scheduleबिहिवारबैशाख ९ गते, २०७८

सैन्य ‘कु’विरुद्ध लागेकी मिस म्यानमार भन्छिन्- ‘जेलमा हाल्ने भनेर धम्की दिन्छन्’

एजेन्सी, २३ चैत । सुन्दरी प्रतियोगितमा भाग लिले युवतीले बोलेका कुराबारे मिडियामा त्यति चर्चा हुँदैन ।

तर जब गत हप्ता मिस ग्राण्ड म्यानम्यार हान लेले आफ्नो मुलुकको सेनाबाट भइरहेको दमन, अत्याचार र हत्याबारे मुख खोलिन तब उनले भनेको कुरा विश्वभर हेडलाइन बन्न पुग्यो ।

‘अहिले मेरो देश म्यानम्यारमा कैयौ मानिस मरिरहेका छन्’, थाइल्याण्डमा आयोजित मिस ग्राण्ड इन्टरनेशनल २०२० मा बोल्दै हानले भनेकी थिइन्, ‘कृपया म्यानम्यारलाई सहयोग गर्नुहोस् । हामीलाई यतिबेला तत्काल अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ ।’

भण्डै एक महिनाअघि २२ वर्षीय हान म्यानमारको सबैभन्दा ठूलो शहर यङ्गुनमा सेनाविरुद्ध भएको प्रदर्शनमा सहभागी भएकी थिइन् ।

म्यानमारमा दुई महिनाअघि सेनाले लोकतान्त्रिक निर्वाचनलगत्तै सत्ता हातमा लिएपछि विरोध प्रदर्शन सुरु भएको थियो । सेनाको ‘कु’विरुद्ध लाखौं मानिसहरु सडकमा आएका थिए । त्यहाँ अझै पनि प्रदर्शन जारी छ ।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाउँदा हालसम्म ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । सेभ द चिल्ड्रेनका अनुसार सेनाको गोली लागेर मारिनेमध्ये ४३ जना बालबालिका छन् । गत शनिबार मात्रै सेनाको गोली लागेर एकैदिन १५४ जना मानिसको ज्यान गएको थियो ।

यही भएर यङ्गुन विश्वविद्यालयमा मनोविज्ञान पढ्दै गरेकी हानले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो देशबारे बोल्नेको हुन् । ‘म्यानमारमा पत्रकारलाई पक्राउ गरिएको छ, त्यसैले यसबारे आफ्नो आवाज उठाउने निर्णय गरेकी हुँ’, बीबीसीसँग फोनमा कुराकानी गर्दै उनले भनिन् ।

तर उनले म्यानमारको पछिल्लो अवस्थाबारे आफूले बोलेको २ मिनेट लामो भाषणका कारण सेनाले आफूलाई निगरानीमा राखेको हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरिन् । थाइल्याण्ड आउनुपूर्व नै उनले आफूलाई जोखिममा पारिसकेकी थिइन् । त्यसैले कम्तिमा आगामी ३ महिनासम्म थाइल्याण्डमा नै बस्ने निधो गरेको समेत उनले सुनाइन् ।

‘मेरा साथीहरुले म्यानमार नफर्किन भनेका छन्’, उनले भनिन् ।

सेनाविरुद्ध बोलेपछि आफ्नो र परिवारको सुरक्षाबारे आफू चिन्तित भएको समेत हानको भनाइ छ । ‘म र मेरो परिवारको सुरक्षाबारे निकै चिन्तित छु किनभने मैले सेना र म्यानमारको अवस्थाबारे धेरै बोलेकी छु’, बिबिसीसँग उनले भनिन्, ‘म्यानमारमा त्यहाँको अवस्थाबारे सीमित मात्रामा मात्रै बोल्न पाइने कुरा सबैलाई थाहा छ ।’

थाइल्याण्ड जानुपूर्व ‘कु’ विरोधी प्रदर्शनमा सहभागी हुँदै हान ले (बीचमा)

उनको त्रास निराधार छैन । किनभने गत हप्ता मात्रै म्यानमारका अधिकारीले १८ जना सेलिब्रिटी, सामाजिक सञ्जालमार्फत् प्रभाव पारिरहेका व्यक्ति र २ पत्रकारविरुद्ध ‘सुरक्षा बलका सदस्यलाई विद्रोह गर्न उक्साएको वा कर्तव्यबाट विमुख गर्ने उद्देश्य राखेको’ भन्दै पक्राउ पूर्जी जारी गरेका थिए । पक्राउ पूर्जी जारी गरिएका सबै व्यक्ति ‘कु’विरुद्ध बोलेका थिए ।

हानले आफ्नो भाषणपछि सेना वा कुनै पनि सरकारी अधिकारीले आफूलाई सम्पर्क नगरेको बताइन् । तर सामाजिक सञ्जालमार्फत् आफूलाई धम्की आइरहेको उनको भनाइ छ ।

‘म्यानम्यार आएपछि जेलले मलाई कुरेर बसेको भन्दै उनीहरुले सामाजिक सञ्जालमा धम्की दिएका छन्’, हानले भनिन् । यस्तो धम्कीपछाडि कसको हात छ भनेर आफूलाई थाहा नभए र सामाजिक सञ्जालका अधिकांश टिप्पणी सकरात्मक र समर्थनमुखी रहेको उनले बताइन् ।

सेनाले ‘कु’ गरेको पहिलो हप्तामा हानसँगै विरोध प्रदर्शनमा उत्रिएका उनका अधिकांश साथीहरु हाल जेलमा छन् । सैन्य दमनपछि झण्डै २५ सय मानिसलाई जेल हालिएको राजनीतिक बन्दीको पक्षमा वकालत गर्दै आएको एसिस्टेन्स एसोशिएसन फरु पोलिटिकल प्रिजनर्स (एएपिपी) ले बताएको छ ।

आफ्ना एकजना साथी मारिएको समेत हानले बताइन् । ‘उनले प्रदर्शन गरिरहेका थिएनन्’, उनले भनिन्, ‘उनी एक साँझ कफी पिउन बाहिर निस्केका थिए र त्यही बेला कसैले उनलाई गोली हान्यो ।’

तर हानका अनुसार उनको परिवार भने हालसम्म सुरक्षित रहेको छ । तर म्यानमारमा नियमित रुपमा इन्टरनेट अबरुद्ध हुने भएकाले परिवारका सदस्यसँग कहिलेकाहीँ मात्रै कुराकानी हुने उनले सुनाइन् ।

हानले म्यानमारी सेनाको खुलेर आलोचना गर्दै तथा ब्युटी प्याजेन्टको अफिसिइल च्यानलमा फ्यानसँगको अन्तर्वार्तामार्फत ‘क्रान्ति जित्न’ अपिल गरेकी छन् । उनको राजनीतिक टिप्पणी राजनीतिबाट टाढै रहन चाहने अन्य सुन्दरीको भन्दा निकै फरक छ ।

प्रतियोगिता सुरु हुनुपूर्व मिस ग्राण्ड कम्बोडिया लिभ चिलीले आफ्ना फ्यानलाई राजनीतिबाट टाढा रहन आग्रह गरेको थिइन् । तर बोल्ने आफ्नो कर्तव्य भएको हानले बताइन् । आङ साङ सुकी आफ्नो सबैभन्दा ठूलो प्रेरणा भएको पनि उनले सुनाइन् ।

त्यस्तै आफ्नो आवाज थप बुलन्द पार्ने समेत हानले बताइन् । ‘यो मानवताविरोधी अपराध हो, त्यसैले संयुक्त राष्ट्रसंघले तत्काल कमद चालोस् भन्ने हाम्रो चाहना छ’, उनले भनिन्, ‘हामीले हाम्रो नेता पुन: चाहन्छौं, हामीले पुन: वास्तविक लोकतन्त्र चाहन्छौं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay