scheduleबिहिवार बैशाख २३ गते, २०७८

सत्ता सहकार्यबारे ओली र महन्थ ठाकुरबीच आज पनि कुराकानी, उपेन्द्र र बाबुराम असन्तुष्ट

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच मंगलवार पनि कुराकानी भएको छ । उनीहरुबीच सत्ता साझेदारी कसरी गर्ने भन्नेबारे छलफल भएको एमालेका नेता सुवास नेम्वाङले बताएका छन् ।

ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा जसपाभित्र तीव्र मतभेद भए पनि ठाकुर र अर्का नेता राजेन्द्र महतो ओली सरकारलाई आफ्ना माग पूरा गराउने शर्तमा समर्थन गर्ने पक्षमा छन् ।

मंगलबार दिउँसो ओलीलाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए भने कार्यदलले पनि जसपाका माग पूरा गर्ने सम्बन्धमा थप छलफल गरेको सरकारी कार्यदलका सदस्यसमेत रहेका एमाले नेता नेम्वाङले बताएका छन् ।

तत्काल सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने शर्तसहित जसपाले पाँचवटा माग सरकारी पक्षसँग राखेको छ ।

जसपाले आन्तरिक गृहकार्यपछि आफ्ना कार्यकर्ता विरुद्ध लागेका २४ प्रकृतिका २०८ मुद्दा फिर्ता हुुनुपर्ने, संविधान संशोधनका लागि आयोग बनाउने, लाल आयोगको प्रतिवेदनलाई संक्षिप्त रुपमा सार्वजनिक गर्ने, थुनामा रहेका बन्दी रिहाइ गर्ने र जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने शर्त अघि सारेको छ।

जसपाका यी पाँचवटै माग पूरा गर्न ओली तयार भइसकको छन्। ठाकुर–महतो पक्षले ओलीसँगको सहकार्यका लागि कुरा फाइनल गरिरहँदा जसपा पनि फुटको संघारमा उभिएको एक नेताले बताएका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई कुनै पनि हालतमा सत्ताबाट बिदाइ गर्नुपर्ने पक्षमा देखिएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय