शुक्रबारदेखि सुरु हुने आईपिएलमाथि कोरोनाको छाँया, अन्यौलमा सरोकारवाला
एजेन्सी, २५ चैत । भारतीय क्रिकेट बोर्ड एवं यसअन्तर्गतको इन्डियन प्रिमियर लिग (आईपिएल)का सरोकारवालाले यति बेला कोरोना भाइरसका कारण निकै ठूलो चुनौती सामना गरिरहेका छन् ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार आईपिएलको १४ औं संस्करण २ दिनपछि सुरु हुँदैछ । शुक्रबारदेखि सुरु हुने भनिएका सबै खेल कोरोना भाइरसका कारण स्थगित हुने हुन् कि भन्ने चिन्ताले सबै सरोकारवाला, शुभचिन्तक र खेलप्रेमीलाई लपेटेको छ ।
तालिका अनुसार चेन्नेइको चिदाम्बरम क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंङलोरबीच उद्घाटन खेल हुनेछ ।
खेलाडीदेखि, आईपिएलका अधिकारी, रेफ्री, सम्बन्धित कर्मचारी एवं परामर्शदाता भारतका विभिन्न खेलस्थलतर्फ जाने क्रमले तीव्रता पाएको छ ।
तर तोकिएकै मितिदेखि आईपिएल सुरु होला वा स्थगित होला भन्ने यतिबेलाको प्रमुख प्रश्न बनेको छ । किनभने तमिलनाडुसहित विभिन्न राज्यमा कोभिडबाट संक्रमित हुनेको सख्या दिनदिनै बढिरहेको छ ।
दिल्लीको खेल मैदानमा पूर्वसावधानी अपनाइसकिएको छ । अप्रिल २८ देखि दिल्लीको मैदानमा हुने केही खेल हुनेछन् तर त्यहाँको डिस्ट्रिक क्रिकेट एशोशिएसनले अप्रिल १० देखि खेल मैदान बन्द गर्ने घोषणा गरेको छ ।
त्यस्तै, मुम्बई कोभिढ-१९ को मुख्य केन्द्र बनिरहेको छ । त्यही भएर क्रिकेट बोर्डले मुम्बईको साटो युएईमा खेल खेलाउनेबारे समेत सोचिरहेको बताइन्छ ।
यही भएर निर्धारित समय तालिका अनुसार नै खेल सुरु वा स्थगित हुने भन्नेबारे सरोकारवालासहित सबैजना अन्यौलमा छन् ।