scheduleसोमवार आश्विन ११ गते, २०७८

हारसर बाँसघरमा मधेस मन्थन

डम्बर खतिवडा

जनकपुर–ढल्केबर सडकमै पर्छ– रामदैया चोक । मूल शहरभन्दा केही किमी उत्तर । रामदैया चोकबाट थोरै पूर्व लागेपछि कमलाको पुरानो नहर भेटिन्छ । देशकै सबैभन्दा ठूलो चतरा नहर छेउछाउको बासिन्दा भएको हुँदा प्रथम दृष्टिमै म नहरको हालत अनुमान गर्न सक्छु । नहर–प्रणालीसँग मेरो जीवनको ठूलो अंश जोडिएको छ ।

लाग्छ– नहर वर्षौदेखि मर्मतसंभार भएको छैन । पानी बग्ने भाग झोरिएको छैन । पानी थुन्ने ढोका, इनलेट र आउटलेटका प्रणालीहरू जर्जर देखिन्छन् । तर, जसोतसो एक भङ्गालको पानी भने अझै बग्दैछ । हिउँदको पानी स्वभावैले नीलो छ । नहरमा बग्ने नीलो पानीले त्यसै पनि मलाई ‘नोस्टाल्जिक’ बनाउँछ ।

बाल्यकालको एउटा महत्वपूर्ण हिस्सा थियो– हिउँदमा नीलो र चिसो पानीका नहरहरूमा पौडी खेल्नु । मनमौजी नुहाउनु । नदीहरूमा पौडी खेल्न भिन्नै प्रकारको जोखिम हुन्छ । नदीहरू कही उचा, कहिनेर गहिरा, कहीनेर जाम र कहिनेर धारिला हुन्छन् । नहरमा पानीको सतह भने लगभग एकनाशको हुन्छ ।

नहर डिलको ग्राभेल सडक हुँदै थोरै उत्तर हान्निएपछि भेटिन्छ– हारसर । हारसर गाउँ पुग्दा नपुग्दा तराई–मधेशको गाउँका अनेक झलक र संस्कृतिको हरक आइसक्छ ।

बाटो नै छेक्ने गरी गाउँमा ठूलो भोज हुँदैछ । ड्राइभर भाइ भन्छन् कि यो भोज लाग्न थालेको यहाँ ३ दिन भइसक्यो । मधेशमा ‘हजारिया भोज’ हरूको प्रचल नयाँ हैन । कुनै भोजमा पुरै गाउँ, कुनै भोजमा ३ गाउँ, कुनै भोजमा ७ गाउँ, कुनै भोजमा मान्छे गनेर हज्जार जनालाई खुवाउनु पर्ने हुन्छ । यस्ता भोजहरू एक दिनमा पुरा हुँदैनन् ।

गाउँहरू अझै पनि पर्याप्त आधुनिकीकरण भएका छैन । इट्टाका केही पक्का घरहरूलाई छोडेर बस्तीहरू अझै पनि उस्तैउस्तै छन्, जस्तो कि मैले करिब ४५ वर्ष अघि देखि तराई–मधेसका गाउँ सम्झिन्छु । खुचुमुच्च घरहरू, बाटोमा गाइवस्तु सार्ने प्रचलन, त्यसका लागि बाटोमै गाडिएका किला र राखिएका कुटी, घाँसपराल वा ढुँटो खुवाउँने डुँडहरू । अँ, पहिले खबटा, टाली वा फुसका छानोहरू धेरै हुन्थे । अचेल छानो भने जस्तापाताका धेरै लाग्न थालेका छन् ।

हारसरमा नयाँनयाँ मान्छे पुगिरहेका हुन्छन् । कारण हो– बाँसघर तालिम केन्द्र । साइनबोर्डमा ‘जीवन केन्द्र’ लेखिएको छ त्यसको । अंग्रेजीमा ‘स्कुल अफ लाइफ’ । तर, मलाई भने यसलाई ‘बाँसघर’ भन्न मन लाग्यो । गाउँलेहरू उसै पनि ‘बाँसवाला तालिम केन्द्र’ भन्दा रहेछन् । तालिम केन्द्रका व्यवस्थाकसँग परिचय गरेको थिए, नाम बिर्सिए अहिले । अधवैशे उमेरका जुँघा पालेका ती मानिस बढो भद्र थिए । कार्यक्रममा आएका सहभागीहरूका गुनासो सुन्न र माग पुरा गर्न सर्वथा तल्लिन थिए ।

सन् २०१० मा शुरुवात भएको रहेछ, यो तालिम केन्द्र । डेनिडाको सहयोगमा । बन्न मात्र ३ वर्ष लाग्यो रे । बाँसैबासको ट्रेनिङ हल, बाँसैबासको अफिस घर, बाँसकै खाँबा, बाँसकै चिम फुटाएर त्यसमाथिबाट खवटाको छानो । करिब डेढ बिगाह क्षेत्रफल ।

बीचमा वर्षौ पुरानो लाग्ने पिपलको बोट । मानौं कि यज्ञबल्क, गार्गी र मैत्रेयीहरूले गर्मीमा शितल तापेको रुख हो यो । वरिपरि करिब १ सय मानिसलाई आवास पुग्ने गरी बाँसेघरहरू । आवास घर निर्माणको आफ्नै शैली । आफ्नै खालको पर्यावरण, आफ्नै खालको माहौल ।

हारसरमा चैत्र २२–२६ गते ५ दिने प्रादेशिक प्रशिक्षण कार्यक्रम थियो, जनता समाजवादी पार्टीको । प्रदेश २ को नाम ‘मधेस’ राख्न अझै हिचकिचाइरहेका छन्, कांग्रेस–कम्युनिष्टहरू । उनीहरूको अनिश्चय, अन्यौलको कारण के हो, त्यति बुझिने खालको छैन ।

जसपा एक्लैसँग दुईतिहाई छैन नामाकरण गर्न । सामान्य बहुमत छ सरकार चलाउन पुग्ने मात्र । प्रदेशको औपचारिक नामाकरण नभइकन प्रदेशसभाको पहिलो कार्यकाल सकिने सम्भावना बढ्दैछ । त्यसो हुनु निक्कै दुःखद र दूर्भाग्यपूर्ण कुरा हुनेछ ।

जसपाभित्र भने कुनै द्विविधा देखिएन । सबैतिर खुलेआम ‘मधेस प्रदेश समिति’ लेखिएको देखे । ‘मधेस’ शब्दसँग कांग्रेस– कम्युनिष्टहरूलाई यतिधेरै वितृष्णा, घृणा हुनुपर्ने पूर्वाग्रहबाहेक अरु कुनै कारण देखिन्न । मधेसकै नाममा त्यति ठूलो आन्दोलन भयो यो देशमा, त्यति धेरै बलिदान भयो । त्यति धेरै मानिसले एक साहसिक र अद्वितीय जनविद्रोहमा भाग लिए । ‘मधेश जनविद्रोह’ देशको राजनीतिक इतिहासकै एक अभूतपूर्व अध्याय बन्यो ।

त्यो के का लागि थियो ? निश्चय नै त्यो देशमा मधेसको सहभागिता, पहिचान र आत्मसम्मानका लागि थियो । तर, मधेसका लागि मात्र थिएन, देशका लागि समेत थियो ।

मधेस आन्दोलनले सङ्घीयता स्थापित नगरेको भए के कर्णालीमा प्रदेश र सुर्खेतमा राजधानी हुन्थ्यो ? अवश्य हुने थिएन । के शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङहरूले मुख्यमन्त्रीको झण्डा हल्लाएर हिड्ने अवसर पाउँथे ? अवश्य पाउने थिएनन् । के यतिका धेरै महिलाले कांग्रेस–कम्युनिष्ट पार्टी कै समानुपातिक सूचीबाट सही, संघीय र प्रादेशिक संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउँथे ? अवश्य पाउने थिएनन् । के सरकारी जागिरमा दलित, आदिबासी/जनजातिलगायतका सीमान्तकृत समुदायका युवायुवतीले आरक्षण पाउँथे ? पाउने थिएनन् ।

यही आन्दोलनले देशको संविधानमा ‘संघीयता, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, सकारात्मक विभेद र सीमान्तकृत समुदायका लागि आरक्षण’ को व्यवस्था गर्‍यो । यति ठूलो जनआन्दोलन, यति ठूलो बलिदान, यति ठूलो योगदान र यति ठूलो इतिहासलाई मान्यता नदिएर कांग्रेस–कम्युनिष्टहरूले जित्छन चाहिँ के ? पाउँछन् चाहिँ के ? यो प्रश्न हारसर बाँसघरको ५ दिने विमर्शको केन्द्रमा थियो ।

मधेश प्रदेशका ८ जिल्लाबाट ९० बढी सहभागीहरू थिए । मेरा लागि यो धेरै ठूलो अवसर बन्यो कि पछिल्लो मधेस बिमर्श कता जाँदै छ ? कुन विन्दुमा छ ? यसले भबिष्यका लागि के संकेतहरू गर्दछ ?

काठमाण्डौंमा जस्तो कि चर्चा हुन्छ– नम्बर दुईमा केही नै भइरहेको छैन । सबैभन्दा बढी भ्रष्ट प्रदेश भयो यो । मैले भेटेका धेरै मानिसले यस्तो हल्लालाई ‘काठमण्डौं–प्रोपागण्डा’ भन्न रुचाए । कतिपयले निक्कै कठोर शब्दमा प्रतिवाद गरे । उनीहरूले भने कि यो ‘संघीयतासँग प्रतिशोध’ लिन चाहनेहरूको सस्तो धारणा हो । काठमाडौं बसेर जनकपुरबारे कुनै धारणा बनाउन जति सजिलो छ, हारसर पुगेर खिचिने मधेसको चित्र त्यो भन्दा निक्कै भिन्न हुने रहेछ ।

के तपाईहरू प्रदेश सरकारसँग सन्तुष्ट हुनु हुन्छ, निक्कै राम्रो काम गरेको छ यसले ? मैले सोध्ने नै भए । धेरैको धारणा कि त्यस्तो दाबी अहिल्यै गर्न मिल्दैन । उपलब्ध स्रोतसाधनको सीमाभित्र भने यो प्रदेश अरु प्रदेशभन्दा कमजोर छैन । बितेको ३ वर्षभित्र प्रदेश राजधानी जनकपुर शहरले निक्कै काँचुली फेरेको छ । विशेषतः सडक विस्तार, सरसफाई, सांस्कृतिक सम्पदा तथा पोखरीहरूको संरक्षण कार्यमा ।

यहाँसम्म कि प्रदेश राजधानी हुनु अघि यहाँ काठमाण्डौंबाट हवाइजहाज समेत नियमित जाँदैनथ्यो । जनकपुरका मानिसले के जहाज चड्लान भनेजस्तो जस्तो सोच थियो । प्रदेश राजधानीको निहुँमा नै होस सही, यसै बीच एयरपोर्ट सुधार भएको छ, नयाँ टर्मिनल भवन बनेको छ, जहाज नियमित आइजाइ गर्छ । जनकपुर–काठमाण्डौं चल्ने सार्वजनिक यातायातले बढो शानले ‘राजधानी टु राजधानी’ नारा लेखेका छन् ।

जनकपुर अब ‘प्राचीन मिथिला’ को राजधानी मात्र हैन, जहाँ संसारकै पहिलो ‘गणतन्त्र’ थियो । आधुनिक नेपालमा यो ‘संघीयताको तीर्थस्थल’ पनि हो । जनकपुरको सफलतासँग संघीय शासन प्रणालीको सफलता जोडिएको छ । जनकपुरबासीमा यो बुझाई र भावना निक्कै बलियो छ ।

यहाँका मानिस संघीयता, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, सकारात्मक विभेद, सामाजिक न्याय र सीमान्तकृत समुदायको आरक्षणप्रति पुरै सचेत छन् । जसकसैले सजिलै यी सवाल र प्रावधानहरूको प्रतिरक्षा गरिरहेको हुन्छ । देशका अरु भागमा यी सवालको विरुद्धमा बोल्नेहरूको जुन उग्रशैली देखिन्छ, जनकपुर पुग्दा ती त्यसै ‘सटकदम’ हुन्छन् ।

हारसर प्रशिक्षणमा मैले पाएको अर्को सुखद पक्ष– मधेसमा राजनीतिकर्मीहरूको बिल्कुलै नयाँ पुस्ता निर्माण हुँदैछ । यो पुस्ता कुनै रुढता र जडतामा छैन । कुनै पूर्वाग्रह र संकिर्णतामा छैन । यो पुस्ता मधेसको जति चिन्ता गर्दछ, देशको उत्तिकै चिन्ता गर्दछ । उत्तिकै विश्व परिवेशलाई बुझ्न खोज्दछ ।

मधेश आन्दोलन मन नपराउँनेहरू अक्सर ‘मधेसवाद’ शब्द प्रयोग गर्दछन् । सजिलै ‘मधेसवादी दल’ भनिरहेका हुन्छन् । तर, मैले हारसर प्रशिक्षणमा ‘मधेसवाद’ नामको कुनै प्रशिक्षणको बिषय देखिन । बरु त्यहाँ उदारवादलेखि फासीवादसम्मको चर्चा भयो । राष्ट्रवादलेखि नश्लवादसम्मको चर्चा भयो । स्कानिडिनेभियनदेखि सिंगापुर मोडेलसम्मको चर्चा भयो । सोभियत मोडेलको असफलतादेखि लोककल्याणकारी राज्यको अवधारणासम्म चर्चा भयो ।

मधेस एक क्षेत्र, एक भूगोल, एक समुदाय, एक संस्कृति, एक मनोविज्ञान र एक राष्ट्रियता हो देशको, यसको पहिचान, सहभागिता, र सम्मान अपरिहार्य छ, तर ‘मधेसवाद’ कुनै भिन्नै विचारधारा हैन, मधेसले खोजेको विचारधारा त समावेशी लोकतन्त्र, सार्थक संघीयता र समुन्नत समाजवाद नै हो भन्ने कुरामा कुनै विमति देखिएन ।

राजावादीहरूसँग मधेसको कहिल्यै कुनै तालमेल बनेन । पञ्चायतको दर्शन नै विविधतालाई अस्वीकार गर्ने र विभेदलाई मान्यता खालको थियो । शाह राजा र पञ्चहरूले यो देशमा ‘एउटै राजा, एउटै देश, एउटै भाषा, एउटै भेष’ को नारा थोपरे । यो नारा आफैमा ‘मधेस विरोधी’ थियो । यसले मधेसको भिन्नपन, पहिचान, भाषिक, सांस्कृतिक विविधतालाई अस्वीकार गर्दथ्यो ।

तर कांग्रेस–कम्युनिष्टका नेताहरू पनि महेन्द्रकालीन ‘राज्य–राष्ट्र’ वा ‘एकल राष्ट्रिय–राज्य’ को सोचबाट मुक्त हुन सकेनन । त्यसैको परिणाम थियो– मधेश जनविद्रोह । राजावादी, कांग्रेस र कम्युनिष्टहरू– यी तीन परम्परागत शक्तिहरू भन्दा फरक बैकल्पिक राजनीतिक शक्ति निर्माणमा मधेसको उत्कट इच्छा र प्रतिवद्धता आज पनि उत्तिकै बलियो छ । यो अभियानमा नयाँ पुस्ताका शिक्षित युवायुवतीहरूको ठूलो संख्या आकर्षित हुँदै गइरहेको छ । उनीहरू ‘बहुराष्ट्रिय–राज्यको अवधारणा’ भित्र मधेस र देशको दशा र दिशा कसरी निर्धारित हुन्छ भनेर चिन्तनमनन गर्न झनझन उत्साहित पाइन्छन ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

हारसर परिसरको आदिम पिपलबोट मुनि प्रशिक्षण नचलेको बेला अनौपचारिक छलफल गर्नुको मज्जा अर्कै थियो । यस्ता छलफलमा हुने प्रश्नहरूले मलाई झनै गम्भीर बनायो । औसत प्रश्न हुन्थ्यो– मानौं कि जनता समाजवादी पार्टी देशको प्रमुख राजनीतिक शक्ति बन्यो, चुनाव जित्यो, संविधान संशोधन वा पुनर्लेख गर्‍यो, शासकीय स्वरुप र निर्वाचन प्रणाली बद्लियो । प्रदेशको पुनर्सीमाङकन भयो । वित्तिय सङ्घीयता भयो । अब के हुन्छ ? मधेश र देश धनी कसरी हुन्छ ? आर्थिक विकास र समृद्धि कसरी सुनिश्चित गर्नु हुन्छ ?

औसत युवा सहभागीहरूले गर्ने यस्ता प्रश्नहरूले आर्थिक चिन्तन, सोच र योजनाको सान्दर्भिकतालाई जोड दिन्छ । राजनीतिक मुद्धाहरूसँगसँगै आर्थिक विचारधारा, ढाँचा र मोडेलको बहसलाई बढाउनु पर्ने टड्कारो आवश्यकता हुन्छ । देशको मानवीय विकास सुचकाङ्कमा मधेस कर्णालीपछि दोस्रो पिछडिएको क्षेत्र हो । कर्णालीलाई भनिएला कि त्यो दुर्गम थियो, विकट भूगोल थियो, तर, मधेस न विकट थियो न दुर्गम । तर पनि मधेस किन पछाडि पर्‍यो ?

जताबाट नापे पनि, जसरी विश्लेषण गरे पनि यसको पछाडि ‘शासकीय उत्पीडनको संचयन’ नै मुख्य कारण देखिन्छ । हारसर मन्थनको केन्द्रमा रहेको अर्को महत्वपूर्ण प्रश्न यही हो । राजनीतिक शक्ति संचरनाहरू स्थानीय जनताका सरोकार र संवेदनशीलतामा केन्द्रित हुने भन्दा स्रोत र साधानहरू कब्जा गर्ने र काठमाण्डौं पठाउँने सोच र प्रचलनबाट सर्वथा प्रेरित रहे ।

शाहहरूले त्यही गरे । राणाहरूले त्यही गरे । पञ्चहरूले त्यही गरे । अहिले कांग्रेस–कम्युनिष्टहरू त्यही गर्दैछन् । देश संघीयतामा गइसक्दा पनि वित्तिय सङ्घीयताको अवधारणा लागू नहुनु प्रदेश प्रभावकारी हुन नसक्नुको मुख्य कारण हो भन्ने कुरा हारसर सहभागीहरू सबैले बुझेको देखे ।

देशको पछिल्लो राजनीतिक स्थिति र पार्टीमा कार्यदिशाको समस्याबारे जिज्ञासा र चर्चा हुने नै भयो । के यो ध्रुवीकरण ‘पूर्व सपा’ र ‘पूर्व राजपा’ को हो ? कि ओली प्रतिगमन विरुद्ध ‘नरम हुने’ र ‘सम्झौताहीन संघर्ष’ गर्न चाहनेहरू बीचको को हो ? हारसर सहभागीहरूको धारणा थियो कि ‘ओलीतन्त्र विरुद्ध एक सम्झौताहीन संघर्ष’ अत्यावश्यक छ । यो ‘सपा’ र ‘राजपा’ ध्रुवीकरण हैन, हुनु हुँदैन, त्यस्तो हुन अब कुनै जरुरी छैन । यो ध्रुवीकरणको सारतत्व ओलीतन्त्र विरुद्धको निर्णायक संघर्ष हो र हुनु पर्दछ । जसका विरुद्ध भरखरै यति ठूलो आन्दोलन गरियो, उसैको सरकारलाई समर्थन गर्ने वा साथ दिने कल्पनासम्म त्यहाँ कसैमा थिएन ।

हारसर प्रशिक्षणको अर्को रोचक पक्ष मैले पार्टी अध्यक्ष उपेन्द्र यादवको पार्टी प्रशिक्षण कार्यक्रमहरूप्रतिको विशेष लगाव, मोह र झुकाव पाए । औसत पार्टी नेताहरू यस्ता कार्यक्रममा आफ्नो पालोमा बोल्ने र हिंड्ने हुन् । उपेन्द्र यादवमा भने आफ्नो पालोमा बोल्ने मात्र हैन, अर्काको पालोमा सहभागीजस्तै बसेर सुन्ने, बीचबीचमा ‘रिफरेन्स’ को सहयोग गर्ने र सुधार्नु पर्ने पक्षहरूबारे सुझाव दिने गज्जबको धैर्यता रहेछ । यस्तो धैर्यता विरलै मूल नेताहरूमा हुन्छ ।

जसपा पार्टी निर्माणको आफ्नै फरक पृष्ठभूमि छ । नेपालको राजनीतिक इतिहासमा यतिधेरै फरक पृष्ठभूमि, समूह, व्यक्ति, व्यक्तित्व र आन्दोलनहरूको विरासत एकठ्ठा भएको सायदै थियो होला । भबिष्यमा पनि सायदै होला । यस्तो पार्टीको स्कुलिङ कस्तो बन्ला ? कस्तो होला ? त्यो मेरा लागि पनि आफैमा रहस्य र जिज्ञासाको बिषय थियो ।

हारसर ५ दिने प्रशिक्षणमा ३ दिन सहभागी भएपछि झनै बलियो गरी लाग्यो– यो पार्टी, यसको स्कुलिङ र आन्दोलन बिल्कुलै ठीक ठाउँमा छ । पार्टी निर्माणको व्यवहारिक जटिलता आफ्नो ठाउँमा होला, यो यात्रामा अनेक घुम्ती र मोड आउलान् तर, विचार, सिद्धान्त र एजेण्डाको दृष्टिकोणले शतप्रतिशत आश्वस्त हुन सकिन्छ कि नेपालमा चाहिने वैकिल्पक विचार र शक्तिको वास्तविक स्कुलिङ हुनुपर्ने यस्तै हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय