scheduleबिहिवार बैशाख २३ गते, २०७८

युरोप छिरेका १८ हजार आप्रवासी बालबालिकाको अवस्था अज्ञात

एजेन्सी, ७ बैशाख । युरोपेली मुलुकहरु बाल अधिकार र संरक्षणप्रति निकै संवेदनशील मानिन्छन् । तर हालै सार्वजनिक भएको एक तथ्याङ्कले युरोपमा आप्रवासी बालबालिकाको अवस्था निकै गम्भीर भएको संकेत गर्छ ।

‘लस्ट इन युरोप’ नामक अन्तर्राष्ट्रिय सञ्जालले ३० मुलुकमा संकलन गरेको उक्त तथ्याङ्क अनुसार सन् २०१८ देखि २०२० को अवधिमा संरक्षक वा अभिभावकबिनै युरोप छिरेका १८ हजारभन्दा बढी बालबालिका/नाबालक हराएका छन् ।

तीन वर्षको अवधिमा कम्तिमा पनि १८ हजार २९२ जना आप्रवासी बालबालिकाको अवस्था अज्ञात रहेको छ । बेपत्ता भएका वा अवस्था अज्ञात रहेका बालबालिकाको संख्या इटली, बेल्जियम र ग्रिसमा धेरै छ । उक्त अवधिमा इटलीमा ५ हजार ७७५, बेल्जियममा २ हजार ६४२ र ग्रिसमा २ हजार ११८ आप्रवासी बालबालिका हराएका छन् ।

यसरी हराउने बालबालिकामा अभिभावकबिनै युरोप प्रवेश गरेका शरणार्थी एवं सहारा खोज्दै हिडेका बालबालिका रहेका छन् । प्रतिवेदन अनुसार ती बालबालिकाहरु युरोपेली सहायता केन्द्र (European reception center) बाट बेपत्ता भएका हुन् ।

‘लस्ट इन युरोप’ मा आबद्ध पत्रकारहरुले तयार पारेको उक्त प्रतिवेदनलाई बेल्जियमको न्याकडि स्टान्डर्ड नामक पत्रिकामा प्रकाशित गरिएको थियो । युरोप छिरेका बालबालिकाहरु कसरी बेपत्ता भए भनेर सरकारी अधिकारीहरुलाई नै थाहा नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हराएका बालबालिकाको संख्या प्रतिवेदनमा उल्लिखित संख्याभन्दा धेरै हुन सक्ने पनि बताइएको छ । किनभने फ्रान्स र रोमानिया जस्ता केही मुलुकमा आप्रवासी बालबालिकालाई निरन्तर निगरानी गरिँदैन ।

यसबाहेक, सबै युरोपेली मुलुकले आप्रवासी आएको मुलुक उल्लेख गर्दैनन् । विद्यमान तथ्याङ्क अनुसार युरोप प्रवेश गर्ने आप्रवासी र शरणार्थीमध्ये अधिकांश मोरक्को, अल्जेरिया, अफगानिस्तान, इरिट्रिया र गिनीका छन् ।

गत वर्ष युरोपेली युनियनका २७ मुलुकमध्ये केबल १० मुलुकले मात्रै आप्रवासीको अभिलेख राखेका थिए । त्यस्तै तथ्याङ्क संकलन गर्ने विधिमा एकरुपता नभएकाले विभिन्न मुलुकको विवरण बाझिने अवस्था छ भने कतिपय मुलुकमा नाबालकलाई पनि वयस्कको रुपमा गणना गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय