउन नसकेका युरोपेली र अफ्रिकी देशहरूलाई चीनले ऋण दियो । त्यहाँ आफ्नो लगानी वृद्धि गर्‍यो । सन् २०१३ मा चीनले बिआरआई घोषणा गरेपछि लगानी बैंक नै बनायो । श्रीलंका, पाकिस्तान, ताजकिस्तान, कम्बोडियाजस्ता धेरै देशहरूका लागि आज चीन नै मुख्य ऋणदाता, लगानीकर्ता र पूर्वाधार विकास कोषको उपलब्धता बनेको छ । विभिन्न देशका अनुदार नेताहरू यसबाट पर्याप्त लाभान्वित भएका छन् ।

तथापि अझै पनि विश्वव्यवस्थाको प्रमुख चरित्र उदारवादी नै हो । आज पनि विश्व राजनीतिमा बहुपक्षीय संगठन र स्वार्थहरूको बलियो भूमिका छ । तर समस्या कहाँ छ भने शासकहरूलाई अधिनायकवादी सोचले गाँज्दै लगेको छ । अधिनायकवादी राज्यहरूले अनुदारवादी दृष्टिकोणलाई बढावा दिँदै र उदारवादलाई हानी पुर्‍याउँदैछन् ।

विश्व नागरिक समाजमा नै त्यस्ता धेरै समूह र व्यक्तिहरूको भूमिका उच्च हुँदै गइरहेको छ, जसको घोषित उद्देश्य नै उदार मूल्यमान्यता र प्रणालीको विकल्प निर्माण गर्नु हो । यस्तो बेला लोकतान्त्रिक शक्तिहरूले उदार मूल्यमान्यता र प्रणालीलाई बढावा दिनै पर्दछ । ट्रम्प प्रशासनको समयमा यो काम निक्कै कमजोर भएको थियो ।

आर्थिक उदारीकरणको विश्व प्रक्रिया निकट भविष्यमा झनै अनिश्चित देखिन्छ । अमेरिकाले चीनको ५ जी प्रविधि सेवा विस्तार अस्वीकार गर्न अन्य देशहरूलाई बाध्य गर्दैछ । विश्वव्यापी प्रविधि तथा वित्तिय सञ्जालमाथिको निर्भरता अमेरिकाको लागि हतियार बनेको छ । अन्तर्राष्ट्रिय संगठनहरूमा अमेरिकाको प्रभाव जति कमजोर हुन्छ, त्यति नै उसको व्यापार अवसर र कुटनीतिक केन्द्रमा हानी पुग्दछ । उसले आफ्ना नरम शक्ति र औजारहरू गुमाउने छ र सैन्य शक्तिमा भर पर्नु पर्ने अवस्थामा पुर्‍याउने छ । यस्तो परिबन्धभित्र अमेरिकालाई विश्व उदारवादको प्रेरक शक्ति बन्न निक्कै गाह्रो हुनेछ ।

अनुदारवाद विश्व व्यवस्था विकास गर्ने प्रयासको अर्थ उदार संस्थाहरूले आफ्नो सबै अवसर र क्षमता गुमाइसके भन्ने हैन । कुनै पनि विश्व व्यवस्था वर्चश्ववादी हुन सक्दैन । विभिन्न क्षेत्र र नीगित प्रश्नमा मतभिन्नताहरू कुनै अनौठो कुरा हैन । समकालीन उदार विश्व व्यवस्थाका थुप्रै पक्षहरूमा पर्याप्त सुधार आवश्यक छ । विशेषतः विश्व आर्थिक र घरेलु लोकतान्त्रिक संस्थाहरूले यो पक्षमा ध्यान दिनुपर्ने हुन्छ ।

द फोरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay