scheduleबुधवार बैशाख २९ गते, २०७८

ब्राजिलमा कोभिड-१९ पछि सुरु भएको ‘ट्राजेडी’: भोकमरीको चपेटामा २ करोड मानिस

एजेन्सी, ३० चैत । हालै गरिएको नयाँ अध्ययनले ब्राजिलमा कोभिड-१९ महामारीबीच झण्डै २ करोड मानिस भोकमरीको चपेटामा परेको देखाउँछ ।

महामारीका बेला भोकमरीको चपेटामा परिरहेका मानिसमध्ये आना मारिया नोगुइरा र उनका पति इराल्डो पनि पर्छन् । आना र इराल्डो अरुले दान गरेको खाना खाएर जीवन धानिरहेका छन् ।

साओ पउलोको एउटा गरिब बस्ती जार्डिम केरालक्समा बस्दै आएका दुबैजनालाई यस वर्ष पनि भोकै बस्नुपर्ने चिन्ताले सताएको छ । ‘यो वर्ष पनि हामीले पेटभरी खान नपाउने भएका छौं’, ५७ वर्षीय आनाले भनिन् ।

ब्राजिलमा यो हप्ता हालसम्मकै धेरै जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । त्यहाँ एकातिर कोरोनाको नयाँ लहरसँगै संक्रमितको संख्या बढिरहेको छ र अस्पतालहरु संक्रमितले खचाखच भरिएका छन् । यो संकटसँगै भोकभरी र खाद्य असुरक्षा पनि देखिन थालेको छ ।

महामारीका बेला १ करोड ९० लाख मानिस भोकमरीको चपेटामा परेको तथ्याङ्कले देखाउँछ । त्यस्तै ११ करोड ७० लाख मानिस अर्थात् ५० प्रतिशतभन्दा बढी जनसंख्या कुनै न कुनै प्रकारको खाद्य असुरक्षाबीच बाँचिरहेका छन् ।

कोरोना महामारीपछि उत्पन्न भएको बेरोजगारीको उच्च दर, सामाजिक कार्यक्रममा भएको कटौती र दैनिक उपभोग्य सामानमा भएको मूल्यवृद्धिका कारण भोकमरी सिर्जना भएको विज्ञहरु बताउँछन् ।

‘महामारी र भोकमरीको दु:खद/कहालिलाग्दो समिश्रण’

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको विश्व भोकभरी सूचीबाट ब्राजिल हटेको थियो । सफल सामाजिक कार्यक्रम र सरकारी नीतिमार्फत् भोकमरी न्यूनीकरणका लागि वर्षौंसम्म गरिएका एकीकृत प्रयासपछि उक्त सूचीबाट ब्राजिललाई हटाइएको हो ।

त्यतिबेलाका तत्कालीन राष्ट्रपति लुला डा सिल्भाले सन् २००३ मा भनेका थिए- ‘जबसम्म ब्राजिकका दाजुभाइ तथा दिदीबहिनीहरु भोकै बस्छन् तबसम्म हामीहरु लज्जित बन्नुपर्छ । लुलाको उक्त भनाइले निकै चर्चा समेत पायो ।

तर एक वर्षभित्रै अर्थात् सन् २०१५ मा आर्थिक मन्दी र राजनीतिक संकटले ब्राजिललाई छोयो । मितव्ययीका उपायहरु अवलम्बन गरियो र बेरोजगार ह्वात्तै बढ्यो । ३ वर्षपछि अर्थात् उग्रदक्षिणपन्थी नेता जाएर बोल्सोनारो राष्ट्रपतिमा निर्वाचन हुनुपूर्व नै चरम गरिबी र भोकमरीका डरलाग्दा संकेतहरु देखा परिसकेका थिए ।

‘हालैका वर्षमा यो अवस्था झन खराब भइरहेको छ’, गेटुलियो भार्गास फाउण्डेशनका अर्थशास्त्री मार्सेलो नेरीले भने, ‘वास्तवमा यो वर्ष खाद्य असुरक्षा बढेको छ ।’

त्यस्तै बामपन्थी दल वर्कर्स पार्टीका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री अलेक्जान्डर पडिल्हाले समेत कोभिड-१९ का बेला बढ्दो भोकमरी र खाद्य असुरक्षाबाट सबै निकै चिन्तित भएको बताए । काम खोज्न वा बिहान बेलुकाको जोहो गर्न बाहिर निस्केका मानिसहरु भाइरसको सम्पर्कमा आएको र अवस्था झन विकराल बनेको पडिल्हाको भनाइ छ ।

‘यो एउटा यस्तो समिश्रण हो जसले ब्राजिलको इतिहासमा नै मानिसलाई सबैभन्दा धेरै दु:ख दिएको छ’, पडिल्हाले भने, ‘यसले ब्राजिलको भावी पुस्तालाई प्रभावित पारेको छ ।’

मूल्य वृद्धि

खाद्यान्न निर्यात गर्ने प्रमुख मुलुकमा ब्राजिल समेत पर्छ र साओ पउलो दक्षिण अमेरिकाकै सबैभन्दा धनी शहर हो । तर शहरको वरपर रहेका अति गरिब बस्तीमा बस्ने मानिसले आफू र आफ्नो परिवारलाई चाहिने पोषणयुक्त खाना किन्न नसक्ने अवस्था सिर्जना भएको छ ।

ग्रामीण क्षेत्रमा यो अवस्था झन खराब देखिन्छ । ‘शहरमा बस्ने गरिब व्यक्तिले सडकमा गएर खाना माग्न सक्छ तर ग्रामीण क्षेत्रमा बस्ने गरिबले यस्तो गर्न सक्दैन’, पेस्सास नेटवर्कका मालुफले भने ।

महामारीका बेला खाद्यान्नको मूल्य आकाशिएको छ र यसले गरिबलाई निकै प्रभावित पारेको छ । ब्राजिलको भूगोल तथा तथ्याङ्क इन्स्टिच्युटका अनुसार एक वर्षभित्र एक किलो चामलको मूल्य ७० प्रतिशतले बढेको छ । त्यस्तै कालो सिमी, आलु, रातो मासु, दुध र भटमासको तेलको मुल्यमा क्रमश: ५१, ४७, ३०, २० र ८७ प्रतिशत वृद्धि भएको छ ।

केरालक्स इन्स्टिच्युटका उपाध्यक्ष इडिल्सन लिनो बास्टोसले आफूसमक्ष खाद्यान्नका लागि धेरै अनुरोध आएको बताउँछन् । महामारीको सुरुवाती चरणमा उनको इन्स्टिच्युटले ब्राजिलको एउटा ठूलो बिमा कम्पनीबाट खाद्यान्नको १ हजार प्याकेज प्राप्त गरेको थियो । तर उक्त प्याकेज हाल ठप्प भएको उनको भनाइ छ ।

‘अरुभन्दा गरिब मानिसहरु साथीभाइ र परिवारको एक्यबद्धता एवं सहायतामा भर पर्छन्’, अर्थशास्त्री नेरीले भने, ‘मानिसहरु थाकिसकेका छन्, स्रोतसाधन सकिँदै गएको छ र यो नै अहिलेको समस्या हो ।’

आपतकालीन सहयोग

आना र इराल्डो बस्दै आएको काठको झुपडी नजिकै कच्ची सडक छ । केबल ५ मिनेट हिडेपछि उक्त धुलाम्मे सडक आउँछ । सोही सडकमा प्लाष्टिकको कुर्चीमा बस्दै २७ वर्षीया डानिला ओलिभेयराले आफ्नो १ महिने शिशुलाई स्तनपान गराइरहेकी छन् । उनी एकजना साथीको घरबाहिर छन् ।

डानिलाका ३ जना साना बालबच्चा छन् । उनका पतिले चालकको काम समेत गुमाइसकेका छन् । उनी बिहान बेलुकाको जोहो गर्न काम खोज्दै बाहिर जान्छन् । यही भएर उनी कोरोनाको सम्पर्कमा आउने सम्भावना बढेको छ ।

अरुको सहयोग र दानबिना आफू र आफ्ना बालबच्चा भोकै बस्ने अवस्था रहेको भन्दै उनले सुनाइन्, ‘मैले चालम र सिमीको मूल्य बढेकाले छोराछोरीका लागि फलफूल किन्न बन्द गर्नु परेको थियो ।’

‘हामीले रातो मासु खान छोडिसकेका छौं’, डानिलाले थपिन्, ‘मासुको साटो अण्डा खान्छौं ।’

डानिला जस्ता मानिसहरु भोकै बस्न नपरोस् भनेर गत वर्ष सरकारले प्रति परिवारलाई १०५ देखि २१० डलरसम्म रकम दिएको थियो । फलस्वरुप, सन् २०२० मा चरम गरिबी सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । तर आपतकालीन सहयोग स्वरुप सरकारले दिँदै आएको रकम घट्दै गयो र वर्षको अन्त्यतिर दिन छोडियो ।

यो वर्षको जनवरीदेखि मार्चसम्म ब्राजिलमा चरम गरिबी १२. ८ प्रतिशतमा झरेको प्रक्षेपण गरिएको छ ।

गत हप्ता कोभिड-१९ बाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेपछि उपल्लो संसदबाट नयाँ आपतकालीन सहायता कार्यक्रम पारित भएको छ । तर उक्त कार्यक्रममार्फत् विपन्नलाई प्रति महिना औसतमा केबल ४३ डलर उपलब्ध गराउने सरकारको तयारी छ ।

सांसद पडिल्हाले उक्त सहायता रकमलाई १०५ डलरसम्म पुर्‍याउनका लागि यसै हप्ता विपक्षी दलले तल्लो सदनमा मतदान गर्ने बताए । तर उक्त कार्यक्रम तल्लो सदनबाट पारित भएपनि आना र इराल्डो जस्ता विपन्न परिवारले भोकमरी/खाद्य असुरक्षतासँग जुधिरहनु पर्नेछ ।

आना र इराल्डोसँग व्यक्तिगत परिचय खुलाउने कुनै पनि कागजात छैन किनभने २ हप्ताअघि आएको ठूलो वर्षाका कारण उनीहरुको पुरानो काठको घर ढलेर नदीमा पुगेको थियो । यसको अर्थ आगामी दिनमा हरेक खाले सरकारी सहयोग प्राप्त गर्नका लागि उनीलाई कठिनाइ हुनेछ ।

पुरानो घर नदीले बगाएपछि आना र इराल्डोले नयाँ काठको घर बनाएका छन् र सिङ्गल म्याट्रेसमा सँगै सुत्छन् । यसअघि उनीहरु सुत्दै आएको डलब म्याट्रेस अझै पनि नदीमा तैरिइरहेको छ ।

‘मसँग केही पनि छैन’, आनाले भनिन् ।

(अलजजिरामा प्रकाशित साम काउइको रिपोर्टको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय