scheduleबुधवार आश्विन ६ गते, २०७८

प्रिमियर लिग: युनाइटेडले ब्राइटनलाई हराउँदा टोटनहाम बराबरीमा रोकियो

काठमाडौं, २३ चैत । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ ले हराएको हो ।

युनाइटेेडको जीतमा मार्कस रासफर्ड र मेसन ग्रीनवूडले १-१ गोल गरेका थिए भने ब्राइटनका ड्यानी वेलबेकले १ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने ब्राइटनले लिएको थियो । १३औं मिनेटमा वेलबेकले गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि पहिलो हाफ १-० मै सकिएको थियो ।

दोस्रो हाफको ६२औं मिनेटमा रासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए । ८३औं मिनेटमा ग्रीनवूडले गोल गरेपछि युनाइटेड खेलमा अगाडि आयो । त्यसपछि थप गोल भएनन् र युनाइटेड विजयी भयो ।

जीतसँगै युनाइटेड ३० खेलबाट ६० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने पराजित ब्राइटन ३२ अंकसहित १६औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा टोटनहाम न्युकासलसँग बराबरीमा रोकिएको छ । न्युकासलको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

२८औं मिनेटमा जोलिन्टनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए भने ३०औं र ३४औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनहामले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो ।

खेलको अन्त्यतिर ८५औं मिनेटमा जो विल्लकले गोल गर्दै न्युकासलको हार टारे । अग्रतालाई अन्त्यसम्म जोगाउन नसक्दा टोटनहामले २ अंक गुमायो ।

बराबरीपछि टोटनहाम ३० खेलबाट ४९ अंकसहित पाँचौं स्थानमा रहेको छ भने न्युकासल २९ अंकसहित १७औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय