scheduleबिहिवार बैशाख २३ गते, २०७८

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेदरल्यान्ड्ससँग नेपालको पहिलो हार

काठमाडाैं, ७ वैशाख । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिडले अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो । टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुबैले ७८ रनको साझेदारी गरे ।

यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय