scheduleबुधवार बैशाख २९ गते, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

काठमाडौं, ७ वैशाख । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक ८५० रुपैयाँ आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ ।

निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन् । बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन । बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन ।

नेपाल सरकारले बेरोजगार युवाका लागि कम्तीमा १०० दिन काम दिने नीतिका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । गाउँपालिका तथा नगरपालिकामार्फत सञ्चालन हुने यो कार्यक्रम कतै प्रभावकारी बनेको छ भने कतै बेरोजगारको चित्त दुखाउने बाटो बनेको छ ।

गाउँमा चलेको पारिश्रमिकको दर नपाएको भन्दै काठेखोला गाउँपालिका–५ बिहुँका युवाले रोजगार कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका छन् । गत वर्ष सोही कार्यक्रमले दिएको दैनिक ज्याला दरसमेत यस वर्ष घटाएको भन्दै उनीहरु रोजगार कार्यक्रममा सहभागी नभएका हुन् ।

दिनभर काम गर्दा पाउने ५१७ रुपैयाँले परिवारको एकदिनकै खर्च चलाउन कठिन हुने बिहुँका एक युवाले बताउनुभयो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनेको दैनिक पारिश्रमिक यो वर्ष ५१७ रुपैयाँ मात्रै तोकेको छ ।

काम गरेपछि भुक्तानीको प्रक्रियासमेत झण्झटिलो र खर्चिलो भएको भन्दै युवाले काम गर्न नमानेको स्थानीय अगुवा किसान ज्ञानु श्रीषले बताए ।

मौसममा पाइने खेतीपातीको काम बेमौसममा पाइँदैन । अन्य रोजगारीको स्रोत नभएका १३७ महिला र पुरुष वडामा छन् । बेरोजगारको सूचीमा सूचीकृत भएका युवाले ज्याला कम र प्रक्रिया झण्झटिलो भएको भन्दै काम गर्न नमानेपछि वडाले पाउने बजेट नै फिर्ता जाने अवस्था आएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए ।

गाउँमा चलेको दरको आधा हुनेगरी सरकारले पारिश्रमिक तोकेकाले उनीहरु कामका लागि तयार नरहेको उहाँले बताउनुभयो । एक सय दिन काम पाउनेले ६० दिनको खर्च चल्नेगरी पारिश्रमिक नपाउने भएकाले काम गर्न नसकेको गुनासो उनीहरुले गर्ने गरेका छन् ।

वडाले पहिलो चरणमा काम गर्नका लागि ३० जनाको नाम प्राथमिकताका आधारमा गाउँपालिकालाई सिफारिस गरेको थियो । पहिलो १०० दिनका लागि काम गर्ने युवासमेत तयार नभएपछि प्रक्रियामा जान नसकेको कँडेलले बताए ।

सूचीकृत हुनका लागि उत्साहित भएर वडा कार्यालय पुगेका युवा काम पाउने बेला वडाको नजिकै नपरेको वडा कार्यालयको अनुभव छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय