scheduleबुधवार बैशाख २९ गते, २०७८

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

कर्णाली, ७ वैशाख । पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।

आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरु हुने बताए ।

विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । “निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदैछ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ”, उनले भने ।

सडकको नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ । हाल उक्त सडकको चौडाइ करिब चार मिटर छ । स्तरोन्नति गर्दा करिब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ ।

सुर्खेतमा मदन भण्डारी राजमार्ग १२९ किमी पर्छ । तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्छ । पश्चिममा बड्डीचौर–बेनीघाट सडकखण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ ।

यो पनि ट्रयाक खोलिएको पुरानो सडकखण्डमा पर्दछ । पूर्वी क्षेत्रको बोलपत्र प्रक्रिया शुरु भइसक्दा पश्चिम खण्डमा भने अन्योलता कायमै छ । केही समय स्थानीयवासीको अवरोधका कारण डिपिआर तथा इआइएको काम प्रभावित हुन पुगेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय