scheduleआइतवार जेष्ठ २ गते, २०७८

सरकारलाई कांग्रेसको सुझाव – तत्काल लकडाउन गर्न हतार नगर्नु

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसले तत्काल लकडाउन गर्न हतार नगर्न सरकारलाई सुझाव दिएको छ । संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने नेपाली कांग्रेसको सुझाव रहेको छ ।

शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि दलहरुको राय मागेको र आफूहरुले तत्काल लकडाउन नगर्न सुझाव दिएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

उनले कोभिड–१९ को संक्रमण रोकथामका लागि गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गर्दै सरकारले आइसोलेशन सेन्टरहरु आवश्यक मात्रामा बनाउनुपर्ने बताए ।

यस्तै उनले रोकथामका विधिहरुमा पूरा ध्यान दिनुपर्ने भन्दै उनले तर लकडाउन ठिक विकल्प नभएको बताए । पौडेलले कांग्रेसका पालामा भएको एमसिसी सम्झौता अनुमोदन गर्न भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएको उनले बताए ।

आफ्नो कुर्सी बचे मात्रै व्यवस्था बच्छ भन्नेतर्फ सरकारमा रहेकाहरु लागेको भन्दै उनले व्यवस्थामाथि किन खेलवाड भइरहेको हो भन्नेबारे बहस गर्नुपर्ने बेला आएको बताए ।

एमसीसी संसदमा अड्किएको अवस्थामा सभामुखले आफ्नो अधिकार भन्दा बाहिर गएर रोकेकोले त्यस विषयमा पनि छलफल भएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसबारे छलफल गर्ने कुरा भएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय