scheduleमगलवार आश्विन ५ गते, २०७८

अलिबाबाले झण्डै ३ खर्ब जरिवाना बुझायो

एजेन्सी, २८ चैत । चीनले बहुराष्ट्रिय कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको भन्दै २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरेको छ ।

चिनियाँ अधिकारीहरुले एकाधिकारीसम्बन्धी नियमहरु उल्लघंन गरेको आरोपमा ई-कमर्सको क्षेत्रमा शक्तिशाली कम्पनी अलिबाबामाथि २ अर्ब ७५ करोड अर्थात् करिब ३ खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना लगाएका हुन् । जुन रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको हालसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।

यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो ।

अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर) ले गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानपछि अलिबाबाले चीनको एन्टी-मोनोपोली अर्थात् एकाधिकारसम्बन्धी कानुन उल्लंघन गरेको पाइएपछि उक्त जरिवाना गरिएको हो ।

अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टल हो । चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गत अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिको आलोचना गरेका थिए । त्यसपछि सरकारी निकायले उनी र उनीका व्यवसायलाई तारो बनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय