scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अमेरिकाको तेस्रो पुनर्निर्माण

जेफरी डि. स्याक्स

अमेरिकाभित्र एउटै राष्ट्रमा दुई संस्कृतिहरू छन् । पहिलो संस्कृतिले दासता, आदिवासी अमेरिकीहरूको नरसंहार, श्वेत सर्वोच्चता लाद्ने ‘जिम क्रो’ ऐन, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की, झुठ, क्रुरता जसले अन्तत्वगत्वा क्यापिटल हिलमा जनवरी ६ को आक्रमण आमन्त्रण गर्दछ ।

दोस्रो संस्कृतिले नागरिक अधिकार आन्दोलनको सशक्तिकरण, बाराक ओबामा र अहिलेका जो बाइडेनको निर्वाचन ल्याउँछ । संकुचन हुँदै गएको अल्पमतले अंगालेको श्वेत सर्वोच्चतावादी संस्कृतिले सधै हिंसा र मतदाता दमनलाई आफ्नो शक्तिको आधार मानेको छ । यही कारण हो कि मतदाता अधिकारको अहिलेको लडाइँ अमेरिकी भविष्यका लागिको लडाइँ हो ।

अहिले यी दुई संस्कृतिहरू देशभरि नै र वासिङन डिसीमा क्रिडारत छन् । बाइडेनको जितपछि श्वेत सर्वोच्चतावादीले मतदाता बञ्चितीकरणलाई दोब्बर बनाउँदैछन् । रिपब्लिकन पार्टीलाई यो कुरा राम्ररी थाहा छ कि निष्पक्ष मतदान भएमा यसले राष्ट्रिय शक्तिको रुप धारण गर्न सक्दैन । तसर्थ रिपब्लिनकहरू राज्य–व्यस्थापिकाहरू नियन्त्रण गर्दैछन् । त्यहाँबाट उनीहरू अश्वेत मतदाताको सहभागितालाई लक्षित गरी नयाँ व्यवधानहरू गर्दैछन् ।

अर्कोतिर वासिङटनमा समावेशी संस्कृतिलाई अझ उन्नत बनाउँदै कांग्रेसले सन् १९६० यताकै सबैभन्दा महतवपूर्ण मतदान अधिकार सुधारलाई अगाडि बढाउँदैछ । यसको उद्देश्य सबै अमेरिकीलाई मतदान अधिकारमा पहुँच सुनिश्चित गर्नु हो । मतदान अधिकारबाट बञ्चितीकरण अमेरिकामा श्वेत सर्वोच्चतावादीहरूको लामो समयदेखिको हतियार हो ।

यसको कथा सन् १९३५ मा प्रकाशित अमेरिकी कालाहरूको पुननिर्माणमा डब्लु. इ. बि दु बोइसले बढो जीवन्त ढंगले सुनाएका छन् । दु बोइसले सन् १८६१–६५ को अमेरिकी गृहयुद्धमा अफ्रिकी–अमेरिकीहरू आफ्नो स्वतन्त्रताको लागि कसरी बहादुरीपूर्वक लडेका थिए र सन् १८६५–७७ को पुनर्निर्माणका वर्षहरूमा शिक्षा र कडा मेहनतद्वारा नागरिकका रुपमा मुक्त भएका थिए भन्ने वर्णन गरेका छन् । तर, दक्षिणी गोराहरूको हिंसा र आतंकवाद र उत्तरी गोराहरूको बेवास्ता र नश्लवादको कारणले त्यो सशक्तिकरण अझै कम नै भयो ।

पुनर्निर्माणपछि दक्षिणको केन्द्रभागमा जिम क्रोको शासनले मतदाता बञ्चितीकरणलाई कसिलो बनायो जो संविधानको घोर उल्लंघन थियो । सन् १९६० को नागरिक अधिकार आन्दोलनलाई दोस्रो पुननिर्माणको जन्म मानिन्छ । यसले फेरि एकपटक जिम क्रो नीतिको अन्त्य गरेर अमेरिकी लोकतन्त्रको पुनर्निर्माण गर्ने लक्ष्य राखेको थियो । तर सन् १९६४ को नागरिक अधिकार ऐन र सन् १९६५ को मतदान अधिकार ऐनलगायतको साहसिक प्रगतिले अर्को चरणको नश्लवादलाई उक्सायो ।

जेफरी डि. स्याक्स

जब कांग्रेसका उत्तरी डेमोक्र्याट्सहरूले दक्षिणी पृथकतावादी डेमोक्र्याट्यसहरूलाई विधेयक पारित गर्नबाट रोके, डेमोक्र्याटिक पार्टी दुई भागमा विभाजित भयो । रिचार्ड निक्सनको नेतृत्वमा रहेको रिपब्लिकन पार्टीले सन् १९६८ को चुनावमा श्वेत सर्वोच्ततावादीहरूमाथि विजय हासिल गर्न कुख्यात ‘दक्षिणी रणनीति’ अपनायो । दक्षिणका श्वेतहरू डेमोक्र्याटिकबाट रिपब्लिकन पार्टीमा गए तर जातीय भेदभाव कायमै रह्यो ।

दक्षिणी रणनीतिपछि मतदाता बञ्चितिकरणका नयाँ कार्यनीतिहरू अबलम्बन भए । यसपटक विभिन्न रङ्गका ससाना समुदाय अंशमाथि आम अवरोधको नीति लागू गरियो । वास्तवमा ती सामुदायिक अंशहरूले कहिल्यै मतदाता कर्तव्यको उल्लङ्घन गरेका थिएनन, तिनीहरूले सधै जीवनका लागि मतदान गर्दै आएका थिए । तर यसबाट अमेरिकी श्वेत सर्वोच्चतावादीहरूले शक्ति हत्याए, जसले गर्दा अमेरिकाका लामो समयसम्म अधपतनमा रह्यो ।

सन् २००८ मा बाराक ओबामाको राष्ट्रपति पदमा निर्वाचन र सन् २०१२ मा पुनर्निर्वाचन, सन् २०२० मा कमला ह्यारिसको उपराष्ट्रपति पदमा निर्वाचन यी पदमा पुग्ने पहिलो मानिस र महिला बने । यी सबै घटनाक्रमले यो तथ्यलाई प्रमाणित गर्दछ । बदलामा ट्रम्पले बलजफ्ती निर्वाचन परिणामलाई उल्ट्याउने र सत्ता कायम राख्ने प्रयत्न गरे । पहिला त उनले राज्यस्तरका रिपब्लिकन अधिकारीहरूलाई निर्वाचन परिणाम झुठा सावित गर्न मनाउने कोसिस गरे । त्यसपछि कांग्रेसलाई निर्वाचन परिणाम प्रमाणित गर्नबाट रोक्ने कोसिस गरे ।

न्युयोर्क विश्वविद्यालय स्कुल अफ लको ब्रेनान जस्टिस सेन्टरले सावधानीपूर्वक गरिरहेको दस्तावेजीकरण अनुसार ट्रम्पको हारले मतदाता बञ्चितीकरण बिलको लहर नै चलेको छ । ४३ राज्यका २५० बढी रिपब्लिकन विधायकहरू यो काममा संलग्न छन् । ब्रेनान सेन्टरले यो कुरालाई यसरी उल्लेख गरेको छ– ‘प्रस्तावित विधेयकहरूले रङ्गका मतदातालाई लक्षित गरेका छन् र मतदान कार्यलाई झनै कठिन बनाउन खोजेका छन् । केही मतदानका विधिहरूलाई बदल्न खोजेका छन्, जस्तो कि हुलाकबाट मतदान, जो सन् २०२० को कोरोना महाब्याधीको अवधिमा प्रयोगमा थियो, जसले चुनावलाई सफल मात्र हैन, सम्भव बनायो ।’

जो बाइडेनले बिल्कुलै ठीक भनेका हुन कि रिपब्लिकनहरूको नियन्त्रण गरेका जर्जियाको विधानसभाले ल्याएको मतदान व्यवधान गर्ने नयाँ मतदान ऐन एक्काइशौं शताब्दिको जिम क्रो ऐन हो । यसरी दक्षिणी दासप्रथा भएका राज्यहरू पृथक भएको ठीक १६० वर्षपछि फेरि दासत्व र श्वेत सर्वोच्तताको रक्षा र विस्तार भएको छ । अमेरिका अब तेस्रो पुनर्निर्माणमा पुगेको अनुभूति भएको छ ।

पहिलो पुनर्निर्माण दासप्रथाको अन्त्यका लागि थियो । दोस्रो रङ्गभेदको अन्त्यका लागि । तेस्रो मतदाता बञ्चितिकरण र आम अवरोधको अन्त्यका लागि । तेस्रो पुनर्निर्माणका एक जना नेता रेभरेन्ड विलियम जे बार्बर द्वितीयले यी चुनौतिहरूको जीवन्त बयान गर्ने एक अद्वितीय पुस्तक लेखेका छन् ।

अमेरिकी नश्लवादको मृत्यु निक्कै कठोर छ तर यो मरिरहेकै छ । अमेरिकी प्रतिनिधिसभाले भर्खरै मतदान अधिकार ऐन पारित गरेर सिनेटमा पठाएको छ । यसमा मतदान अधिकार ऐनपछि कै अति महत्वपूर्ण राजनीतिक सुधारहरू समावेश छन् । यो विधेयक अहिले सिनेटमा पहिलो प्राथमिकतामा छ, यसले मतदाता रजिष्ट्रेशन र र मतदान प्रक्रियाका राष्ट्रिय मापदण्डलाई सहजीकरण गरेको छ ।

यसमा अर्ली भोटिङ र मेल भोटिङजस्ता प्रावधान समाविष्ट छन् । यसले मतदाता विभेद विरुद्ध संघीय अधिकारको प्रयोग लागू गर्दछ । जेलबाहिर रहेका आरोपी अपराधीहरूलाई समेत संघीय निर्वाचनमा मतदानको अधिकार पुनःस्थापित गर्दछ । यस विधेयकले निर्वाचन अभियानमा वित्तिय व्यवस्था सुधारको पक्षमा समेत उल्लेखनीय कदम चलेको छ ।

सिनेटले यो विधेयकमाथि छिट्टै छलफल शुरु गर्ने छ । श्वेत सर्वोच्चतावादको प्रतिनिधित्व गर्ने रिपब्लिन सिनेटरहरूले सायद यसलाई अनावश्यक थाँती राख्ने वा मार्ने प्रयत्न गर्नेछन् । यस्तो ऐनमा सामान्य बहुमत ५१ को साटो ६० भोट चाहिन्छ । सन् १९६० को दशकमा नागरिक अधिकार विधेयक विफल पार्न पृथकतावादीहरूको कार्यनीति पनि त्यही थियो । तर त्यतिखेर उनीहरू असफल भएका थिए । संभवत फेरि एकपटक उनीहरूको प्रयास असफल हुनेछ ।

डेमोक्र्याटसहरू फेरि एकपटक श्वेत सर्वोच्चतावादलाई सधैका लागि चिहानमा गाड्ने प्रयत्नमा छन् । नश्लवादीहरूले अश्वेत नागरिकहरूको माताधिकार वञ्चित गर्न खोज्दा सायद उनीहरू निरर्थक बस्ने छैनन् । अमेरिकी संविधान लागू भएको २३० वर्षपछि सबै अमेरिकीका लागि मताधिकार र निष्पक्ष मतदान सुनिश्चित गर्ने यस निर्णायक विधेयकको स्थगनलाई निस्तेज पार्न सिनेटले सम्भवतः आफ्ना नियमहरू परिवर्तन गर्ने छन् ।

प्रोजेक्ट सेन्डिकेटबाट अनुदित ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय