scheduleबुधवारबैशाख ८ गते, २०७८

कांग्रेस र माओवादीको विरोधपछि संसदको कार्यसूचीबाट हट्यो सूचना प्रविधि विधेयक

काठमाडौं, २७ चैत । प्रतिनिधिसभाको बैठकमा बिहीबार पेस गर्ने भनिएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्यसूचीबाट हटेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि उक्त कार्यसूचिबाट हटाइएको हो । प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुई दलले विरोध गरेका हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्ने उल्लेख गरिएको थियो ।

१३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । विकास समितिबाट यो विधेयक पारित भएको १५ महिना नाघिसकेको छ ।

समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने सांसद रामबहादुर विष्टको भनाइ छ । आज संसदमा पेस हुन लागेको विधेयकको प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गर्न बन्देज लगाइने उल्लेख छ ।

अन्यथा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने जस्ता कडा प्रावधान राखिएका छन् । विधेयकको प्रतिवेदन अनुसार राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने लगायतका व्यवस्था गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay