पुटिनले गरे झण्डै आजीवन पदमा रहने कानून पारित
एजेन्सी, २४ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म पदमा रहन पाउने भएका छन् । हाल ६८ वर्षीय पुटिन २०३६ सम्म ८३ वर्षका पुग्नेछन् । नयाँ कानूनअनुसार उनी सो समयसम्म पदमा रहन पाउनेछन् ।
आफू पदमै रहन पाउने गरी तयार पारिएको कानूनमा सोमबार हस्ताक्षर गरेका पुटिनको कार्यकाल सन् २०२४ सकिँदैछ । एक वर्षको अन्तरमा दोस्रो पल्ट गरिएको संविधान संशोधन पछि अब पुटिन थप दुई कार्यकालका लागि पदमा रहन सक्नेछन् ।
गएको वर्ष गर्मी महिनामा सार्वजनिक मतमार्फत् यो परिवर्तनलाई अनुमोदन गरिएको थियो । संविधानमा २ कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था गरिएको छ । जहाँ यसअघिका र वर्तमान कार्यकाल गणना हुने छैन ।
हाल पुटिनले रुसमा चौथो कार्यकालका लागि राष्ट्रपति बनेर देशको नेतृत्व सम्हालिरहेका छन् । समग्रमा चौथो कार्यकाल रहेपनि यो लगातारको हिसाबमा यो दोस्रो कार्यकाल हो ।
नयाँ कानूनले विदेशी नागरिकता बाहकलाई क्रेमलिनको प्रमुख बन्न रोक लगाउने व्यवस्था थपिएको छ ।