scheduleबिहिवार बैशाख २३ गते, २०७८

आईसियू बेड र अक्सिजनको अभाव देखिएपछि दिल्लीका अस्पतालमा बेहाल

एजेन्सी, ६ बैशाख । पछिल्लो समय भारत कोरोना भाइरसको गम्भीर चपेटमा परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजार ६१९ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण तीव्र गतिले फैलिएपछि राजधानी दिल्लीसहित कैयौं राज्यका निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।राजधानी दिल्लीमा मात्रै बितेको २४ घण्टामा २३ हजार ५०० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै १६१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म दिल्लीमा मात्रै ८ लाख ५३ हजार ४६० जनामा कोरोना संक्रमण देखिएको छ भने १२ हजार १२१ जनाको मृत्यु भएको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या ७४ हजार ९४१ पुगेको छ ।

कोरोना संकटसँग जुधिरहेको दिल्लीका कतिपय अस्पतालमा एउटा पनि आईसियू बेड खाली नरहेको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यहाँका अस्पतालमा आईसियू बेडसँगै अक्सिजनको समेत अभाव भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

दिल्लीस्थित भारतकै ठूलो अस्पताल एम्समा भेन्टिलेटरसहितका आईसियू बेड केबल ४ वटा मात्रै बाँकी रहेको समाचारमा उल्लेख छ । आईसियू बेड र अक्सिजनको अभाव देखिएपछि अस्पताल बाहिरै बिरामीहरु तड्पिरहेका छन् ।

स्वास्थ्य संस्थामा बिरामीको चापसँगै आईसियू बेड र अक्सिजनको अभाव देखिन थालेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारलाई सहयोगका लागि अनुरोध गरिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय