scheduleबिहिवार बैशाख २३ गते, २०७८

वैकल्पिक राजनीतिक शक्तिको बहस- नयाँ रक्सी कि नयाँ बोतल ?

महेन्द्र आचार्य

नेपालीमा एउटा उखान छ- नयाँ बोतलमा पुरानै रक्सी । रक्सी पारखीले रक्सीको स्वाद र गुण्स्तर थाहा नपाउने कुरा भएन । बजारमा नयाँ बोतलमा नयाँ लेबलिङ गरेर ठूलो तामझामका साथ प्रचारप्रसार र विज्ञापन गरेर केही समय पुरानै रक्सी बेच्न त सकिन्छ तर जब असलियत थाहा हुन्छ मानिसहरू आफू ठगीएकोमा पछुतो मान्दै रक्सी उत्पादकलाई धिक्कार्न थाल्छन् ।

रक्सीको विज्ञापन र बोतलको नयाँ डिजाइनको प्रभावले रक्सीको बिक्री केही समय उत्साहजनक देखिए पनि नयाँ स्वादको अभावमा ग्राहक टिकाईराख्न ग्राहो हुन्छ । अहिलेको राजनीतिक परिवेशलाई विचार गर्दा यो प्रसङ्ग सान्दर्भिक हुन्छ । नागरिक राजनीतिरुपि पुरानो रक्सीबाट वाक्क भएका छन् र नयाँ स्वाद फेर्न खोजिरहेका छन् । अब पुरानो स्वादले ग्राहक आकर्षित गर्न नसक्ने लगभग निश्चित छ । बजारको यो शुन्यता वा तरलता बजारमा नयाँ प्रवेश गर्न खोज्नेहरूको लागि सुनौलो समय हो तर जनताको नयाँपनको चाहनालाई सहि सम्बोधन गर्न नसकेमा यो आफ्नै लागि प्रतिउत्पादक बन्ने निश्चित छ । बजारमा नयाँ ब्राण्ड स्थापित गर्न चाहनेहरूले बुझ्नुपर्ने कुरा यो हो कि बजारले माग गरेको स्वास्थ्यकर, मिसावटरहित र नयाँ फ्लेवर हो, बोतलको नयाँपन र नामको नविनता मात्रै हैन ।

राजनीतिले समेट्नुपर्ने वर्ग जब राजनीतिबाट विमुख हुँदै जान्छ तब राजनीतिलाई आफ्नो स्वार्थ सिद्धिको माध्यम बनाउने तत्वहरूले प्रसय पाउँछन् । नेपालमा अधिकांश युवाहरू वैदेशिक रोजगारीको शिलशिलामा विदेशी भूमिमा छन् । नेपालमा रहेका अधिकांश युवा पनि या त गलत राजनीतिको चङ्गुलमा फसेका छन् या त राजनीतिलाई फोहोरी खेल भनेर यसबाट विमुख छन् । राजनीतिलाई फोहोरी खेल ठान्ने अहिलेको पुस्तालाई राजनीतिमा आकर्षित गरी राजनीतिको मुलधारमा ल्याउनु अहिलेको राजनीतिको चुनौती हो ।

खराब राजनीतिको दुश्चक्रले युवामा वितृष्णा पैदा गरेको छ ।

राजनीति किन र केको लागि ? यो अहिलेको अहम् प्रश्न हो । राजनीतिक दलले जनतालाई निकै ठूला ठूला सपना बाँढे तर ती सपना कहिल्यै पूरा गर्नतर्फ लागेनन् फलस्वरूप राजनीति झुठको खेती हो र सपनाहरूको व्यापार हो भन्ने कुरा स्थापित हुँदै गयो । राजनीतिमा मूल्य, मान्यता, आदर्श र सिद्धान्त गौण हुँदै गयो र त्यो ठाउँ झुठ, बेइमानी, चाकरी र दलालीले लिन ठाल्यो । नैतिकता र सिद्धान्तको राजनीतिबाट पतन भएपछि भावनाको राजनीति सुरु भयो । फलस्वरूप जनताको भावनामाथि नै राजनीति गर्न थालियो । समाजमा व्याप्त गरिबी, विभेद, शोषण, उत्पीडन, छुवाछूत र पछौटेपनलाई राजनीतिक नारा बनाईयो र सोझासाझा जनतालाई सत्तामा पुग्ने भर्‍याङ् बनाईयो तर यी समस्याको दीर्घकालीन समाधान कहिल्यै खोजिएन किनकी राजनीति दल र तिनका नेतालाई थाहा थियो कि राजनीतिमा यस्ता नाराहरू सजिलै बेच्न सकिन्छ । उनीहरू राजनीति नाराको व्यापार गर्न चाहन्थे सामाजिक आर्थिक र राजनीति रुपान्तरण हैन । राजनीतिको यो पुरानो रक्सी धेरै समयदेखि बिकिरहेको छ किनकी मानिससँग विकल्प थिएन र भएपनि निकै साँघुरो मात्र । अब यो रक्सी विस्थापित गर्ने बेला आएको छ ।

विकल्प के?

राजनीतिमा सबै मानिसलाई सधै झुक्काईराख्नु सम्भव हुँदैन ।

समाजका केही सचेत र जागरुक मानिसहरू परिवर्तनको लागि सधैं कृयाशील हुन्छन् । यस्तै सचेत मानिसहरूको निरन्तर प्रयासबाट समाजमा परिवर्तनको झिल्को सुरक्षित रहिरहेको हुन्छ र उचित वातावरण पाएको खण्डमा क्रान्तिको आगो बनेर दन्किन सक्छ । मानिसको जीवनचक्र, आर्थिक जीवनचक्र जस्तै राजनीतिको पनि एउटा चक्र हुन्छ । आर्थिक जीवनचक्रमा जन्म, वृद्धि, वयस्क, ह्रास र अन्त्य भएजस्तै राजनीति दलको पनि विभिन्न चरण हुन्छन् । यी पुराना दल र एजेन्डा राजनीतिको वयस्क अवस्था पार गरेर ह्रासको चरणमा छ्न् । यिनको अन्त्य निश्चितप्राय छ । यो राजनीतिक दुश्चक्रको अन्त्य कति छिटो या कति ढिलो हुनसक्छ त्यो कुरा यिनीहरूलाई टक्कर दिनसक्ने वैकल्पिक शक्ति कति छिटो निर्माण हुनसक्छ, त्यसमा निर्भर हुन्छ । आशा गरौँ- साथसाथ खबरदारी पनि गरौं र वैकल्पिक राजनीति शक्ति निर्माणको लागि हातेमेलो गरौं ।

वैकल्पिक राजनीतिक शक्ति- नयाँ बोतल कि नयाँ रक्सी ?

अहिले वैकल्पिक राजनीतिको बहस र चर्चाको बिषय बनेको छ । आखिर के हो त वैकल्पिक राजनीति ? कुन हो त नेपालको वैकल्पिक राजनीतिक शक्ति ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो । वास्तवमा वैकल्पिक राजनीति भनेको के हो ? यसले समेट्ने बिषय के के हुन् ? यो एउटा छुट्टै बहसको बिषय हो । यहाँ मैले उठाउन खोजेको विषय के हो भने के नेपालमा वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने दलहरू साँच्चिकै वैकल्पिक हुन् त ? या आफुलाई वैकल्पिक मात्रै भनेका हुन् ? बजारमा नयाँ ब्रान्डको रक्सी भित्रँदै गर्दा बोतल र नाम मात्रै नयाँ हो कि स्वाद पनि नयाँ हो यो महत्वपूर्ण कुरा हो ।

महेन्द्र आचार्य

हामीले वैकल्पिक राजनीतिबाट चाहेको कुरा के हो भने समाजको वास्तविक रुपान्तरण । बोली एउटा र व्यवहार एउटा हुने राजनीतिबाट अब पार लाग्नेवाला छैन । वैकल्पिक राजनीतिले मूल्य र आदर्शको राजनीतिलाई स्थापित गर्न सक्नुपर्छ । राजनीतिलाई पेशा हैन सेवाको रुपमा, छलकपट हैन इमानदारिताको रुपमा, अवसरवाद हैन निष्ठाको रुपमा स्थापित गर्नुपर्दछ । त्यसका लागि वैकल्पिक दावी गर्ने दलले आफुलाई साँच्चिकै वैकल्पिक प्रमाणित गर्नुपर्छ । व्यक्तिवादी अहंकार त्यागेर सामूहिक नेतृत्व स्थापित गर्नुपर्दछ । राजनीतिलाई पेशा हैन सेवाको रुपमा स्थापित गर्न राजनीति बाहेक देखाउन मिल्ने पेशा व्यवसाय हुनुपर्छ र बढीमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्न पाउने व्यवस्था हुनुपर्छ ।

अरुलाई गलत देखाएर आफुलाई राम्रो प्रमाणित गर्ने पुरानो राजनीतिबाट माथि उठेर आफू राम्रो भएर नै राम्रो देखिनुपर्छ भन्ने सोच स्थापित गर्नु वैकल्पिक राजनीतिक शक्तिको लागि चुनौती हो । वैकल्पिक दावी गर्ने शक्तिले फरक राजनीतिक विचारको उच्च सम्मान गर्न सक्नुपर्छ । प्रतिपक्षी मतलाई सम्मान र सुरक्षा दिनुपर्छ । गालीगलौजको राजनीति त्यागेर सम्मानको राजनीति सुरु गर्नुपर्छ । बलिदानको नारा लगाउन छाडेर योगदानको राजनीति गर्नुपर्छ । अझैपनि पुराना एजेन्डा बोकेर वैकल्पिक राजनीति सम्भव हुँदैन । वैकल्पिक राजनीतिले नयाँ पुस्ताका एजेन्डालाई राजनीतिको मुलधारमा समेट्न सक्नुपर्छ । समाजमा उत्पन्न प्रतिक्रियाको आधारमा राजनीति गरेर वैकल्पिक हुन सकिँदैन । भविष्यमा समाजमा उत्पन्न हुनसक्ने प्रतिक्रियाको पूर्वानुमान गरेर पहिले नै समाधानको बाटो खोज्नु वैकल्पिक राजनीति हो ।

आफु पछाडिको पुस्ताको मुद्दा उठाउन नसक्ने दल वैकल्पिक हुन सक्दैन । तसर्थ आफुलाई वैकल्पिक दावी गर्दैमा वैकल्पिक बन्न सकिँदैन । व्यवहार र आचरणले पुष्टि गर्न सक्नुपर्छ । अब विवेकशील साझा पार्टीले आफुलाई साँच्चिकै वैकल्पिक राजनीति शक्तिको रुपमा प्रमाणित गर्नुपर्ने बेला आएको छ । लाखौं मानिसहरू अहिलेको पुरानो राजनीतिबाट उन्मुक्ति खोजिरहेका छन् र त्यसको लागि एउटा भरपर्दो विकल्प खोजिरहेका छन् । त्यो भरपर्दो विकल्प अब यो पार्टी बन्नुपर्छ । समयले हामीलाई एउटा सुनौलो अवसर दिएको छ । साथसाथै परीक्षा पनि लिइरहेको छ । यो परीक्षामा हामी खरोरुपमा उत्रिन सक्नुपर्दछ । हामी हाम्रो नामजस्तै विवेकशील र सबैको साझा बन्न सक्नुपर्दछ । हामीले हाम्रा ग्राहकरुपी जनतालाई नयाँ बोतलमा नयाँ स्वादको रक्सी पस्किन सक्नुपर्दछ । त्यो नै आम जनताप्रति न्याय हुन सक्छ ।

(आचार्य विवेकशील साझा युवा संगठनका गण्डकी प्रदेश सहसंयोजक हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय