scheduleबिहिवारबैशाख ९ गते, २०७८

जापानमा समयअगावै चेरी फुलेपछि वैज्ञानिकहरुले के भने ?

एजेन्सी, २४ चैत । जापानमा बसन्त ऋतु भन्दासाथ सबैको मनमा ढपक्क फुलेको चेरो अर्थात् पैयौंको तस्विर आउँछ । बसन्तको आगमनसँगै साकुरा पनि भनिने सेतो र गुलाबी चेरी फूलले जापानका शहर, गाउँ, डाँडाकाँडा र हिमाल ढपक्कै ढाकिन्छन् ।

केही दिन मात्रै ढपक्क फुल्ने चेरी फूललाई हजार वर्षभन्दा पहिलादेखि नै जापानीहरुले आदर एवं सम्मान गर्दै आएका छन् । चेरी फुलेका बेला हाँगामुनि गएर फोटो खिच्ने, रमणीय स्थलमा पिकनिक जाने र घुम्ने मानिसको भीड देखिन्छ ।

तर यस वर्षभने अन्य वर्षको भन्दा अगावै चेरी फुलेको छ । जापानमा यस वर्ष १० दिन अगावै फूल फुलेको हो । टोकियो लगायतका कतिपय ठाउँमा समयअगावै चेरी फुलेपछि केही वैज्ञानिकहरु चिन्तित समेत बनेका छन् । कतिपयले जलवायु परिवर्तनले सबैतिरको इकोसिस्टमलाई जोखिममा पारेको बताउँछन् ।

अन्न, फूल तथा महत्वपूर्ण वनस्पति समयअघि नै फुल्ने गरेको घटना जापानबाहेक अन्य मुलुकमा पनि देखिन्छ । यसले खाद्य सुरक्षा र किसानको जीविकामाथि ठूलो समस्या थपिदिएको छ । यही भएर केही मुलुकका किसानले आफूले उत्पादन गर्ने अन्नबालीमा परिवर्तन गर्न थालेका छन् ।

सन् ८१२ यताका ऐतिहासिक प्रमाण तथा डायरी संकलन गर्दै आएका एवं ओशाका प्रिफेक्चर युनिभर्सिटीका अनुसन्धानकर्ता यासुयुकी आओनोले क्योटो शहरमा मार्च २६ मा चेरी पूर्ण रुपमा फुलेको बताउँछन् । जुन १२ सय वर्षको अवधिमा सबैभन्दा चाँडो चेरी फुलेको समय हो । राजधानी टोकियोमा मार्च २२ मा चेरी फूल पूर्ण रुपमा फुलेको थियो । जुन हालसम्ममै सबैभन्दा चाँडो चेरी फुलेको दोस्रो समय हो ।

कोलम्बिया विश्वविद्यालयमा वातावरणीय विज्ञान अध्यापन गर्दै आएका लुइस जिस्काका अनुसार विश्वव्यापी मौसम बैलैमा न्यानो हुने भएका कारण समयअघि नै फूल फुलेको बताउँछन् । ‘विश्वव्यापी मौसम (तापक्रम) न्यायो हुने भएकाले बसन्त ऋतुमा समयअघि नै तुसारो परिरहेको छ र फूल पनि समयअघि नै फुलिरहेका छन्’, जिस्काले भने ।

हरेक वर्ष ढकमक्क फूल फुल्ने समय पनि परिवर्तन भइरहेको छ र फूल फुल्ने समयलाई मौसम एवं वर्षाजस्ता कुराले प्रभावित पार्छन् । तर समग्र प्रवृत्ति हेर्दा समयभन्दा पहिला नै फूल फुल्ने गरेको देखिन्छ । यासुयुकीले संकलन गरेको तथ्याङ्कले कैयौं शताब्दीसम्म क्योटो शहरमा अप्रिलको मध्यतिरमा मात्रै चेरी पूर्ण रुपमा फुल्ने गरेको देखाउँछ । तर सन् १८०० को दशकमा भने अप्रिलको सुरुमा चेरी फूल पूर्ण र ढकमक्क फुलेको थियो । अर्थात् तथ्याङ्क अनुसार विरलै मात्रै मार्चमा चेरी फुलेको देखिन्छ ।

चेरी फूल तापक्रमप्रति निकै संवेदनशी हुने र तापक्रमका कारण नै ढिलो वा चाँडो फुल्ने कुरा तय हुने यासुयुकीको भनाइ छ । ‘साकुरा फुल तापक्रमप्रति निकै संवेदनशील हुन्छ, फूल फुल्ने समयलाई केबल तापक्रमले मात्रै प्रभाव पार्न पनि सक्छ’, उनले भने, ‘सन् १८२० को दशकमा तापक्रम न्यून थियो तर हालसम्म आइपुग्दा ३.५ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको छ ।’

यासुयुकीका अनुसार यस वर्ष हिउँदमा निकै चिसो भएको तर बसन्त चाँडो सुरु भएको र अस्वभाविक रुपमा न्यानो भएकाले चेरी चाँडो फुलेको हो ।

तर चाइनिज युनिभर्सिटी अफ हङकङका पृथ्वी विज्ञानका सह-प्राध्यापक आमोस ताइले समयअघि नै फूल फुल्ने कुराले विश्वव्यापी घटना अर्थात् जलवायु परिवर्तनको सानो अंशमात्रै देखाउने बताउँछन् । जलवायु परिवर्तनले प्राकृतिक प्रणाली र राष्ट्रिय अर्थतन्त्रलाई अस्तव्यस्त बनाउने वा बनाइरहेको आमोसको भनाइ छ ।

शहरीकरण र जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुने गर्छ । शहरीकरणका कारण शहरी क्षेत्रहरु वरपरको क्षेत्रभन्दा न्यानो हुने गर्छन् । तर तापमान वृद्धिको मुख्य कारण जलवायु परिवर्तन हो र यसबाट समग्र क्षेत्र तथा विश्वमा तापक्रम बढ्छ ।

तर बेलैमा चेरी फुल्ने कुरा तस्विर खिच्नका लागि पर्यटकको भीडभाड हुने परिदृश्य मात्रै होइन । यसले समग्र इकोसिस्टममाथि दीर्घकालीन असर पार्छ भने कैयौं प्रजातिको अस्तित्व जोखिममा पर्छ ।

वनस्पति र प्राणी एकअर्कामाथि अन्तर्निभर हुन्छन् र दुबैले वातावरणीय संकेतका आधारमा आफ्नो जीवनचक्रका विभिन्न चरणलाई नियमन गर्छन् । साथै, किरा तथा अन्य जनावर पनि आफ्नो जीवन चक्रका लागि तापक्रममा निर्भर हुन्छन् । यसलाई अर्को शब्दमा भन्नुपर्दा बढी तापक्रमका कारण जीवहरुको चाँडो-चाँडो वृद्धि हुन्छ ।

‘वनस्पति, किराफट्याङ्ग्रा र अन्य जीवबीचको सम्बन्ध हजारौं-लाखौं वर्षको अवधिमा विकास भएको हो’, यासुयुकीले भने, ‘तर हालैका केही शताब्दीमा जलवायुले सबै कुरालाई भताभुङ्ग पारेको छ, यस खाले सबै सम्बन्धलाई असन्तुलित बनाएको छ ।’

सन् २००९ मा गरिएको एक अध्ययनका अनुसार जलवायु परिवर्तनको प्रभाव छल्नका लागि केही वनस्पति तथा प्राणीहरु उच्च स्थान (चिसो स्थान) तर्फ स्थानान्तरण भइसकेका छन् । तर यो प्रक्रियासँग अनुकूलन हुनका लागि इकोसिस्टमलाई कठिनाइ भइरहेको छ किनभने जलवायु परिवर्तनबाट मौसम अनुमान गर्न नसकिने अवस्थामा पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay