scheduleआइतवार जेष्ठ २ गते, २०७८

जग्गा विवादपछि एकै परिवारका ८ जनाको हत्या

एजेन्सी, ५ बैशाख । अफगानिस्तानमा बन्दुकधारीले एकै परिवारका ८ जनाको हत्या गरेका छन् । शनिबार पूर्वी अफगानिस्तानको नाङ्गाहार प्रान्तस्थित एक मस्जिदमा बन्दुकधारीले गोली चलाउँदा उक्त हताहती भएको हो ।

नाङ्गाहारका गभर्नर जियाउलहक अमरखिलका अनुसार शनिबार राति जलालावाद शहरमा बन्दुक आक्रमण भएको हो । जग्गा विवादका कारण अपरिचित बन्दुकधारीले गोली हानेर एकै परिवारका ८ जनाको हत्या गरेको उनको भनाइ छ ।

‘रमादानका बेला अतिरिक्त प्रार्थना गरिरहेका बेला बन्दुक आक्रमण भएको थियो’, अमरखिलले भने, ‘यो लक्षित आक्रमण हो र प्रारम्भिक विवरण अनुसार जग्गा विवाद उक्त आक्रमणको कारण देखिन्छ ।’

बन्दुक आक्रमणमा परी एकै परिवारका ५ दाजुभाइ र उनीहरुका भतिजाहरु मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अफगानिस्तानमा जग्गा विवादलाई लिएर हुने झगडा एवं आक्रमण सामान्य हो । यस्तो विवाद पुस्तौंसम्म जारी रहने र विवादकै कारण मानिसले ज्यान गुमाउने गर्छन् ।

गत अप्रिलमा समेत नाङ्गाहार प्रान्तमा जग्गा विवादका कारण ६ जनाको हत्या गरिएको र झण्डै २० जना घाइते भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय