scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

अम्बेडकरलाई सम्झिँदा उनको मूल सिद्धान्तलाई बिर्सन मिल्दैन

हरिश एस. वानखेडे

प्रष्टै देख्न सकिन्छ– हिजोआज भारतीय राष्ट्र–राज्यले बाबासाहेब अम्बेडकरलाई एक विरोचित व्यक्ति, एक महान आस्थाका दूतका रुपमा गौरवमयी उत्सवन गरिरहेको छ । उनलाई एक नेतृत्वदायी राष्ट्रिय आदर्श स्वीकार गरिएको छ ।

हिन्दुत्ववादी दक्षिणपन्थीहरूले समेत अम्बेडकरलाई हिन्दु समाज सुधारकका रुपमा युक्तिकरण गर्दैछन् । उनलाई हिन्दू साँस्कृतिक विविधताको एक पेचिलो अंशका रुपमा स्वीकार गरिंदैछ ।

अर्कोतिर उदारवादी–वामपन्थी प्राज्ञिक–बौद्धिक वृत छ जसले अम्बेडकरलाई राष्ट्र निर्माताका रुपमा प्रस्तुत गर्दछ । उनीहरू दार्शनिक महाआख्यान र बौद्धिक परम्पराको क्षेत्रमा अम्बेडकरको प्रभावशाली उपस्थिति स्थापित गर्न चाहन्छन् ।

अम्बेडकरलाई ‘दलित घेट्टो’ को साँघुरो घेराबाट मुक्त गरी एक उच्च मष्तिष्क भएका स्वप्नद्रष्टा वा दार्शनिक विश्वजगतको दायरामा राखिनुका सजिलै बुझिने आम स्वार्थहरू छन् ।

अम्बेडकर केवल एक दलित नेता थिएनन् न त सामाजिक न्यायको राजनीतिमा एक भावनाप्रधान आवाज मात्र थिए । निश्चय नै उनी यसप्रकारको वर्गीकरणभन्दा माथि थिए । उनले दमित कामदार वर्गका सवालमा प्रसंशायोग्य नेतृत्व प्रदर्शन गरेका थिए ।

साथै, मार्क्सवादी–समाजवादी विचारमा उनको जीवन्त आलोचनात्मक संलग्नता थियो । वाइसराय परिषदको श्रममन्त्रीका रुपमा उनले श्रमिक वर्गका माग ८ घण्टाको कार्यघण्टा निर्धारण, समान ज्याला र सुत्केरी विदाजस्ता थुप्रै फाइदाजनक सुविधा प्रदान गरेका थिए ।

हरिश एस. वानखेडे

यस बाहेक, भारतमा महिलामुक्तिको आन्दोलनलाई सवलीकरण गर्न उनको योगदान उच्चकोटीको थियो । संविधानविदको हैसियतमा अम्बेडकरले भारतलाई लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित गर्न अत्यन्तै चमत्कारिक राजनीतिक सुझबुझ र दुरदृष्टि देखाएको कुरालाई कसै गरी कम आँक्न मिल्दैन । एक अर्ग्यानिक–बौद्धिकका रुपमा राजनीतिका मुख्य अवधारणा नागरिकता, स्वतन्त्रता, समानता र न्यायबारे उनको गहिरो बुझाई थियो ।

उनका यी गुणहरू आकर्षक छन् र असहमत हुनुपर्ने ठाउँहरू कमै छन् । तर, त्यहाँ अदृष्य भयहरू पनि छन्, जसलाई अवज्ञा गर्न मिल्दैन । राष्ट्रिय नायक वा राजनीति– दार्शनिकका रुपमा उनको छवि–निर्माण प्रयासमा अक्सर उनले आफ्नो जीवनकालमा संलग्नता दिएका मुख्य सामाजिक तथा राजनीतिक मुद्दालाई तर्काउने प्रयास देखिन्छ । दलितहरूलाई अछुतताको झुपडीबाट मुक्त गर्ने उनको लडाइँ र बाहुनवादी दमनकारी जातिप्रथा विरुद्धको उनको संघर्षले नै उनको राजनीतिक तथा बौद्धिक व्यक्तित्व बनाएको हो ।

राष्ट्रनिर्माण, संविधानवाद र अझ व्याख्यानात्मक दर्शनशास्त्रभन्दा धेरै उनी सामाजिक जातप्रथाको क्रुर यथार्थविरुद्ध बलियो गरी संलग्न र प्रतिबद्ध थिए । उनी यस्तो समाजलाई क्रान्तिकारी रुपान्तरणद्वारा उन्नत मानव समाजमा बदल्न चाहन्थे । यदि हामीले अम्बेडकारलाई जातप्रथा र अछुतताका आधारभूत प्रश्नबाट बेवास्ता गरी एक अमूर्त राष्ट्रिय–नायक मात्र बनाउन चाह्यौं भने त्यो उनी र उनको बौद्धिक कामप्रति हानी पुर्‍याएको हुनेछ ।

जातप्रथा भारतीय समाज र आजसम्म पनि राजनीतिक जीवनको एक क्रुर यथार्थ हो । परम्परागत धार्मिक मान्यतामा आधारित जातप्रथाले मानव-मानव बीच औपचारिक समानता प्रदान गर्दैन । बरु उल्टै यसले पारिवारिक तथा नागरिक सम्बन्धमा स्थायी विखण्डन र सोपानीय तप्काहरू बनाउँदछ । जातको सामाजिक हैसियत प्रतिभा, व्यवसायिक सीप र आर्थिक गतिशिलताबाट हैन, जन्मका आधारमा निर्धारित गर्दछ ।

अम्बेडकरले जातीय समाजका विकृति पहिचान गर्न निर्णायक भूमिका गरे । दलितहरूलाई सामाजिक विभेद, आर्थिक विमुखता र राजनीतिक बहिष्कारणबाट मुक्त गर्न आजीवन संघर्ष गरे । उनी आधुनिकताका एक महान ज्ञाता थिए । उनले आधुनिक औद्योगिक विकास, लोकतान्त्रिक संस्थाहरू र गणतान्त्रिक मूल्यहरूले अछुतहरूको मुक्ति सुनिश्चितता हुने अधिरचनाहरू बन्दै जाने आशा राखेका थिए ।

उनको आशा थियो कि आधुनिक सार्वजनिक क्षेत्रहरू धर्मनिरपेक्ष हुँदै जानेछन् । पुरानो सामाजिक संचरनाले विस्तारै काम गर्न छोड्ने छ । संवैधानिक निर्देशहरूबाट सशस्त्र र आधुनिक संस्थाहरूबाट संरक्षित दलितहरू आधुनिक नागरिकका रुपमा उदित हुनेछन् । उनीहरूले विना सामाजिक भय र पूर्वाग्रह उदार लोकतन्त्रका सुविधाहरू उपयोग गर्नेछन् ।

आधुनिक सांसारिक जीवनको यो प्रगतिशील आंकलनप्रति अम्बेडकर विश्वस्त भने थिएनन् । बरु उनले बाहुनवादी सामाजिक संसार र नयाँ धर्मनिरपेक्ष राजनीतिक क्षेत्रबीच विभाजन ल्याउने ठहर गरेका थिए । भारतीय गणतन्त्रको आरम्भतिर उनले भनेका थिए– ‘भारतीयहरू आज दुई फरक विचारधाराद्वारा शासित छन् । तिनीहरूको राजनीतिक विचार संविधानको प्रस्तावनामा उल्लेखित छ । त्यसले स्वतन्त्रता, समानता र भातृत्वको जीवनलाई पुष्टि गर्दछ । उनीहरूका सामाजिक आर्दशहरू भने धर्मको आवरणमा छन्, जसले यी मान्यताको खण्डन गर्दछन् ।’

उनले यो चेतावनी समेत दिएका थिए कि यदि हामीले यसमा सुधार गर्न सकेनौं भने सामाजिक व्यवस्थाले क्रान्तिकारी नयाँ धर्मनिरपेक्ष जगतका मूल्य र आस्थाहरूलाई कमजोर र ध्वस्त बनाउनेछन् । हिन्दु समाजमा आमूल सुधार विना लोकतन्त्रले जीवन्त प्रगति निक्कै गाह्रो हुनेछ । आधुनिक संविधानले ध्यानपूर्वक कुँदेका मानवतावादी सद्गुण र उद्देश्यहरूको परिपुर्ति गर्न सामाजिक व्यवस्थाले परिपूरकको काम गर्नु पर्दछ । यसका लागि जातव्यवस्थालाई मानवतावादी समाज व्यवस्थामा परिणत गर्न जरुरी छ । त्यस्तो समाज व्यवस्थाले प्रत्येक व्यक्तिलाई समान क्षमता, स्वतन्त्रता र जीवन लक्ष्यहासिल गर्न समान शक्ति प्रदान गर्नु पर्दछ ।

अम्बेडकरको यो विश्वास थियो कि आधुनिक समाजका नैतिक जगहरू स्थापना गर्न बौद्ध दर्शन बढी नैतिक मूल्ययुक्त छ । उनले भातृत्वलाई नयाँ समाज र धार्मिक व्यवस्थाको निर्देशक सिद्धान्तका रुपमा प्रस्ताव गरेका थिए । सन् १९५६ को अक्टोबर १४ का दिन उनी लाखौं अनुयायीसहित बौद्ध धर्मालम्बीमा रुपान्तरण भए । सामाजिक गतिशिलता र धार्मिक परिवर्तनको एक नयाँ बहस र अध्याय खुल्ला गरिदिए ।

स्वतन्त्रतापछि यो राष्ट्र प्रगतिशील कानुन, सकारात्मक नीतिगत क्रियाकलाप, धार्मिक तथा सामाजिक सुधारजस्ता कारणले थुप्रै सकारात्मक परिवर्तनको साक्षी बनेको छ । शहरीकरण र शिक्षाले अछुतहरूलाई नागरिक दर्जाको नजिक ल्याएको छ । सरसरी समीक्षा गर्दा सन् १९९० पछि दलितभित्रको एउटा सानो संख्याले देखिने गरी सामाजिक तथा आर्थिक प्रगति गरेको छ, मध्यम वर्गीय सामाजिक हैसियतमा पुगेको छ । दलित राजनीतिक संस्थाहरू अहिले मुखरित र प्रभावशाली छन् । तथापि यसले समुदायको एउटा सानो अंशको वास्तविकतालाई मात्र दर्शाउँछ ।

दलितहरूको धेरै ठूलो जनसंख्या छ तर केही मुट्ठीभर हिस्साले मात्र संवैधानिक परिवर्तनहरूको फाइदा लिन सकेको छ । अझ धेरैजसो नागरिक बन्ने क्रममा नै छन् । एक क्रुर सामाजिक विगतको विरासत र गरिमाहीन श्रमको सम्झनाले उनीहरूको दैनिक जीवनलाई अझै हानी गरिरहेकै छ । दलितहरूको ठूलो जनसंख्या हिस्साले अझै पनि अति कम लाभदायक जीवन निर्वाह गर्नु पर्दछ । जातप्रथा आधारित क्रुरता र हिंसालाई गाउँ र शहर दुबैतिर सामना गर्नु परेको छ । राज्यले अक्सर उनीहरूको स्थितिप्रति अपराधपूर्ण वेवास्ता देखाउने गरेको छ ।

परम्परागत समाजव्यवस्थाको शक्तिव्यस्थाभित्र दलित नागरिकलाई अझै पनि समान अधिकारयुक्त आधुनिक नागरिक स्वीकार गरिएको छैन । सामाजिक सभ्रान्त तथा बर्चश्वशाली जातका जातीय वर्गको स्वरुप परिवर्तन गर्न दलितहरूले पाइरहेका केही आर्थिक गतिशिलता र शैक्षिक हैसियतका कारणले आनाकानी गर्दछन् । उनीहरूले भन्ने गरेको मानव अधिकार, सामाजिक मर्यादा र राजनीति सुनिश्चिता विभेदपूर्ण अभ्यास र कतिपय अवस्थामा क्रुर दमन सहितको हुने गर्दछ ।

विशेषतः विवाहको संभावना, संस्कार र धार्मिक प्रचलन, रोजगारीका लागि उम्मेद्वारहरूको छनौटजस्ता अवसरमा दलितको प्रश्नलाई मन पराइँदैन, घृणा गरिन्छ । जातप्रथा आधारित अत्याचारको सामान्य समीक्षा गर्दा कथित ठूला जातकाले दलितमाथि ३ वटा सवालमा अझै हिंसा गरिरहेका छन् ।

पहिलो– दलित पुरुषलाई कुलिन वर्गको सामाजिक सम्मानमा खतराको रुपमा हेरिन्छ । दलित पुरुषहरू उच्च जातका केटीहरूको प्रेममा फस्ने सम्भावनालाई सामन्ती शक्ति र सामाजिक हैसियतवालाले ठूलो चुनौतिको रुपमा हेर्दछन् ।

दोस्रो– दलित समुदायका केही मागदावीहरू, जस्तै आधारभूत आर्थिक अधिकार, भूमिअधिकार, समान ज्यालाको अधिकारलाई परम्परागत सामान्ती ग्रामीण व्यवस्थाले चुनौति मान्दछ । सन् १९९० पछि माओवादीहरूले बिहारमा कृषि सवालमा दलितहरूको ठूलो परिचालान गरेर तिनीहरूलाई सामन्ती भूपतिविरुद्ध लड्न सिकाएका छन् । तथापि, त्यस्ता जनपरिचालनहरू अन्ततः रक्तपातपूर्ण जातीय द्वन्द्व र हिंस्रक आमहत्याका टुंगिने गरेको छ ।

तेस्रो– दलितले संवैधानिक सुरक्षाकवचलाई प्रयोग गर्दै आफ्नो आर्थिक जीवनलाई सुधार गर्न सार्वजनिक संस्थामा प्रवेश गर्दैछन् । तर, आधुनिक संस्था र शहरहरूमा पनि उनीहरूले जातीय विभेद र बहिष्करण सामना गर्नु परेको छ । उच्च शिक्षा हासिल गर्ने दुई प्रतिष्ठित संस्थाहरूमा रोहित बेमुला र पायल ताडवीको भयानक अन्त्यले न्यायिक प्रक्रियामा नआएका अपराधहरूको प्रमाण दिन्छ ।

दलितमाथि हुने अपराधमा दलित महिलामाथि हुने यौनहिंसा र बलात्कारका घटनाको संख्या धेरै छ । दलित महिलाहरूको बलात्कार र हत्या अघि अपमानजनक ढंगले नाङगै हिंडाइका विभत्स घटना समेत हुने गरेका छन् । यस्ता घटनामा मानव अधिकारकर्मी, सञ्चारजगत र स्थानीय प्रशासनको भूमिका सधै संदिग्ध हुन्छ ।

Archival image of Dr. B.R. Ambedkar. Credit: Flickr/Public Resource.org CC-BY-2.0

राष्ट्रले गणतान्त्रिक मूल्य र निर्वाचनमा आमसहभागिता सहितको लोकतान्त्रिक प्रक्रियालाई गौरवीकरण गर्दछ, तर सामाजिक, साँस्कृतिक परिदृष्य भने परम्परागत रुढीवादी अवतारमा प्रकट हुने गरेका छन् । दलित बस्तीहरू अझै ‘घेट्टोकारण’ भइरहेका छन् ।

बाबासाहेब अम्बेडकरले हिन्दु समाजका ऐतिहासिक गल्तीहरूलाई सच्चाउन एक प्रेरणादायी संघर्षको नेतृत्व गरेका थिए । उनले कुनै पनि सामाजिक धार्मिक व्यवस्थाको जिवन्ततालाई स्वतन्त्रता, समानता र भातृत्वको आधारभूत नैतिक सिद्धान्तमा आधारित भएर मूल्यांकन गर्न सुझाए । सामाजिक जीवनमा मान्छे–मान्छे बीच भातृसम्बन्ध हुनुपर्दछ, ऊच–नीचको सम्बन्ध पूर्णतः बन्द गरिनु पर्दछ, धार्मिक, साँस्कृतिक कार्यहरूमा विभेद हुनु हुँदैन भन्ने सिकाए ।

दलितका थुप्रै छिटफुट वा कठोर संघर्षले बाहुनवादी बर्चश्वका अपराधलाई समाजमा विस्थापित गर्न सक्रिय भूमिका गरेका छन् । दलित निकायहरूको सवलीकरण यहाँनेर स्मरणीय हुन्छ । मानव अधिकार र सामाजिक न्यायका यस्ता सबै संघर्षहरूमा दलितहरूले अर्थको खोजी गर्ने प्राथमिक स्रोतका रुपमा अम्बेडकरलाई हेर्छन् ।

उनको नाम, चित्र वा शालिक दलित दृढताको प्रतीक बनेको छ ।

सबै गैरकानुनी सामाजिक असमानता र धार्मिक जबरजस्तीबाट दलितहरू मुक्त नहुन्जेलसम्म अन्यत्रभन्दा अम्बेडकरको नाम सामाजिक न्यायको यो लडाइँ मै आवश्यक पर्नेछ ।

द वायरबाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय