scheduleआइतवार जेष्ठ २ गते, २०७८

बर्नी म्याडोफ: चर्चित ठग, समाजसेवी र कैदीको रोचक कहानी

एजेन्सी, २ बैशाख । हालसम्मकै सबैभन्दा ठूलो धोकाधडी एवं ठगी काण्डका सञ्चालकको निधन भएको छ । इतिहासमै सबैभन्दा ठूलो तथा चर्चित पोन्जी स्किमका सञ्चालक बर्नी म्याडोफको बुधबार निधन भएको हो ।

बुधबार बिहान नर्थ क्यारोलिनास्थित एक जेलमा म्याडोफको निधन भएको हो । ८२ वर्षीय मडोफले हजारौं लगानीकर्तालाई पोन्जी स्किममा फँसाएर झण्डै ६५ बिलियन अमेरिकी डलर ठगी गरेका थिए । ठगी गरेको आरोप पुष्टि भएपछि उनलाई १५० वर्षको काराबास सजाय दिइएको थियो ।

पोन्जी स्किम एक प्रकारको ठगी धन्दा हो जहाँ अस्तित्वमा नै नरहेको व्यवसायको सफलतामाथि मानिसले विश्वास गर्छन् किनभने नयाँ लगानीकर्ताको पैसाबाट प्राप्त नाफा पुराना लगानीकर्तालाई उपलब्ध गराइन्छ ।

कैयौं वर्षसम्म आफ्नै बलमा उदाएका धनाढ्यको रुपमा म्याडोफलाई हेरिन्थ्यो । उनले शेयर बजारमा आउने उताढचढावलाई सँधै चुनौती दिन्थे । नाक्डक शेयर बजारको अध्यक्ष भएपछि लगानीकर्ताहरु म्याडोफको पछाडि लागेका थिए ।

म्याडोफले सञ्चालन गरेको लगानी परामर्श व्यवसाय वाल स्ट्रिटको इतिहासमै सबैभन्दा ठूलो शेयर ठगी काण्ड बनेको थियो । सन् २००८ को आर्थिक मन्दीका बेला उक्त काण्डको पर्दाफास भएको थियो ।

विश्वका झण्डै १३६ मुलुकका ३७ हजारभन्दा बढी लगानीकर्ता म्याडोफले सञ्जालन गरेको पोन्जी स्किमको शिकार बनेका थिए । यसरी शिकार बन्नेमा सर्वसाधारणदेखि केभिन बेकन, काइरा सेजविक जस्ता सेलिब्रिटी समेत थिए ।

म्याडोफले सञ्जालन गरेको पोन्जी स्किमबाट उनको परिवारका सदस्य र उनी निकट मानिस समेत शिकार बनेका थिए । उनीबाट ठगिएका कतिपय लगानीकर्ताले आत्महत्या गरेका थिए भने कतिपयले मानसिक सन्तुलन गुमाएका थिए ।

ठूलो मात्रामा ठगी गरेको पुष्टि भएपछि म्याडोफलाई सन् २००८ को डिसेम्बर ११ मा पक्राउ गरिएको थियो । उनले २००९ मार्चमा आफूले शेयर बजारमा धोकाधडी एवं ठगी गरेको स्वीकारेका थिए । उनले आफू यसबाट लज्जित भएको भन्दै सबैसँग माफी समेत मागेका थिए ।

त्यसपछि उनलाई अधिकतम काराबास सजाय अर्थात १५० वर्षको काराबास सजाय दिइएको थियो । अदालतले १७१ बिलियन डलरको फर्फिचर अर्डर (धोकाधडीबापत् तिर्नु पर्ने जरिवाना) जारी गरेपछि म्याडोफले आफ्नो स्वामित्वमा रहेको रियल स्टेटसहित सबै सम्पत्ति गुमाएका थिए । यसबाहेक, उनकी श्रीमतिले दाबी गरेको ८९ मिलियन डलर समेत जफत भएको थियो ।

अदालतको आदेशसँगै म्याडोफको व्यवसायमा लगानी भएको झण्डै १७.५ बिलियन डलरमध्यै १३ बिलियनभन्दा बढी क्षतिपूर्ति स्वरुप लगानीकर्तालाई नै फिर्ता दिइएको थियो । उनको व्यवसायमा ३६ बिलियन लगानी भएको थियो तर यसमध्ये १८ बिलियन गायब भएको मानिन्छ ।

म्याडोफले सन् १९६० मा सामान्य खाले शेयरको ब्रोकरिङबाट व्यवसाय सुरु गरेका थिए । पछि उक्त व्यवसाय बर्नार्ड एल. म्याडोफ लगानी सुरक्षण कम्पनीमा परिणत भएको थियो । सो कम्पनी कुनै बेला वाल स्ट्रिटमा ठूलो शेयर कारोबारकर्ता बन्न पुगेको थियो ।

ठगी व्यवसायको पर्दाफास हुनुपूर्व म्याडोफलाई चर्चित समाजसेवी र परोपकारी व्यक्तिको रुपमा चिनिन्थ्यो । उनको सम्पत्ति रोक्का भएपछि उनले सञ्चालन गर्दै आएका व्यवसाय मात्रै प्रभावित बनेनन् । विभिन्न च्यारिटी कार्यक्रम र संस्था समेत प्रभावित भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय