scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

चरम दक्षिणपन्थ र उग्र वामपन्थ दुवैको लक्ष्य एउटै हुन्छ

रामचन्द्र गुहा

अहिले म ब्रिटिस नारीवादी तथा शिक्षाविद डोरा रसेलका संस्मरण पढ्दैछु । यी संस्मरण ३ खण्डमा प्रकाशित थिए । मैले अहिलेसम्म पहिलो खण्ड मात्र पढ्न भ्याएको छु ।

यसमा एडबार्डियन इङग्ल्याण्डमा उनको परिवेश, क्याम्ब्रिजमा उनको शिक्षा, लैङिगक समानताबारे उनको दृष्टिकोणको विकासक्रम, उनीद्वारा स्थापित एक प्रयोगात्मक विद्यालय तथा उनले विवादास्पद दार्शनिक बट्र्रेड रसेलसँग विवाह गरेर बिताएका वर्षहरू समाहित गरिएका छन् ।

उनको पुस्ताका अन्य कयौं मानिस जस्तै डोरा रसेल पनि बोल्सेभिक क्रान्तिबाट प्रभावित थिइन् । यो क्रान्ति त्यतिखेर भएको थियो, जब डोराको उमेर २०–२२ वर्षको थियो । क्रान्ति भट्किने बित्तिकै उनले रुसको भ्रमण गरेकी थिइन् ताकी क्रान्तिका घटनाक्रमहरूको प्रभाव सिधै अध्ययन गर्न सकियोस् ।

सन् १९१८–१९ तिरका अतिउत्साही बोल्शेभिकहरूसँग कुराकानी गर्दा डोरालाई मध्ययुगीन इसाई धर्मशास्त्रीहरूको याद आयो, जसले सम्पूर्ण ब्रह्माण्डको सपना देखेका थिए, यो आशामा कि यसको रचना ईश्वरले गर्नेछन् ।

ती धार्मिक कल्पनाजिवीजस्तै, जस्तो कि डोराले लेखेकी छन्– यी मान्छेहरू रुसमा ब्रह्माडका वास्तुकारको नक्कल गर्दैछन् । जसरी ती महान समयविधाताले ग्रहहरूको गति स्थापित गरेका थिए, त्यसरी नै बोल्सेभिकहरू नयाँ समाजको मार्गचित्र रचना गर्दै थिए ।

उनीहरू यस्तो औद्योगिक रणनीति बनाउँदै थिए जहाँ प्रत्येक स्त्री र पुरुषले समान काम र योगदान गर्नेछन् । उनीहरूको अपेक्षा थियो कि एकपटक गति समात्न मात्र बाँकी हो, त्यसपछि नयाँ तर्कसंगत समाज व्यवस्था आफैं चल्न थाल्ने छ ।

सोभियत रुसको कुराकानीमा डोराले बोल्सेभिकहरूमा भयानक मतान्धता देखिन् । यसबाट उनी केही प्रभावित र केही हैरान भइनँ ।

उनले लेखेकी छन्– यस्तो देखिन्छ कि भविष्यमा साम्यवादी राज्य स्थापनाका लागि साम्यवादी शिक्षा अनिवार्य हुन सक्दछ तर मलाई यो एक नराम्रो कुरा लाग्यो । किनकी यसमा रचनात्मकताको साटो घृणा र उग्रवादको अपिल आवेग र उन्मादको तरिकाले गरिंदैछ । यसले मान्छेको स्वतन्त्र समझलाई रोक लगाउँछ र ध्वस्त गर्दछ ।

रामचन्द्र गुहा

डोरा रसेलको एक दशकपछि कवि रविन्द्रनाथ टैगोर सोभियत रुसको यात्रामा गए । त्यहाँ उनीहरु दुई हप्ता बसेका थिए । यस दौरानमा उनी विद्यालय र कारखानाहरूमा गए । विभिन्न वर्ग र तप्काका मानिससँग कुराकानी गरे ।

फर्किनुभन्दा केहीबेर अघि उनको पार्टी पत्रिका इज्वेस्तियासँग साक्षात्कार भयो । सोभियतहरूले जुन अद्भूत सघनताका साथ शिक्षाको विस्तार गरेका थिए, त्यसको टैगोरले प्रसंशा गरे । साथसाथै उनले एउटा चेतावनी पनि दिए ।

उनले उल्टै सोधे– तपाईहरू नै भन्नुस्, तपाईहरूको प्रशिक्षणमा जसरी ती मानिसप्रति वर्गीय घृणा, आक्रोश र बदलाको भावना भड्काउन खोजिन्छ, यसो गरेर तपाईहरू आफ्नो विचारधाराको भलो गर्दै हुनुहुन्छ वा आफ्ना दुश्मनलाई पन्छाउने वातावरण बनाउँदै हुनुहुन्छ ? जसले तपाईहरूको विचारधारालाई आफ्नो ठान्दैनन्, तिनीहरूलाई तपाईहरू दुश्मन भन्नु हुन्छ, के ति मानिसहरू जो तपाइँहरूको विचारधारासँग सहमत छैनन् ति मानवताको परिभाषाभित्र पर्दैनन् ?

टैगोरको विचारमा कुनै पनि परिपक्क राजनीतिक व्यवस्थाले असहमतिलाई स्वीकार गर्दछ । त्यस्तो व्यवस्थामा मानव मनको स्वतन्त्रता हुने अनुमति दिइन्छ । यदि दवाव बनाएर सबै मानिसको विचार उस्तै बनाइयो भने पनि त्यो केवल अरुचिकर मात्र हुँदैन, बरु त्यो यान्त्रिक नियमनबाट चलेको निर्जिव दुनियाँजस्तो बन्न पुग्दछ ।

यदि कसैको मिसनसँग यावत मानवता समाहित हुन्छ भने मतभिन्नतालाई स्वीकार गर्नै पर्दछ । बौद्धिक क्षमताको मुक्त प्रवाह र नैतिक प्रोत्साहनले विचार निरन्तर बद्लिने, पुनश्चः बद्लिने गर्दछ । हिंसा अन्धमूर्खताको कारण हुने गर्दछ । सत्यलाई स्वीकार गर्न मनको स्वतन्त्रता जरुरी हुन्छ । आतंकले यसलाई निरासाजनक ढंगले नष्ट गर्दछ ।

म फेरि डोरा रसेलमै फर्किन चाहन्छु । सोभियत संघबाट फर्किएको केही वर्षपछि उनी चीन गइन् । त्यहाँ उनले भरखरै बनेको कम्युनिष्ट पार्टीका नयाँ छिमलसँग कुरा गरिन् । उनीहरूको कट्टरता र उत्कण्ठा उनीहरूका रुसी कमरेडहरूको भन्दा कम थिएन ।

सन् १९२१ को जनवरीमा बेइजिङबाट आफ्ना एक मित्रलाई चिठ्ठी लेख्दै डोराले टिप्पणी गरेकी थिइन्– ‘विचारकहरूमा साम्यवादलाई सत्तामा ल्याउने दृष्टिकोण हुन सक्दछ तर रुस र चीन दुवै देशमा यो धर्मभन्दा कम कट्टर छैन । धर्मको रुपमा उनीलाई यो फाइदा हुन सक्दछ कि यसले मानिसलाई एकठ राख्न मद्दत गर्दछ । एक समुदाय वा झुन्ड बनेर रहने भावना पैदा गर्दछ ।’

विशेष रुपमा हाम्रो देशको समकालीन इतिहासलाई हेर्दा यो लाग्दछ कि कट्टर दक्षिणपन्थ र कट्टर वामपन्थ बीच थुप्रै साझा गुण हुन्छन् । यी दुवैको सोच हुन्छ साधन जस्तो सुकै होस्, लक्ष्य अन्तिम कुरा हो ।

जस्तो कि दुवैको यो सोच हुन्छ कि सत्तारुढ नेताहरूले कर्मचारीतन्त्र र न्यायपालिकालाई कब्जा गर्नु पर्दछ । राज्यसँग त्यस्तो अधिकार हुनु पर्दछ भन्ने ठानिन्छ जसले कस्तो उपन्यास लेख्ने, कस्तो गीत गाउने, कस्तो नारा लगाउने, कस्तो नलगाउने समेत नियमन र नियन्त्रण गर्न सकोस् ।

कट्टर दक्षिणपन्थले विज्ञानलाई नकार्दछ । आफूलाई धर्मका रहस्यमय र अतार्किक तत्वहरूद्वारा निर्देशित गर्दछ । फ्रान्सेली इतिहासकार फ्रान्कोइस फ्यूरेले दक्षिणपन्थी र वामपन्थी निरंकुशताका समानताहरू आफ्नो किताब ‘द पासिङ अफ एन इल्युजन’ मा बढो राम्रो दर्ज गरेका छन् ।

फ्युरेले लेखेका छन्– ‘राष्ट्रिय समाजवादीहरू सोभियतहरू जस्तै थिए । त्यहाँ निरन्तरको एकताको उत्सव हुन्थ्यो । त्यसको पुष्टि गर्ने आधार भने सार्वजनिक वैचारिक घोषणाहरू हुन्थे । राष्ट्रिय समाजवादीहरूको सर्वोच्च रुप उसका नेता फ्युहररको छवी थियो । यसले रहेक नागरिकलाई अनिवार्य रुपमा राज्य–पार्टीको अंग बनाउँथ्यो । त्यसभन्दा बाहिरका सबै मानिस शत्रु मानिन्थे, त्यसको अर्थ सोभियतहरूका लागि बुर्जुवा र राष्ट्रिय समाजवादीहरूका लागि यहुदी हुन्थ्यो । यी सबै शत्रु हरबखत राज्यको निगानीमा हुन्थे र सत्ता एक शाश्वत सत्य सावित हुन्थ्यो ।’

फ्युरेले लेखेका छन् कि फासीवादलाई जस्तै साम्यवादलाई पनि हिंसा र अनैतिकता लक्ष्य हासिल गर्ने साधनका रुपमा स्वीकार्य थियो । कुरा कति मात्र थियो भने त्यसले उनीहरूको राजनीतिक प्रभुत्व कायम गर्न मद्धत गर्नु पर्दथ्यो । लेनिन हुन वा हिटलर, दुवै आफ्ना साथी वा नागरिकलाई उत्तिकै सजिलो गरी मार्न सक्दथे जसरी युद्धमा शत्रुलाई मारिन्छ । यसका लागि यति चाहिँ हुन पर्दथ्यो कि त्यो मानिस बुर्जुवा बर्ग वा विपक्षी पार्टीमा लागेको हुनु पर्दथ्यो ।

फ्युरेको किताब युरोपको आन्तरिक युद्धमा केन्द्रित छ । तसर्थ उनले लेनिन र हिटलरको उल्लेख गरेका छन् । युद्धोत्तर एशियामा कोइ भविष्यको इतिहासकारले चीनमा साम्यवादको उदय र भारतमा हिन्दुत्ववादी सर्वसत्तावादीहरूको उदयबारे यस्तै समानता देखाउन सक्दछ । खास गरेर लेनिन र हिटलरको जस्तै माओ र मोदीको मनुष्योत्तर छवीबारे लेख्न सक्दछ ।

फ्युरे कहिल्यै भारत आएनन् । सायद उनले यो देशको इतिहासबारे पनि कमै पढे । तर मैले उनको किताबका जुन अंशहरूको उल्लेख गरे ती भारतको भविष्यको पूर्वाभास जस्तो लाग्दछ । माओको अधिनमा साम्यवादी चीनमा जस्तै मोदीको नेतृत्वमा भाजपा एक पार्टी व्यवस्था कायम गर्न चाहन्छ । यसैका लागि महान र कहिल्यै गल्ती नगर्ने नेताको छवि कल्पना गरिएको छ ।

विपक्षी दलहरूलाई भयभित गरिएको छ । राष्ट्रद्रोही वा विरोधी भन्दै उनीहरूको आलोचना गरिएको छ । यहाँ यस्तो पनि दाबी गरिन्छ कि प्रधानमन्त्रीको हत्या गर्ने षडयन्त्र गरिँदैछ । अझ दुःखको कुरा– भारतीय मुस्लिम समुदायलाई त्यसरी नै आतंकित गरिएको छ जसरी माओले चीनमा गैरहानहरूलाई आतंकित गरेका थिए ।

वामपन्थी हुन वा दक्षिणपन्थी दुवैले यो स्वीकार गर्दैनन् कि उनीहरूका बीचमा समानताहरू छन् तर यथार्थमा समानताहरू काफी छन् । डोरा रसेलका माथिका पंक्तिहरू फेरि एकपटक याद गरौं त– यहाँ साम्यवादको साटो हिन्दुत्व देखिन्छ, फरक यत्ति हो ।

अमर उजालाबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय